मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। जसका कारण बाढी पहिरो र डुबानको जोखिम बढेको छ।

उदयपुरस्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

उता, चितवन जिल्लाको कल्याणपुर र चर्चरे वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने खोलामा जलसतह केही बढ्न सक्ने सम्भावना छ।

यसका साथै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

राति, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा तथा कोशी, बागमती र गण्डकीका केही स्थानमा भने धेरै भारी वर्षा हुनेछ।