बेहुला मोदी, जन्ती दाहाल

मोदी कति पटक भारतको कस्तो प्रधानमन्त्री बने, त्यो उति महत्त्वपूर्ण होइन, जति भारतको बढ्दो विश्वव्यापी प्रभावको मारमा कसरी नेपाल पनि पर्दै छ भन्ने महत्त्वपूर्ण हो।

दुई साताअघि मात्रै भारतमा नरेन्द्र मोदीले तेस्रो पटक त्यहाँको सत्तासँग लगनगाँठो कसे। सत्तासँगको लगनगाँठो, व्यक्तिगत जीवनको लगनगाँठोभन्दा अलि फरक छ। व्यक्तिगत जीवनमा आधुनिक समाज/संस्कृतिमा लाग्नेजस्तो बहुविवाहको ‘बात’ यसमा लाग्दैन।

एक छिन है, ‘बात’ लाग्छ पनि कतिपय देशमा। जस्तो कि: अमेरिकामा दुई पटकभन्दा बढी 'सत्ताको बेहुला' हुन पाइँदैन। 

तर भारत र नेपालजस्ता कतिपय देशमा यसको सीमा छैन। सामन्ती संस्कार भएका मुलुकहरूमा ‘सत्ताको बात’ गौण विषय हो। ‘सत्ताको बातका’ विषयमा कुनै बेला कुरा गरौँला। 

आज मोदीको सत्तासँगको तेस्रो लगनगाँठो र लगनगाँठो समारोहमा बोलाइएका खास जन्तीको कुरा गरौँ: 

बेहुला नरेन्द्र मोदी भइगए। यस पटक अलि मुस्किलले भए उनी बेहुला। खोइ किन हो, मेरो ध्यान बेहुलाभन्दा पनि जन्तीहरूतर्फ बढी थियो। 

मोदीका जन्तीहरू टेलिभिजनका पर्दाहरूमा नियालेर हेरेँ। जन्तीको हुलमुलमा मातृदेशका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत देखिए। 

विवाह जसको होस्, जस्ताको होस्, विवाहको दिन, सिर्फ दुलाहा दुलहीको दिन हो। अरूहरू  कि त जन्ती हुन् कि त माइती पक्ष। तैपनि अक्सर पूर्वीय संस्कृतिमा विवाहमा जन्ती (बेहुला) पक्षको धाक र रवाफ अलि बेग्लै हुन्छ। 

सौभाग्यवश, नेपालका प्रधानमन्त्री दाहाल ‘जन्ती पक्षका’ थिए। उनले अलि धाक लगाउँछन् भन्ने पहिल्यै लागेको थियो। लगाए पनि– नेपालको त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा  गर्दै। 

सार्वजनिक खपतका लागि प्रधानमन्त्री दाहालले जे भने पनि उनी सिर्फ जन्तीकै हैसियतमा भारत गएका थिए।

बेहुला बेहुली र जन्ती एउटै होइनन्। 

जन्ती रमिते हुन्, ‘फेक’ हुन्, बेहुला बेहुली यथार्थ हुन्, सत्य हुन्। 

जन्ती क्षणिक हुन्। बेहुला बेहुली स्थायी हुन् (यो फरक कुरा हो कि कहिलेकाहीँ विवाह भत्कन पनि सक्छ, उसो त प्रधानमन्त्री पद पनि धरापमा पर्न सक्छ।)

यत्ति तथ्य पनि बुझ्न नसकेर कतिपय जन्तीहरू जिन्दगीभर रमाइरहन्छन्। प्रेमचन्दको कात्रोको कथापात्र घिसुले झैँ भोजको बखान गरिरहन्छन्।  

यसतर्फ धेरै टिप्पणी नगरौँ। कुरा यत्ति हो–नेपालका प्रधानमन्त्री मोदीको सत्तासँगको लगनगाँठोमा जन्ती गएका थिए। गए, आए। 

यहाँसम्म कुरा ठिकठाकै थियो। कुरा कहाँबाट बिग्रन थाल्छ भने जन्ती जाने कुरालाई जब नियमित र अनिवार्य आवश्यकताकै रूपमा अर्थ्याइन्छ। 

"नेपालका प्रधानमन्त्री दाहाल मोदीको सत्ता-लगनगाँठोमा जन्ती जानु ठिक कि बेठिक?", कुनै सञ्चारकर्मीले नेपालका एक पूर्व परराष्ट्रमन्त्रीलाई सोध्यो। उनले जवाफ दिए–प्रधानमन्त्री सुशील कोइराला पनि गएका थिए, प्रधानमन्त्री केपी  शर्मा ओली पनि गएका थिए। यो परम्परै हो। 

कसैलै यही प्रश्न नेपालका एक पूर्व प्रधानमन्त्रीलाई पनि सोध्यो। उनले पनि ठ्याक्कै यही भने– यो चल्दै आएको चलन हो। 

जन्ती जाने कुरालाई अनिवार्य सर्तजस्तै व्याख्या गर्ने ती पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र अरू कतिपय तथाकथित विज्ञको कुरा सुनेर म अवाक् भएँ। सोचिरहेँ–यति हल्का जवाफ कोही कसरी दिन सक्छ? 

गाउँघरतिरका जन्तीमा पनि एक खालको ‘रेसिप्रोसिटी’ भन्ने चीज हुन्छ। 

के दाहालको सत्ता लगनगाँठोमा मोदी जन्ती आएका थिए? ओलीको सत्ता लगनगाँठोमा मोदी जन्ती आएका थिए? के नेपालका आजसम्मका कोही प्रधानमन्त्रीको सत्ता लगनगाँठोमा कोही भारतीय प्रधानमन्त्री नेपाल जन्ती आएको इतिहास छ? 

लाज लाग्दैन नेपालका नेताहरूलाई परम्परा र चलनको कुरा गर्न? बांग्लादेश, श्रीलंका र भुटानका जाऊन्। तिनको हिसाबकिताब तिनै जान्लान्। हाम्रो हिसाबकिताबको कुरा हामी गरौँ। 

मान्छे भन्छन्– हिसाब र पिसाब ‘क्लियर’ हुनुपर्छ। भारतसँगको सम्बन्धमा नेपालको न हिसाब क्लियर छ , न पिसाब नै। 

नेपालका नेता, विश्लेषक र बुद्धिजीवी भनिनेहरूले राम्ररी भारतसँग नेपाली सम्बन्धको ‘हिसाब’ बुझेका छन् जस्तो मलाई लाग्दैन। आजसम्म भारत के हो भन्ने नै राम्ररी बुझेकै छैनन् होला तिनले। 

यसबीच खासगरी भारतको निर्वाचनपछि जति नेपालका नेता तथा विश्लेषकका कुरा सुनेँ र पढेँ, त्यसपछि लाग्यो–नेपालले भारतलाई बुझ्न अझै धेरै बाँकी छ। 

यसबीच प्रदीप ज्ञवाली, डा. हरि शर्मा, सिके लाल र सुधीर शर्मासम्मका कुरा सुनेपछि मलाई फेरि लाग्यो– नेपालीले भारत बुझ्न अझै धेरै बाँकी रहेछ। 

सबैले बुझ्ने भाषामा यतिमात्र भन्छु–भारतलाई बुझ्न त्यहाँको राजनीतिक र अलिअलि प्रशासनिक चरित्र मात्र बुझेर पुग्दैन, उच्च र मध्यम स्तरीय भारतीयको चेत, तिनले दुनियाँमा छोडेको छाप र  प्रभाव पनि बुझ्न सक्नुपर्छ। सुन्दर पिचाइ, सत्य नडेला, शान्तनु नारायन, अरविन्द कृष्ण, निकेश अरोरा, सन्जय मेहरोत्रा, अजय बंगा र पराग अग्रवालहरूका दुनियाँमा के प्रभाव छन्? ह्वाइट हाउसमा 'दिवाली' मनाउने अवस्था कसले बनायो भन्ने पनि बुझ्न सक्नुपर्छ। बलिउड, भारतीय कला-संस्कृति र त्यसको प्रभाव पनि बुझ्न सक्नुपर्छ। यस्ता विषयमा आँखा चिम्लेर र फगत राजनीतिक आधारमा गरिने हल्का टिप्पणीको कुनै अर्थ छैन। 

मोदी कति पटक भारतको कस्तो प्रधानमन्त्री बने, त्यो उति महत्त्वपूर्ण होइन, जति भारतको बढ्दो विश्वव्यापी प्रभावको मारमा कसरी नेपाल पनि पर्दैछ भन्ने महत्त्वपूर्ण हो। 

म बसेको अमेरिकी शहर ड्यालसमा केही अघिको एक शुक्रवार एकै दिन प्रकाश सपुत र भारतका बादशाहको कन्सर्ट थियो। म त्यहाँ नेपाल र भारत हेरिरहेको थिएँ। उसो त क्षेत्रफल र भूगोलका आधारमा पक्कै त्यसलाई अनेकौँ व्याख्या गर्न सकिन्छ, तर त्यहाँ जे देखियो, त्यो हाम्रा विश्लेषकहरूको सीमाभित्र पर्नेझैँ लाग्दैन। 

भारतलाई आजको प्रभावशाली भारत बनाएको त्यहाँको राजनीतिले होइन, त्यहाँका मान्छेले हो। ती मान्छे कसरी त्यस्ता भए, जसलाई ह्वाइट हाउसले समेत बेवास्ता गर्न सक्दैन? के यो हिसाब गर्ने ल्याकत नेपाली नेता तथा विश्लेषकहरू छ? मलाई त लाग्दैन। 

भारतमा जो प्रधानमन्त्री आए पनि भारत अर्कै थियो, अर्कै छ र अर्कै  रहिरहने छ। 

के मात्र देख्छु भने– भारतसँगको सम्बन्धको हकमा नेपाली चेत असाध्यै कमजोर, तथाकथित र अस्पष्ट  छ। 

अंग्रेजीमा एउटा गजब शब्द छ– एम्बीभ्यालेन्ट। त्यसको अर्थ एउटै समयमा प्रेम र घृणाको सम्बन्ध। 

ठ्याक्कै यस्तै। 

सम्बन्धमा स्पष्टता नभएपछि व्यवहारमा स्पष्टता हुने कुरै भएन। त्यसमाथि नेपालका प्रधानमन्त्री कुन बेला राजदूत फिर्ता बोलाउने भन्ने समयको सामान्य भेउ पनि  पाउँदैनन्। 

राजदूत को, कहाँ र कहिले भन्ने पनि थाहा नपाउने नेपाली राजनीतिक नेतृत्वले कूटनीतिको डिङ हाँक्नु बेकार हो।