कोपा अमेरिका: उरुग्वे र पानामाको जित

समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।  

काठमाडौँ– कोपा अमेरिका फुटबलमा पानामा र उरुग्वे विजयी भएका छन्। 

शुक्रबार बिहान सकिएको खेलमा पानामाले घरेलु टोली अमेरिकालाई २–१ ले पराजित गरेको छ। ‍जर्जियामा भएको खेलमा १० खेलाडीमा समेटिएको अमेरिकाले २२औँ मिनेटमा शुरूआती अग्रता लिएको थियो। फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

पानामका सिसर ब्ल्याकम्यानले २६औँ मिनेटमा बराबरी गोल गरे। जोसे फजार्डो नेल्सनले ८३औँ मिनेटमा गोल गरेपछि पानामा विजयी भयो। 

यस्तै, सोही समूहको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ५–० ले पराजित गरेको छ। समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।