अछाम र दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी र कर्णालीका थोरै तथा कोशी, बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुन देशभर सक्रिय भएसँगै बुधबार राति अछामको मंगलसेन, दैलेखको डन्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ।

सो क्षेत्र भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

यसका साथै, गण्डकी र कर्णालीका थोरै तथा कोशी, बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकीसहित देशका पहाडी भू-भागमा पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।