एशिया कप तेक्वान्दोमा नेपाललाई सात पदक

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राखेपले जनाएको छ।

काठमाडौँ– नेपालले सातौँ एशिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कांस्यसहित सात पदक जितेको छ।

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ खड्काले स्वर्ण जितेका हुन्। पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे।

जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे। नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन्।