टी २० विश्वकप : अमेरिकालाई हराउँदै सेमिफाइनलमा पुग्यो इंग्ल्यान्ड

आईसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडाैँ– आईसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९‌.४ ओभरमै विना विकेटको क्षतिमा पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा कप्तान जोस बटलरले अविजित ८३ रन बनाए। बटलरले मात्र ३८ बलमा छ चौका र सात छक्कासहित ८३ रन जोडेका हुन्। यस्तै, फिल साल्टले २१ बलमा २५ रन जोडे।

त्यसअघि ब्रिजटाउन, बार्बाडोसमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा ११५ रनमा अल आउट भयो। अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए। कोरे एन्डरसनले २९ र हरमित सिंहले २१ रन जोडे। इंग्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने अदिल र शामले दुई/दुई विकेट लिए।

जीतपछि सुपर आठको समूह दुईमा तीन खेलबाट चार अंकसँगै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको छ। समान दुई खेलमा दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अंक छ। अमेरिका भने अंकविहीन हुँदै बाहिरिएको छ।

अहिले दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच खेल भइरहेको छ।