मनसुनी प्रणालीको प्रभाव: कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी, मधेश, बागमती र गण्डकीमा पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। कोशी प्रदेशमा रातिसमेत भारी वर्षाको सम्भावना छ।