कोपा अमेरिका: इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। 

काठमाडौँ– साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। 

खेलको ३५औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा इक्वेडरले पेनाल्टी सदुपयोग गर्न सकेन। तर इन्जुरी समयमा केभिन रोड्रिग्वेजले बराबरी गोल गरेका थिए। 

शुरूमा पेनाल्टी प्रहार गर्न गएका लियोनल मेस्सी चुके पनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो। इक्वेडरका शुरूका दुई प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले रोकेका थिए।