आमा लिएर डंकन गएको गडी फिरेन

हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’

वृहत्तर नेपाली शब्दकोषका अनुसार गाँतीको अर्थ हुन्छ- गलबन्दीको काम दिने त्यस्तो कपडा, जुन चिसोबाट बच्न कान, घाँटी र टाउको छोप्ने गरी तीन चोसे पारी बनाइएको हुन्छ। ‘गाँती’ ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति हो जसमा आफ्नो बाल्यकालीन स्मृति र विशेषतः आमासँग जोडिएका सहृदयताका अनेक रोचक प्रसंगहरू छन्। वीरगन्ज र आसपास निकै चलनचल्तीमा रहेको गाँती आजभोलि उति देखिँदैन। रत्न पुस्तक भण्डारबाट प्रकाशित ‘गाँती’को एक अंश:

०७ सालको फागुनको अन्त्यतिर होला, एक दिन बिहानै म खेल्न जान आँटेको थिएँ। आमाले भन्नुभयो- धुरे, पहिले गाँती बाँध्, अनि जहाँ खेल्न जानु छ जा। 

म उभिइरहेँ। तुलसीमोठ नजिक आमाले आफ्नो एउटा किनारीदार छिपुवा धोती ल्याउनुभयो र त्यसको गाँती बनाएर मलाई बाँधिदिनुभयो। अनि म खुशीखुशी उछलिँदै बाहिर खेल्न गएँ। गाँती सधैँ त्यस्तै हुन्थ्यो, अलिक मैलो भएको धोती, धुनुअगिको। आमा सधैँ सफासुग्घर गर्नु र रहनुपर्ने गृहिणी हुनुहुन्थ्यो। कमी पनि थिएन। त्यसकारण उहाँको धोती धेरै मैलो नहुँदै उतरिहाल्थ्यो। यो धोती त्यस्तै थियो। तर एक चीजबाट कुनै धोती पनि बच्न पाउँदैन थियो। आमाले मसाला पिसेर हात पुछेको जीरा, हर्दी आदिको मिस्कट गन्ध र दाग पनि त्यहाँ थियो। मलाई मन पर्थ्यो, लाग्दथ्यो- आमाको ममता पनि मिसिएको छ त्यसमा।

म खेलीओरी आएँ। आएपछि थाहा भयो, आमा टाउको दुखेर सुत्नुभएको छ। अधकपारी, आमाको मामलामा कुनै नयाँ कुरा थिएन। यस्तै मुडबथी भइरहन्थ्यो उहाँलाई। औषधि खानुपर्दैन थियो। एक निद्रा भरपूर लिएपछि माने, एकाध घण्टा त्यो पनि, आमा तरोताजा भएर घरधन्दामा लाग्नुहुन्थ्यो। कसैलाई के-के अह्राउनुपर्छ, त्यो अह्राउँदै उहाँ घरमा छाइरहनुहुन्थ्यो। भान्छाको बेला छ, भान्छामा गयो। अरू बेला छ र त्यस बेलामा गर्ने काम छ भने, त्यता लाग्नुहुन्थ्यो। 

चुरौटे आएको छ र चुरा लगाउनु छ भने, चुरा लगाउन बस्नुहुन्थ्यो, भाउजूसमेतलाई बोलाएर। चुरौटे छैटीभरि रङ्गीबिरङ्गी चुराका लच्छाहरू बोकेर घुम्थ्यो। उसको साथमा चुरौटिनी पनि हुन्थी। चुरौटेकै स्वास्नी। छैटी बिछ्याएर चुराहरू देखाउन थाल्थे। टोलका अरू स्त्रीहरू पनि झुम्मिन्थे। आमा प्रायः रातो रङ वा रातो रङ मिसिएको चुरा लगाउनुहुन्थ्यो। त्यो लगाइदिने काम भने सदैव चुरौटिनी गर्दथी। लगाउँदा लगाउँदै चुरा चुक्थ्यो, अर्थात् चट्किन्थ्यो। त्यसलाई तत्काल बदलिदिन्थे। हिजैअस्ति लगाएको चुरा छ भने पनि चुकेको भेटियो भने, त्यो पनि बदलिदिन्थी। ‘ई नयका आइल बा माल्किनी’ भनेर नयाँ लडी झिकेर पनि देखाउँथे। आपसमा सल्लाह पनि हुन्थ्यो। त्यसपछि मोलमोलाई हुन्थ्यो, दर्जनको कति? त्यसैमा चिरौरी पनि हुन्थ्यो, चुरा पहिरिने र हिराउनेका बीच। अनि कुनै विन्दुमा सम्झौता हुन्थ्यो।

तीज वा दशैँ–तिहारको समय छ भने तिनीहरू झन् भेराइटीका चुरा ल्याएर देखाउँथे। यी दिन तिनको आम्दानीका हुन्थे। नारीभरि चुरा लगाउनु सौभाग्यको निशानी मानिन्थ्यो। केटी र स्त्रीहरू यस्ता चाडबाडमा बिनाचुराका या कम चुराका पनि देखिँदैन थिए। यो अपराह्नको बेला हुन्थ्यो। अन्य सिँगारपटार भ्याएर बसेका छन् भने झन् उत्साहले हात सजाउँथे। तिनताक त्यही एउटा फेसन थियो पनि। अनिवार्य। त्यही फेसन आजसम्म पनि चलेको छ, झन् आधुनिक रूपमा। यस्तै समय हुन्थ्यो, जब किताब या उसकी बुलाकी लगाएकी स्वास्नी आउँथी, धोएको लुगाको विशाल मोटरी लिएर प्रायः किताब आउँथ्यो, यदाकदा उसकी स्वास्नी आउँथी। ओसारामा ढिकी जाँतो सब थियो। किताबको हिसाबपछि आमा स्वयं धनकुटीमा पनि लाग्नुहुन्थ्यो। 

दूधवालाको हिसाब हुन्थ्यो। भित्तामा गोबरले चोर औँलाले बनाएको जतिवटा लकीर, त्यति सेर दूध। त्यसमा भाउजू आएपछि भाउजूको पनि संलग्नता हुन्थ्यो। यी सबमा अपराह्न साँझमा परिणत भएको पत्तै पाइन्नथ्यो। आमाको मुखको सुपारी पनि तबसम्म चपाइसकिएको वा नसके थुकिसकिएको हुन्थ्यो। आमा भात खाएर एक फाँक सुपारी मुखमा हाल्नुहुन्थ्यो र त्यो कति घण्टासम्म चपाइरहनुहुन्थ्यो। बा पनि त्यस्तै। अब त कम भयो, नत्र हाम्रो लगभग खानदानी सोखजस्तै थियो। गोपाल दाइ पनि फाँक-फाँक सुपारी चपाउँदथे। राति सुत्दा पनि सुपारीको फाँक लिएरै सुत्थे। अब मेरो पनि लगभग त्यस्तै छ सुपारी–प्रेम। यी सबबाट निप्टेपछि अब भात भान्छा। हुन त भान्छे प्रायः एउटा टुट्दैन थियो घरमा। आमा सफासुग्घरमा अलि बढी नै चनाखो हुनुहुन्थ्यो। भान्छामा उहाँको अनिवार्य उपस्थिति हुन्थ्यो। भान्छेले कडाइका साथ शुद्धताको पालन गर्नुपर्दथ्यो। पुरुष भान्छे छ भने, झन् बढी। स्त्री छ भने कहिलेकाहीँ त त्यो भान्छामा बिनाचोलो पनि देखिन्थी। धोतीको सप्काले ढाकछोप गरेर। तर जति गरे पनि...। तर यो सब त्यसबखत मेरा लागि झिँजो लाग्ने दृश्य हुन्थे। 

भान्छाको नियम कडा थियो। सारा पुरुषले खाएपछि, स्त्रीहरू खान बस्थे। पत्नीहरू प्रायः लोग्नेले केही अन्न छाडेकै थालमा खान्थे। ती अत्यन्त समय लगाएर खान्थे, दुनियाँभरिका कुरा आदानप्रदान गर्दै। तिनको हाँसो सुनिने एक समय त्यो पनि हुन्थ्यो। हामी त पहिल्यै तल, भान्छा नछोइने ठाउँमा खाएर उठिसकेका हुन्थ्यौँ। तिनको खवाइ कहिलेकाहीँ मलाई झर्को लाग्दो पनि लाग्थ्यो तब, जब आमासँग एकाध पैसा झट्किने दाउमा हुन्थे। धेरै चिरौरीपछि, उहाँ बल्ल धोतीको आँचलको एकदम छेउको गाँठो फुकाउनुहुन्थ्यो र त्यहाँ भएको रेजकीबाट एक पैसा वा अठन्नी एउटा दिनुहुन्थ्यो जरुर। एक दिन मैले भने- ‘आमा, कति धेरै बेर खानुहुन्छ तपाईहरू, यति दुब्लो भएर पनि?’ 

आमाले हलुका थप्पड दिँदै भन्नुहुन्थ्यो, हँसिलो मुखले- ‘मोरो, आइमाईले खाएको हेरेर बसिरहन हुन्छ त? खाने त कति हो र, हाम्रो गफ गर्न पाइने बेला पनि हो यो त। आइमाईले न्वाएको र लोग्ने मान्छेले खाएको देख्न हुन्न भन्ने हो, तर खाएको पनि हेर्नुहुन्न, बुझिस्!’ 

अनि हातमा पैसा भएपछि गएर एकैपटक रुवोको मिठाई छान्थ्यौँ हामीहरू। तर त्यो चिनीकै हुन्थ्यो, धुनेको रुवोजस्तो, रातो रङको गोला हुन्थ्यो। त्यसले पेट त भर्दैन थियो, तर थोरै पैसामा एउटा ठूलो गुलियो गोला खाएको आनन्द भने दिन्थ्यो। चिनी कटोरावाला बाँसमा एउटा लस्सेदार गुजुल्टो राखेर बसेको हुन्थ्यो। त्यसबाट रबर तानेजस्तो, त्यो लस्सा तान्थ्यो। त्यो लस्साको मिठाई पनि एक–दुई पैसामा पाइन्थ्यो। त्यसैसँग रुईको मिठाई पनि हुन्थ्यो। दुवै चिनीका रङ्गीन मिठाईहरू हुन्थे। मलाई दुवै मीठो लाग्थ्यो, त मैले एक पैसामा दुवै मिठाईको आनन्द लिन त्यहीँ गएर उभिएपछि मात्र दम लिएँ। 
⁎⁎⁎
वीरगन्ज जेल तोडिएसँगै धेरै रुटिनहरू अलग बनिए, खेल्ने कुरासम्म पनि। खेल्दा मैले सबभन्दा बढी खेल्ने एउटी सानी केटी थिई, कमली। कमली झ्यालखानको तहबीलदारकी छोरी थिई। दुब्ली–पातली, गोरी, पहेँलीपहेँली खालकी। धेरै बोल्दिन थिई। एकदम सोझी केटी थिई कमली।

हाम्रो एउटा प्रिय खेल थियो, दालभात पकाएर खाने। त्यो भात धूलोलाई बनाइन्थ्यो। इँटाका साना–ठूला टुक्राले एउटा चौडा घेरा बनाइन्थ्यो। त्यो हाम्रो घर वा कोठा हुन्थ्यो। कमली स्वास्नी बनेर भात पकाउँथी। लकडीको छेस्काले धूलो चुलो चलाउँथी, दाल कुनै अर्को किसिमको माटो हुन्थ्यो। सागपात मानेर कुनै पनि झारबाट टिप्यो, साग भयो। मिरमिरी वा एउटा मेथीजस्तो झारको पत्ता। यी दुवै चीज पो छडीदार चङ्गाको पुच्छरमा बाँध्न पनि काम लाग्थ्यो। यी सब कमली मनोयोगले पकाउँथी। त्यसपछि भन्थी- भान्छा तयार भयो। हामी प्रायः दुई जना बोरा बिछ्याएर खान बस्थ्यौँ। एक चीज, स्वादिष्ट दालभात, तरकारीजस्तै, चिउँडोसम्म पुर्‍यायो, गाँस बनाएर, त्यसपछि, जिब्रो तल्लो ओठभित्र हालेर चपरचपरको आवाज निकालेर खान्थ्यौ। त्यसपछि रात हुन्थ्यो। सुत्ने बेला आउँथ्यो। इँटाको दुइटा तकिया बनाइन्थ्यो, कमली त स्वास्नी भइहाली, हामी दुईमा जो लोग्ने बनेको हुन्थ्यो, त्यो कमलीसित सुत्थ्यो। अर्को साथी बन्ने पछि, इँटाको घेराबाहिर पटाउँथ्यो। पाँच–सात मिनेटपछि बिहान हुन्थ्यो। कमली पहिले आँखा मिच्दै उठ्थी, आङ तन्काउँथी। मुख धुन्थी, पानीबिना नै मुख छम्किन्थी, कुल्ला गर्थी। पिच्च थुक्थी पानीबिना नै। त्यसपछि घरधन्दामा लाग्थी। उही दालभात तरकारी पकाउँथी। हामीलाई खान दिन्थी। खाएर हामी अफिस जान्थ्यौँ।

लोग्नेचाहिँ अलि चाँडो आउँथ्यो, तरकारी बोकेर। ऊ स्वास्नीसित गफ गर्न थाल्थ्यो, आज के पकाउँछेस् आदि। त्यतिन्जेल कमली काल्पनिक चुलेसीमा कुनै काल्पनिक तरकारी काटिरहेकी हुन्थी, दुरुस्तै त्यसैगरी, जसरी त्यो तरकारी काटिन्छ। ऊ मसिनो स्वरमा भन्थी- ‘भन्टा।’ बस् त्यति नै। ऊ लामो जवाफ कहिल्यै दिन्न थिई। यसमा यथार्थ थियो, याने कमलीको स्वभाव धेरै नबोल्ने खालको थियो, त्यस्तै काल्पनिक स्वास्नीको अभिनय गर्दा पनि ऊ त्यस्तै नबोल्ने किसिमकी स्वास्नी हुन्थी। कमलीको कपाल तिनताक प्रायः केटीहरूको छोटो गरी छाँटिएको कपाल हुन्थ्यो, त्यस्तै काटेको हुन्थ्यो। कहिलेकाहीँ कपाल निधारतिर आउँदा, झट्का दिएर फर्काउँथी। त्यो मलाई मन पर्थ्यो। दुई जनामा दिनदिनै एउटा कुरामा झगडा हुन्थ्यो। कमलीको लोग्ने बनेर म पनि खेल्न चाहन्थे, ऊ पनि। लाभ यही थियो कि कमली जति कम बोले पनि ऊसँग लोग्ने बन्नेले बढी बोल्ने अवसर पाउँथ्यो। राति बोरैको ओछ्यान भए पनि सँगै सुत्न पाउँथ्यो। कुन्नि के आकर्षण थियो, त्यो काल्पनिक खेलमा पनि, हरेक कमलीको लोग्ने नै बन्न चाहन्थ्यो। तर प्रायः मै बन्थे।

साथी त फेरि अफिस पनि धेरैबेर बस्थ्यो। सुत्दा पनि घेराबाहिर सुत्थ्यो र कमलीसित गफ पनि कम गर्न पाउँथ्यो। ५–६ वर्षका यी केटाकेटीमा कुन्नि के आकर्षण थियो, लोग्ने बन्नमा। हुन सक्छ, त्यसबखतका लोग्नेहरू बढी प्रभावी देखेर त्यस्तो भएको होस्। तर कमली भने यो झगडामा पर्दिन थिई। कहिल्यै भन्दिन थिई- ‘मेरो लोग्ने यो बन्छ।’ कहिलेकाहीँ म सोध्थेँ पनि- ‘कमली, तैँ रोज्, तेरो लोग्ने को बन्छ?’
⁎⁎⁎
बोलाउने र चिनिने अर्थमा, हाम्री आमा पनि मुखिनी बज्यै नै हुनुहुन्थ्यो। बा मुखियाको पदमा पुगेर मुखिया बाजे हुनुभएको थियो। खैर! मुखिनी बज्यै निकटस्थ छिमेकी मात्र थिइनन्, छिमेकीभन्दा बढी थिइन्। त्यस बखतसम्म पुरानो घरको पूर्वतिर हाम्रो एउटा फुसको घर बनेको थियो। आमालाई त्यही घरमा राखियो। त्यसलाई हामी नयाँ घर भन्थ्यौँ। पछि त्यो जीर्णसीर्ण अवस्थामा हुँदासम्म पनि त्यो नयाँ घर नै भयो। त्यो पुरानो कहिल्यै भएन, ‘नयाँ घर’ भनिएरै समाप्त भयो। त्यसैको ओसारामा ढिकी–जाँतो सब थियो। कुटाइ–पिसाइको काम त्यहीँ चल्थ्यो। त्यसबखत आमा पक्की घरकै पूर्वतिरको कोठामा बस्नुहुन्थ्यो। यसै कोठामा दाजुले ल्याएको अरबिन्द रेडियो सुन्थ्यौ। आमा बिरामी भएपछि मात्र ‘नयाँ घर’ मा उहाँलाई राखिएको थियो। 

बिस्तारो आमाको बिसन्चो बढ्दै गयो। उहाँलाई ज्वरोको आधिक्यले सन्निपात भयो भन्थे। सन्निपातको बेहोसीमा उहाँ अनापसनाप बोल्न थाल्नुभयो। उहाँले कहिल्यै नबोलेका शब्दहरू बर्बराउन थाल्नुभयो। त्यस्ता शब्दहरू उहाँलाई थाहा थियो भन्ने पनि हामी कल्पना गर्दैथ्यौं। ती शब्द, होशमा भएको भए सङ्कोचका कारण, किमार्थ बोल्नुहुन्न थियो। उहाँको नाकबाट रगत आउन थाल्यो। धेरै भएपछि कुनै डाक्टर वा वैद्यकै सल्लाहमा हो कि त्यसै हो, उहाँलाई रक्सौलस्थित मिसनरी अस्पताल डंकन लाने अठोट गरियो। त्यसबखत वीरगन्ज अस्पताल एकदम सानो थियो। एउटा ओपिडी थियो, बस्। त्यसका तुलनामा डंकन, विभिन्न किसिमले सुसम्पन्न थियो, नाम चलेको थियो। आमालाई गडीमा, डसना–कम्मल ओछ्याएर, ओहार तानेर लग्ने निर्णय भयो। घरपछिल्तिरको बारीतिरबाट गडी ल्याइयो। आमालाई सबले मिलेर सहारा दिँदै लिएर गएर गडीमा लेटाइयो। त्यतैबाट बाटो निकालिएको थियो। हामी केटाकेटीहरूलाई जान दिइएन। तर हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’

बाले यस्तरी झपार्नुभयो त्यसलाई कि त्यो सम्झेर रुन थाली। तर यी सब हेर्ने कसलाई फुर्सद थियो? गडी हिँड्यो, डंकनका लागि। छरछिमेकका धेरै जम्मा भएका थिए। बा पनि गडीको पछिपछि जानुभयो कि डंकनसम्म? मलाई याद छैन। तर त्यो गडीमा पहलवानबाहेक, आमासँग मुखिनी बज्यै पनि गएकी थिइन्। कति दिन लाग्छ, कसैलाई थाहा थिएन, त्यसकारण एक किसिमको यथोचित इन्तिजाम गरेरै पठाइएको थियो। म आँखाबाट ओझेल नहुन्जेल गडीलाई हेरिरहेँ। गडीको पछिपछि जान खोजेको थिएँ रुँदै। अरूले रोकिदिए। गएर कहाँसम्म जाने? आमा सिकिस्त बिरामी भएर रुनुपर्ने घटना पहिलो थियो जीवनमा। नत्र आमाको टाउको दुख्थ्यो तर एकाध घण्टा सुतेर उठेपछि तरोताजा भएर घरको बन्दोबस्तमा लागिहाल्नुहुन्थ्यो। उहाँ कुनै पनि काम नगरेर, हात बाँधेर वा निर्देशन मात्र दिएर बस्न सक्ने मान्छे नै होइन। त्यस्तो मानिसको दुई–चार घण्टाको अनुपस्थिति पनि शून्य अनुभव गराउने हुन्छ। यो त अब, कति समयको शून्य थियो, त्यतिखेर भन्नै नसक्ने अवस्था थियो। बरु आमाको शून्यता भित्रसम्म अनुभव गरेर उहाँका विभिन्न बिम्बहरू, घटनाहरू सम्झेर रोऊ, पर्ख वा मनाऊ, आमा चाँडो फर्किनुहोस्। म त्यस दिनदेखि त्यही गर्न थाले।

एक बिहान। घाम लागिसकेको थियो। म अझै ओछ्यानमै थिएँ। अर्धनिद्रामा। एक्कासि मेरो कानमा हजुरआमाले कसैसँग बोलिरहेका वचनहरू टकराउन थाले- ‘अब मासिकसासिक गर्नुपर्छ’ आदि। 

मैले यो शब्द त्यति अपरिचित, एक किसिमले कहिल्यै सुनेको थिइनँ। एकदम अजनबी शब्द। मनमा के पर्‍यो, म उठेर रुन थाले, ह्वाँह्वाँ नै। हजुरआमाले सोध्नुभयो– ‘एकाबिहानै किन रोएको ए धुरे?’