युरोकप : जर्मनी र स्विटजरल्यान्ड प्रि क्वार्टरफाइनलमा

यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्यान्डमाथि १–० को जित निकालेको छ। अतिरिक्त समयको दशौँ मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोल गर्दै जित दिलाएका थिए।

काठमाडौँ– जर्मनी र स्विट्जरल्यान्डले युरो २०२४ को प्रि क्वार्टरफाइनल (राउन्ड अफ सिक्सटिन)मा स्थान पक्का गरेका छन्। सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेल्दै एक/एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन्।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औँ मिनेटमा पछि परेको थियो। निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको दोस्रो मिनेटमा जर्मनीले गोल गर्दै खेल बराबरी गरेको थियो।
२८ औँ मिनेटमा स्विट्जरल्यान्डका डान नोडेले रेमो फ्युलरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

सोही अग्रता अन्तिमसम्म कायम राख्ने लक्ष्यमा रहेको स्विट्जरल्यान्डले अन्तिम समयमा धैयर्ता गुमाउन पुग्यो। जसको फाइदा घरेलु टोली जर्मनलीले लिँदै खेल बराबरी गरेको हो।

जर्मनीका निकोलस फुलक्रुगले डेभिड राउमको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा टुंग्याए। समूह एमा जर्मनी ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा स्विट्जरल्यान्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो। 

यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्यान्डमाथि १–० को जित निकालेको छ। अतिरिक्त समयको दशौँ मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोल गर्दै जित दिलाएका थिए।

वैकल्पिक खेलाडी केभिन सोबोथले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि हंगेरीले आशा जिवितै राखेको छ।

दोस्रो हाफको मध्यमा बर्नाबास भार्गाको गम्भीर चोटले खेललाई ओझेलमा पारेको थियो। हंगेरीका फरवार्डलाई अस्पताल लगिएको थियो र उनको अनुहारका धेरै चोट लागेको छ। युरो २०२४ मा चार उत्कृष्ट तेस्रो स्थानका टोलीहरूमध्ये एकको रूपमा १६ को राउन्डमा पुग्न हंगेरीको तीन अंक पर्याप्त भएमा भार्गाले प्रतियोगिताको बाँकी खेल गुमाउन सक्छन्।