टी२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। 

काठमाडौँ– आईसीसी टी२० विश्वकपको सुपर-८ मा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ। 

आइतबार बिहान अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा अलआउट भयो। 

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान मिचेल मार्सले १२ र मार्कस इस्टोइनिसले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका गुलबदिन नाइबले ४ तथा नवीन उल हकले ३ विकेट लिए। मोहम्मद नाबी, कप्तान राशिद खान र अजमतुल्लाह उमरजईका नाममा समान १–१ विकेट रह्यो।

त्यसअघि किंसटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले ४९ बलमा ६० रनको योगदान दिए। इब्राहिम जद्रानले ४८ बलमा ५१ रन बनाए। करिम जनतले १३ र मोहम्मद नाबीले १० रन जोडे। 

अस्ट्रेलियाका प्याट कमिन्सले ३, एडम जाम्पाले २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए।