कोभिडविरुद्धको लडाइँमा सफल हुन्छौँ: चिनियाँ विदेश मन्त्रालय

चीनले कोरोनाविरुद्धको लडाइँमा सफल भइछाड्ने बताएको छ। शून्य कोभिड नीतिविरुद्ध बढिरहेको आम असन्तुष्टि बीच सरकारले यस्तो दाबी गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनको शून्य कोभिड नीतिको बचाउ गरेका छन्। त्यस्तै, उनले जारी प्रदर्शन रोक्न चिनियाँ अधिकारीहरूले विशेष कदम चालिरहेको संकेतसमेत उनले गरेका छन्। 

कोभिडको समस्यालाई निर्णायक ढंगले समाधान गरिरहेको भन्दै प्रवक्ता झाओले यसमा जनतासँगको सहकार्य महत्त्वपूर्ण हुनेमा जोड दिए। 

त्यस्तै, सरकारको शून्य कोभिड नीतिविरुद्ध जारी प्रदर्शन रोक्नेतर्फ केन्द्रित हुँदै उनले भने, “कम्युनिस्ट पार्टीको नेतृत्व र सबै चिनियाँ जनताको सहयोगले कोभिड-१९ विरुद्धको हाम्रो लडाइँ सफल हुने विश्वास हामीलाई छ।”

लकडाउन विरोधी प्रदर्शन तनावपूर्ण, कैयौँ पक्राउ
चीनमा लकडाउन विरोधी प्रदर्शन दिनहुँ चर्किँदै गएको छ। लगातार तीन दिनदेखि जारी सरकार विरोधी प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू जम्मा हुने क्षेत्रको सडक छेउछाउमा प्रहरीले बिहानैदेखि अवरोध खडा गरेको थियो भने बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। आन्दोलनका क्रममा प्रहरीले बीबीसीका पत्रकार एड लरेन्ससहित कैयौँलाई सांघाईबाट नियन्त्रणमा लिएको थियो। लरेन्स पछि रिहा भएका थिए।

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अपनाएको शून्य कोभिड नीतिको चर्को विरोध भइरहेको हो। सामूहिक पीसीआर परीक्षण, अनिवार्य क्वारेन्टिन र आकस्मिक लकडाउन गर्दै सरकारले लामो समयदेखि दुःख दिएको र स्वतन्त्रता हनन गरेको भन्दै नागरिकहरू सडकमा उत्रिएका हुन्।

कोभिड संक्रमण कम गर्ने नाममा सरकारले अनावश्यक लकडाउन र कडा स्वास्थ्य मापदण्ड लागू गरेको भन्दै नागरिकले शून्य कोभिड नीतिको विरोध गरेका हुन्। कडा स्वास्थ्य मापदण्डको विरोधमा उत्रिएका चिनियाँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी चिनफिङलाई शून्य कोभिड नीति कहिलेसम्म भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरूले शून्य कोभिड नीति तत्काल अन्त्य गर्नुपर्ने माग अघि सारेका छन्। प्रदर्शनकारीले शून्य कोभिड नीतिको मात्रै विरोध गरेका छैनन्, उनीहरूले चिनियाँ राष्ट्रपति सीको राजीनामा समेत मागेका छन्। 

त्यस्तै, महामारी नियन्त्रणका लागि गरिने अनिवार्य पीसीआर परीक्षण तत्काल बन्द गर्नुपर्ने, काम र भ्रमणमा लगाइएको डिजिटल स्वास्थ्य कोड हटाउनुपर्ने, विद्यालय, रेष्टुरेन्ट, पसल तथा अन्य व्यापार बन्द गर्ने कार्य तत्काल रोक्नुपर्ने, महामारीबारे भयावह स्थिति उत्पन्न गर्नेभन्दा पनि सही ढंगले सूचना सञ्चार गर्नुपर्ने, महामारी नियन्त्रणका लागि अवैज्ञानिक र बिना कारण गरिएका कडा स्वास्थ्य मापदण्डका लागि माफी माग्नुपर्ने, कोभिड रोकथामका नाममा भ्रष्टाचार र शक्तिको दुरुपयोग गर्ने सरकारी अधिकारीहरूको खोजी गरी कारबाही गर्नुपर्नेलगायतका माग प्रदर्शनकारीले अघि सारेका छन्। 

यसले तेस्रो कार्यकाल पनि नेतृत्वमा रहन लागेका सीमाथि दबाब बढाएको छ।

खाली पाना बन्यो प्रदर्शनको प्रतीक
प्रदर्शनकारीहरू खाली  सेतो पाना बोकेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरूको आन्दोलनको प्रतीक चिह्न नै खालीपाना बनेको छ। यसअघि सन् २०२० मा हङकङमा सुरक्षा कानूको विरोधमा भएको प्रदर्शनमा कालो खाली पानालाई प्रतीक बनाइएको थियो। धेरैले यसलाई स्वतन्त्रताको प्रतीक भनेका छन्। यस्तै, चीनमा बिरलै हुने प्रदर्शनमा यसपटक सेतो खाली पाना प्रतीक बनेको हो। 

सांघाईका एक प्रदर्शनकारीले बीबीसीलाई भनेका छन्, “यस पानामा केही लेखिएको छैन। केही नलेखिएको पाना बोकेकै भरमा मलाई पक्रिन चाहन्छौ भने म तयार छु। यसमा केही छैन तर पनि हामीलाई थाहा छ, यो खाली पानामा के लेखिएको छ।” अर्का प्रदर्शनकारी भन्छन्, “यस खाली पानाले ती सबै विषयहरूको प्रतिनिधित्व गर्छ जुन हामीले भन्न चाहन्छौँ तर सक्दैनौँ।” एक समर्थकले अनलाइनमा लेखेका छन्, “यदि खाली पानाबाट डराउँछौँ भने तिमी भित्रैदेखि कमजोर छौ।”

यसैबीच, बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लीले चीनको प्रदर्शनबारे बोल्दै त्यहाँको प्रदर्शनले चिनियाँ नागरिकहरू एकदमै दुखी छन् भन्ने देखाएको बताएका छन्। चीनमा बिरलै हुने यस्ता प्रदर्शनमा चिनियाँ सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुन जरुरी भएको उनले बताए। उनले भने, “यो प्रदर्शन चिनियाँ जनताले सरकारसँग कुरा गर्न चाहन्छन् भन्ने आवाज हो। जनताले के भन्न खोजेका छन्, चीन सरकारले सुन्नुपर्छ भन्ने मलाई लाग्छ।”