टी२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

काठमाडौँ– भारत आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत ग्रुप-१ बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो। 

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो। 

अब भारतले फाइनल प्रवेशका लागि इंग्ल्यासँग खेल्नेछ। अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए। ४३ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याक्सेवलले २० र टिम डेभिडले १५ रन बनाए। 

भारतका अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिए। जसप्रित बुमराह र अक्षर पटेलले समान १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रनको योगफल बनाएको थियो।

भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए। ४१ बल खेलेका उनले ७ चौका र ८ छक्का प्रहार गरे। त्यस्तै सूर्यकुमार यादवले ३१, शिवम दुबेले २८, हार्दिक पाण्ड्याले २७ र ऋषभ पन्तले १५ रन जोडे। 

अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए भने जोश हेजलवुले १ विकेट लिए।