टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो हार, भारतसँग ६ रनले पराजित

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। अमेरिकाको न्युयोर्कमा आइतबार राति सम्पन्न खेलमा भारत ६ रनले विजयी भएको हो।

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ तथा इमाद वासिमले १५ रन बनाए। भारतका जसप्रित बुमराहले तीन तथा हार्दिक पान्ड्याले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले १९औँ ओभरको अन्तिम बलमा अल आउट हुँदै ११९ रन बनाएको थियो। भारतका लागि रिसभ पन्तले ३१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए। अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए। भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका लागि हरिस रउफ र नशिम शाहले समान तीन/तीन तथा मोहम्मद आमिरले दुई विकेट लिए।

आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना कमजोर बनेको छ। यसअघि आयरल्यान्डलाई हराएर लगातार दुई खेल जितेको भारत ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ।