नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएपछि नयाँ नयाँ टोलीको खोजी शुरू भएको छ।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएको छ। कान्तिपुर मिडिया ग्रुपको स्वामित्त्वमा रहेको काठमाडौँले बुधबार नेपाल टी२० लिगको गभर्निङ काउन्सिल र क्यानलाई पत्र लेख्दै नाम फिर्ता लिएको हो।
क्यानका कार्यवाहक सचिव तथा नेपाल टी२० लिग गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लले प्रतियोगिता शुरू हुन दुई साता बाँकी रहँदा काठमाडौँले नाम फिर्ता लिएको पुष्टि गरे। "हामीले सबै तयारी गरिसकेका थियौँ, प्रोमोसन पनि गरिसकेका थियौँ। तर, कान्तिपुरले मात्रै सम्झौता नगरेर एनओसी प्रकृया रोकिएको थियो", मल्लले उकालोसँग भने, "अहिले कान्तिपुरले अदालतमा चलिरहेको मुद्दाको कारण देखाउँदै आधिकारिक रूपमै बाहिरिएको जानकारी दिएको छ।"
कान्तिपुर बाहिरिएपछि अर्को फ्रेन्चाइज ल्याउने तयारी गरिरहेको उनले बताए। नयाँ टोली भित्र्याउन समय लाग्ने भए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई मेल पठाउने तयारी पनि भएको उनको भनाइ छ। "हाम्रो प्रयास तोकिएकै मितिमा प्रतियोगिता गर्ने थियो। अब कान्तिपुरको सट्टा अर्को टोली ल्याउन केही समय लाग्ला। समय लाग्यो भने आईसीसीबाट एक हप्ता समय थप्छौँ। यस प्रकृयाले प्रतियोगिता एक दुई हप्ता सर्ला", उनले भने ।
क्यानले गत जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक र एक मात्रै फ्रेन्चाइज नेपाल टी२० लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गर्ने जानकारी दिएको थियो। तर, भदौ २९ गते क्यानले सूचना निकालेर चुनावका कारण प्रतियोगिता मंसिर २६ गतेदेखि पुस १६ गतेसम्म त्रिवि क्रिकेट मैदानमै हुने जनाएको थियो।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापानमा हुने प्रतियोगितामा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अलस्टार्स र फार वेस्टर्न युनाइटेड गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने तय थियो। विराटनगर, जनकपुर, लुम्बिनी र फार वेस्टन भारतीय मालिकको स्वामिक्तमा रहेका टोली हुन्। काठमाडौँ र पोखराको स्वामिक्त नेपालीकै थिए।
क्यानले पहिलो संस्करणको प्रतियोगिताको तालिका पनि निकालिसकेको छ। उक्त तालिका अनुसार उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौँ र मोहम्मद आसिफ सेख कप्तान रहेको पोखरा भिड्ने जनाइएको थियो। काठमाडौँमा नेपाली टोलीका पूर्वकप्तान मल्लसँगै कमलसिंह ऐरी, बसिर अहमद, लोकेश बम,अविनाश बोहोरालगायत नेपाली खेलाडी छन्। विदेशी खेलाडीमा श्रीलंकाका अलराउन्डरहरू थिसर परेरा, धनन्जय डी सिल्भा, कामिन्दु मेन्डिसलगायत छन्। मलेसियाका विरनदीप सिंह पनि काठमाडौँबाट खेल्ने जनाइएको थियो।
उनीहरूलाई क्यानले नै काठमाडौँका लागि सम्झौता गर्दिएको हो। गभर्निङ काउन्सिलका अध्यक्ष मल्लका अनुसार क्यानले अर्को टोली खोज्नेबित्तिकै उनीहरू सोही टोलीबाट खेल्ने छन्। "उनीहरू अर्को टोलीबाट खेल्छन्। पाँच खेलाडीको एनओसीको प्रकृया पूरा गरेर श्रमस्वीकृति लिने छौँ। त्यसपछि उनीहरू खेल्न पाउँछन्", उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
