फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा

पोर्चुगलले पेनाल्टी सुटआउट तथा फ्रान्सले आत्मघाती गोलमार्फत क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।

काठमाडौँ– गएराति भएका खेलमा जित हात पार्दै फ्रान्स र पोर्चुगल युरोकप–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८५औँ मिनेटमा बेल्जियमका भेर्टोंगेनले आत्मघाती गोल गरेसँगै फ्रान्स विजयी भयो। रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो।

यस्तै, गए राति नै सम्पन्न अर्को खेलमा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमार्फत् ३–० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोलरहित बराबरीपछि अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो। तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके। एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहारलाई विफल पारेका थिए।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे। त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे। तर, स्लोभेनियाले सुटआउटमा गोल गर्न असफल रह्यो। पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए। 

अब अन्तिम ८ मा पोर्चुगल र फ्रान्सबीच आउँदो शनिबार सामना हुनेछ।