विश्व वातावरण दिवसको अवसरमा उकालोकर्मी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरिएको हो।

विश्व वातावरण दिवसको अवसरमा उकालोकर्मी मुकेश पोखरेलसहित चार पत्रकार पुरस्कृत भएका छन्।

वातावरण विभागले वातावरणको क्षेत्रमा प्रकाशित समाचार तथा रिर्पोटिङको मूल्यांकनका आधारमा अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरेको हो। पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।

पुरस्कृत पत्रकारहरूलाई वन तथा वातावरण मन्त्री नवलकिशोर साहले बुधबार काठमाडौँमा आयोजित एक समारोहमा पुरस्कार प्रदान गरे। उकालोकर्मी पोखरेललाई अनलाइन विधा अन्तर्गत पुरस्कृत गरिएको हो भने रेडियो विधाबाट उज्यालो ९० नेटवर्कका भोजेन्द्र बस्नेत, टेलिभिजन विधाबाट नेपाल टेलिभिजनकी मन्दिरा बानिया र छापा माध्यमबाट राष्ट्रिय समाचार समितिमा कार्यरत प्रगती ढकाल छन्। वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागद्वारा स्थापित उक्त पुरस्कारसहित सम्मान प्रदान गरिएको हो।

यस वर्षको विश्व वातावरण दिवसको नारा 'हाम्रो भूमि हाम्रो भविष्य' रहेको छ। संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ। नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप)का अनुसार विश्वमा २ अर्ब हेक्टर भूमिको क्षयीकरण भएको छ भने विश्वको कूल जनसंख्याको करिब ४० प्रतिशत जनसंख्या अर्थात ३ अर्ब २० करोड मानिस प्रभावित छन्। त्यसमा पनि खासगरी गाउँमा बस्ने समुदाय र किसान बढी प्रभावित छन्। सन् २०३० सम्म वन र भूमिको क्षयीकरणले गर्दा १३ करोडभन्दा धेरै मानिस बसाइँसराइ गर्ने र त्यसका कारण सामाजिक र आर्थिक असमानता बढ्ने संयुक्त राष्ट्रसंघको प्रक्षेपण छ। 

उकालोमा प्रकाशित मुकेश पोखरेलका लेख यहाँ क्लिक गरेर पढ्न सकिन्छ।