चुनावी परिणामसँगै भारतको धर्मको राजनीतिको प्रभाव/असर यहाँ पनि पर्ला कि भन्ने चिन्ता हाम्रो हो, किनभने भारतको राजनीतिबाट निरपेक्ष रहेर हामी बस्न सक्दैनौँ।
भारतीय लोकसभा चुनावको परिणाम भारतीय जनता पार्टी, खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे कार्यकालको परीक्षण पनि हो। मोदीको समयमा भारतमा जेजस्तो आन्तरिक स्थिति निर्माण भइराखेको थियो, त्यसले भारतको लोकतन्त्र कता जान्छ भन्नेमा मानिसहरूको चासो थियो। तिनै आधारमा यस चुनावले भारतीय लोकतन्त्र कता जाला भन्ने स्वाभाविक चासो/उत्सुकता मलाई पनि थियो।
चुनाव परिणाम मिश्रित आएको छ। वास्तवमा यो परिणाम मोदीको घट्दो शक्तिको संकेत हो। उनको जुन उचाइ र प्रस्तुति उनको देखाइएको थियो, उनी आफैले पनि चुनावबारे जुन 'प्रोजेक्सन' गरेका थिए, त्यसलाई भारतीय मतदाताले स्विकारेको देखिएन। त्यसो हुँदा अब भारतीय राजनीतिमा पहिलेभन्दा सन्तुलित अवस्था होला भनेर अपेक्षा गर्न सकियो।
अर्को, लोकतन्त्रमा धेरै लामो समयसम्म एउटै व्यक्ति र पार्टीको राज मतदातालाई सामान्यतः रूचिकर हुँदैन। युरोप-अमेरिकालगायत मुलुकमा पनि त्यस्तो देखिन्छ। त्यसो हुँदा सबै पार्टीले पहिलेझैँ उत्साहजनक समर्थन पाउनु निकै कठिन हो। भारतीय मतदाताले पनि एउटै व्यक्ति र पार्टीको तेस्रो कार्यकालको निरन्तरता त्यति रुचाएको देखिएन, यद्यपि, सबैभन्दा ठूलो र झन्डैझन्डै बहुमत नजिक भाजपा अहिले बन्न पुगेको छ। भाजपाले नेतृत्व गरेको एनडीएको अहिले बहुमत छ। तर पनि पहिलेभन्दा भाजपा पार्टी र नेतृत्व दुवैको स्थिति निकै खस्केको पक्कै हो। विपक्षी दलहरूको प्रस्तुति पहिलेभन्दा धेरै राम्रो देखियो।
मोदीसँग टक्करमा राहुल
अघिल्ला चुनावहरूमा मोदीसँग टक्कर लिन सक्ने खालको नेतृत्व विपक्षी दलमा देखिँदैनथ्यो। राहुललाई 'केटाकेटी' नै मान्थे मानिसहरू। नेहरु-गान्धी परिवारको विरासतबाहेक उतिखेर राहुलको आफ्नै (व्यक्तिगत) केही बनेको थिएन। त्यसमाथि, पछिल्लो समय मोदी आफै विरोधी पक्ष, खास गरेर राहुलको नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत भए। त्यस चुनौतीलाई राहुल गान्धीले सजिलैसित सामना गरेको र त्यसको आधारमा भारतीय मतदातालाई प्रभाव पार्न सकेको र नेतृत्वको हैसियतमा स्थापित भएको यो चुनावले देखाउँछ।
गत चुनावमा लोकतन्त्रका लागि नसुहाउँदो प्रचारप्रसार भयो भारतमा। खासगरी राहुल र भारतीय काङ्ग्रेसप्रति आफ्नो व्यक्तित्वलाई नसुहाउने गरी तल्लो स्तरको र आक्रामक प्रचारमा मोदी उत्रे। २०१४ र २०१९ को दुई चुनावको निरन्तर विजयबाट आफूले हासिल गरेको उचाइलाई नसुहाउने खालको प्रचारबाजीमा मोदी उत्रे। व्यक्तित्वबाट नै तल झरेर स्तरहीन प्रचार गरेको मोदीलाई सुहाएको थिएन।
सँगै, सबै चुनाव भगवान् रामचन्द्रले नै पार गराइदिन्छन् भन्ने खालको आम प्रस्तुति थियो भाजपा उम्मेदवारहरूमा। भारतीय मिडियामा हेर्दा यस्तो लाग्थ्यो, मोदीसहित बीजेपीका उम्मेदवारहरू राम नै आएर चुनाव जिताइदिन्छन् झैँ गरिरहेका थिए। जबकि लोकतन्त्रमा पार्टी र व्यक्तिले परिश्रम गरेर जनताबाट अनुमोदित हुने हो। धार्मिक आस्था भजाएर चुनाव पार लगाउन सकिन्छ भन्ने भ्रम भारतमा फैलाइयो। भारतीय मतदाताले त्यसलाई अस्वीकार गरे। कतिसम्म भने अयोध्या मन्दिर रहेको क्षेत्रमै समेत भारतीय जनता पार्टी हार्यो। जबकि, चुनावका प्रचारका दृश्यहरूमा 'जय श्रीराम'बाहेक अरू देखिँदैनथ्यो।
लोकतन्त्रमा पार्टीको हैसियत, उम्मेदवारका गुण र दोषका आधारमा जनताले भोट हाल्छन् भन्ने कुरा चुनावी परिणामबाट पुनः पुष्टि भएको छ। आस्थाका आधारमा त भारतमा स्वतः ८० करोडभन्दा बढी हिन्दु मतदाता छन्। त्यसका लागि त चुनाव नै गर्नुपर्दैनथ्यो। आस्था मात्र भजाउन खोज्दा मतदाता प्रभावित हुँदैनन् र गुणदोसलाई पनि हेर्छन्। यस चुनावले त्यो सन्देश दियो। भारतीय लोकतन्त्रको यो निकै सकारात्मक पक्ष हो।
नयाँ माध्यमहरूको प्रयोग
यस चुनावमा इन्टरनेट माध्यमको खुबै प्रयोग र प्रभाव भएको विश्लेषण छ। शशी थरूर विगत दशकयता प्रखर रूपमा बौद्धिक विमर्श गर्दै आएका व्यक्ति हुन्। 'ह्वाइ आइएम हिन्दु?'लगायत थुप्रै किताब लेखेका छन् उनले। सैद्धान्तिक र बौद्धिक रूपमा भाजपाको सिद्धान्त र मोदीको राजनीतिलाई गम्भीर रूपमा उनी चुनौती दिइरहेका छन्। तर उनी प्रचारमुखी छैनन्। तर मतदातालाई त्यस्तो गम्भीर बौद्धिकताको अर्थ रहँदैन। उनीहरूलाई यस्ता बौद्धिकता बुझ्न समय पनि हुँदैन।
यस्तो अवस्थामा ध्रुव राठीजस्ता युवाहरू उदाए। पहिलेभन्दा बढी नयाँ माध्यमको प्रयोग ज्यादा भयो। नयाँ माध्यमको उपयोगको महत्त्व पनि यस लोकसभा चुनावले देखाउँछ। प्रिन्ट मिडियाको घट्दो प्रभावलाई पनि संकेत गर्छ। परम्परागत राजनीतिक अभ्यास र चुनावी प्रचारलाई नयाँ प्रविधिले व्यापक प्रभाव पारेको हुनाले जनमत सिर्जनामा प्रचार माध्यमको प्रभावकारी प्रयोगतर्फ यस चुनावले संकेत गर्छ।
नेपाल प्रभाव
चुनावी परिणामसँगै भारतको धर्मको राजनीतिको प्रभाव/असर यहाँ पनि पर्ला कि भन्ने चिन्ता हाम्रो हो, किनभने भारतको राजनीतिबाट निरपेक्ष रहेर हामी बस्न सक्दैनौं। त्यहाँको राजनीतिको आरोह-अवरोहको प्रभाव नेपालमा पर्छ। भारतमा बीजेपीको बढ्दो प्रभावसँगै केही वर्षयता त्यसको प्रत्यक्ष छायाँ नेपालमा देखिन थालेको हो। तराईमा प्रस्टै रूपमा देखिएको थियो। अस्ति भर्खर दार्चुलादेखि टिंकरसम्मको यात्रा गरेर म काठमाडौँ फर्कें। भारतमा चुनावको दौर चलिरहँदा यात्रामा भेटिएका मान्छेहरू भन्दै थिए, "नेता त मोदीजस्तो हुनुपर्छ।"
भारतको हिन्दूत्वको प्रभाव नेपालको मतदातासम्म पनि आइसकेको थियो। हाम्रोमा पनि राजनीतिमा सस्तो प्रयोगका अभ्यास केही नेताहरूले गर्न थालेको देखिन्छ। यस्तो अवस्थामा मोदीको विजय कुन हैसियतमा हुन्छ होला भनेर मान्छेहरू नियालिरहेका थिए। उनी कुन 'साइज'मा आउँछन् भन्ने चासो थियो। मोदीले चुनावै हार्छन् भनेर अनुमान गर्न सकिएको थिएन। अहिले उनले हारेको पनि होइन, केबल उनको उत्साह मात्र घटेको हो।
नेपालको सन्दर्भमा हेर्दा उनी ठूलो बहुमतका साथ आउँदा दुई तीन वटा प्रभाव तत्कालै हुने देखेको थिएँ। उनले भोट माग्दा "यस पटक चार सय भन्दा बढी सिट देऊ" भन्दै मतदातासमक्ष पुगेका थिए। त्यसको मतलब भारतको संविधानका केही मौलिक विषयमा परिवर्तनको सम्भावना पनि थियो; खासगरी धर्म निरपेक्षता बदल्ने विषयमा। भनेजति मत पाएको भए त्यसो हुन पनि सक्थ्यो। भारतमा धर्म निरपेक्षता हटाइँदा नेपाल त्यसको प्रभावबाट बच्न बहुत कठिन हुन्थ्यो।
नेपालमा हिन्दु आबाद छ। हिन्दू धर्मकै नाममा राजनीति गर्ने राप्रपालगायत राजनीतिक पार्टीले कति प्रभाव पार्लान्, थाहा छैन। तर त्यसको प्रत्यक्ष प्रभावबाट नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पार्टी मुक्त हुन सक्दैनन्। राप्रपाले हिन्दु राष्ट्र फर्काएर ल्याउँछ भन्ने कुरा पत्याउन सकिँदैन। 'धर्म निरपेक्षता'बारे भारतमा हुने परिवर्तनको प्रत्क्षय प्रभावबाट कांग्रेस र एमाले मुक्त हुन्छन् भनेर सोच्न पनि सकिँदैनथ्यो। मोदीले 'प्रोजेक्सन' गरेकै आधारमा विजय भएको भए त्यसको प्रभाव स्वतः यता आउन सक्थ्यो।
अर्को, हामीसँग सीमा जोडिएको उत्तर प्रदेशमा अहिले बीजेपी पहिलेको तुलनामा धेरै कमजोर भएको छ। नेपालमा योगी आदित्यनाथको धेरै चर्चा हुन्छ। नेपालमा दिल्लीको एउटा प्रभाव छँदैछ, उत्तर प्रदेशको पनि छँदैछ। नेपालका पूर्व राजादेखि कतिपय राजनीति गर्नेहरूसमेत त्यहाँका मुख्यमन्त्री आदित्यनाथसँग सर सम्पर्कमा आउने गरेका छन्। यी कारणले गर्दा बीजेपी दक्षिणमा शक्तिशाली हुँदा त्यसको यहाँ 'धार्मिक' प्रभाव यता पक्कै पर्ने थियो। तर, बीजेपीले जतिसुकै प्रचण्ड विजय प्राप्त गरे पनि भारतले खुरुक्क ल्याएर नेपालमा राजसंस्था पुनर्स्थापना गरिदिनेछ भन्ने कुराचाहिँ पत्याउन सकिँदैनथ्यो।
'हिन्दु राज्य' र नेपालका केही आन्तरिक विषयमा भारतको स्वार्थ छ। त्यसमाथि, हाम्रा दुई छिमेकीको प्रत्यक्ष चलखेल देखिन्छ। यहाँ दुवै सक्रिय छन्। अलि अघिसम्म चीन नेपालसँग मौन कूटनीतिमा थियो। अहिले बोल्नै थालेको छ। यस्तो अवस्थामा बीजेपी भारतमा बलियो भएर आउँथ्यो भने हामीलाई मार पर्थ्यो। बीजेपीको साइज घटेर आएको लोकसभा चुनावको परिणामले उनीहरूको नेपाल नीति केही सन्तुलित होला भनेर अनुमान गर्न सकिन्छ।
(राजनीतिशास्त्री खनालसँगको कुराकानीमा आधारित।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
