बराबरी खेल्दै कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा

क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्। 

काठमाडौँ– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

बुधबार बिहान भएको समूह चरणको अन्तिम खेलमा १-१ को बराबरी खेलेपछि कोलम्बिया समूह ‘डी’को विजेता र ब्राजिल उपविजेता बन्दै अन्तिम आठमा पुगेका हुन्।

अमेरिकाको लेभिस स्टेडियममा भएको खेलमा ब्राजिलले शुरूआती अग्रता लिएको थियो। १२औँ मिनेटमा राफिन्हाले फ्रिकिकमार्फत गोल गरेका थिए। 

कोलम्बियाका डेनियल मुनोजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरे। 

अब क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्।