फिफा विश्वकप छनोट: नेपाल र यमनको खेल बराबरी

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरमा पहिलो गोल हो।

काठमाडौँ– फिफा विश्वकप छनोट र एएफसी एशियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा भएको खेलमा नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले गोल गरे। दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।

नेपालले खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल खान पुगेको थियो। बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लंघन गरेपछि यमनले पेनाल्टी पाएको थियो। पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए।

खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काएका थिए। ६६औँ मिनेटमा नेपालले अग्रता लियो। नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवको हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीले गोल गरेपछि अन्ततः खेल बराबरीमा सकियो।

 यससँगै नेपालले उक्त छनोट प्रतियोगितामा एक अंक जोडेको छ। नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन। यो खेलसँगै नेपालले समूह चरणका ६ खेलमा एक अंक जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ।

नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (यूएई) १६ अंकसहित शीर्षस्थानमा छ भने बहराइन ११ अंकसहित दोस्रोमा छ। यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। पाँच अंकसहित तेस्रो भएको यमन र नेपालले एशियन कप छनोटको तेस्रो चरणमा पनि प्रतिस्पर्धा गर्नेछन्।