संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।
काठमाडौँ– संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।
स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार ६४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिइन्। उनका अनुसार बागमती, कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार ८२३ उपकरण बिग्रेका छन्।
गत कात्तिकदेखि चैतसम्ममा ती अस्पतालमा १९ हजार १७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा रहे पनि प्रयोगमा नआएको देखिएको सर्वेक्षणमा सहभागी बायोमेडिकल इन्जिनियर भास्कर रिजालले जानकारी दिए।
“कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किएर रहेका छन्,” उनले भने, “पहिला कोरोनाकालमा प्रयोग भएका ती उपकरण अहिले बिरामी नभएपछि त्यत्तिकै प्रयोगमा आएका छैनन्।” यस्तै, सर्वेक्षणमा ती अस्पतालमा रहेका तीन सिटी स्क्यान मेसिन बिग्रेर थन्किएका छन्।
बायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल र कोशी अस्पतालमा रहेका सिटी स्क्यान मेसिन बिग्रेका छन्। ती सिटी स्क्यानका अधिकांशको चार्जर बोर्ड, ब्याट्री, टेबल बिग्रेको उनले बताए। उनले कोशी अस्पतालको सिटी स्क्यान बनाउन धेरै नै खर्च लाग्ने भएकाले नबनाउन आग्रहसमेत गरिएको बताए।
“कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर सञ्चालन गर्न धेरै खर्च लाग्ने भएकाले नबनाउन सुझाव दिएका छौँ,” उनले भने, “वीर र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको सिटी स्क्यान चलाएर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ।”
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर सञ्चालन गर्नका लागि बायोमेडिकल इन्जिनियर नभएको बताए।
“हामीले पटक पटक बायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौँ”, उनले भने, “तर सरकारले अहिलेसम्म एक जना पनि बायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन, अहिले हामीले बायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौँ।”
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकाले मर्मतमा समस्या भएको बताइन्। उनले सात वटा प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिइन्।
विभागको व्यवस्थापन शाखाका निर्देशक डा. श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
