अफगानिस्तानमाथि वेस्टइन्डिजको १०४ रनको जित

२१९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो।

काठमाडौँ– आईसीसी टी२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिजसँग अफगानिस्तन १०४ रनले पराजित भएको छ। 

मंगलबार बिहान भएको खेलमा २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो। जारी विश्वकपमा यो ठूलो अन्तरको जित हो। 

अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए। अज्मतुल्लाह ओमरजाई २३, राशिद खान १८ तथा करिम जनत १४ रनमा आउट भए।

वेस्टइन्डिजका ओबेद म्याककोयले ३, मुडाकेश मोती र अकिल हुसैनले २/२ तथा आन्द्रे रसेल र अल्जारी जोसेफले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो। वेस्टइन्डिजका निकोलस पुरणले ९८ रनको आक्रामक इनिङ्स खेले। उनले ५३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे। जोनसन चार्ल्सले ४३, शाई होपले २५ तथा रोभम्यान पावेलले २६ रन बनाए।

अफगानिस्तानका गुलबदिन नाइबले २ तथा नवीन उल हक र ओमारजाईले समान १–१ विकेट लिए। समूह ‘सी’मा रहेका दुवै टोली सुपर आठमा पुगिसकेका छन्।