मनसुनी प्रणालीको प्रभाव: गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाको भनाइ छ।

काठमाडौँ– मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा रहेको छ।

बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, कोशी, मधेश र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यसैगरी, राति कोशी, मधेश, बागमती र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

आइतबारसम्म देशभर मनसुन फैलिने महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन्। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यस वर्ष जुन १० मा मनसुन मुलुकको पूर्वी क्षेत्रबाट भित्रिन शुरू गरेको थियो। पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनको भनाइ छ। 

“नेपालमा १० दिन भयो मनसुन शुरू भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन,” मानन्धरले भनिन् “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जानेछ।” उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो।