हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्।
गत महिना दक्षिणी छिमेकी देश भारतमा निर्वाचन भएलगत्तै विजयी गठबन्धनले नयाँ सरकार गठन गर्यो। लगातार तेस्रो पटक सबैभन्दा ठूलो दल चुनिएको भारतीय जनता पार्टी र जनता दल युनाइटेड, तेलुगु देशम पार्टी लगायत सम्मिलित न्यास्नल डेमोक्रटिक अलाएन्सको सरकारको नेतृत्व फेरि पनि नरेन्द्र दामोदरदास मोदीले नै गरे। उनी १० वर्षदेखि भारतको प्रधानमन्त्री छन् र नितिश कुमार वा चन्द्रबाबु नाइडुले साथ दिइरहेको खण्डमा कम्तिमा १५ वर्ष लगालग उक्त पदमा रहिरहने निश्चित छ। सन् २००४ यता भारतीयले दुइटा प्रधानमन्त्रीको मात्र शासन देखेका छन्। भारतभन्दा राजनीतिक-प्रशासनिक संरचना फरक भएको उत्तरी छिमेकी कम्युनिस्ट गणतन्त्र चाइनासँग तुलना अमिल्दो भए पनि एकल पार्टीको वर्चश्व रहेको त्यहाँ पनि सन् २००३ यता दुई व्यक्तिले मात्रै सरकारको नेतृत्व गरेका छन्।
माथिको अनुच्छेदको आशय स्थायित्व नै सत्ता-राजनीतिका सबै समस्याको समाधान हो भन्नु होइन। स्थायी सरकार भएका यी दुई ‘ढुंगा’ समस्या रहित पक्कै छैनन्। पुष्कर मेला लागेझैँ वर्षैंपिच्छे कि प्रधानमन्त्री, कि गठबन्धन फेरिने तलतल बसेको ‘तरुल’मा फेरि उथलपुथल भएको सन्दर्भ जोड्नु यसको एक मात्र उद्देश्य हो। सोमबार मध्यरातको राजनीतिक घटनाक्रमपछि यो सिलसिलाले निरन्तरता पाएको छ र नेपालले नयाँ प्रधानमन्त्री। लगभग।
सन् २००४ देखि नेपालमा १६ सरकार परिवर्तन भए भने सरकारको नेतृत्व १० जनाको आलोपालोमा चल्यो। पछिल्लो समय यो ‘म्युजिकल चेयर’ नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा एमालेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालबीच चलिरहेको छ। यसपटक संसद्का दुई दलबीच भएको सहमतिले काँध फेरिरहन रुचाउने दाहाललाई ओरालेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने बाटो खोलेको छ। समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका प्रधानमन्त्री दाहालले संसद्का दुई ठूला पार्टीलाई पालैपालो ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।
हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्। प्रचण्डको ‘धोका’का समान भुक्तभोगी ओली र देउवाको सत्तासाझेदारीमा आगामी चुनावमा माओवादीलाई साइजमा राख्ने ओलीको चाहना जति प्रष्ट छ, सत्ता हस्तान्तरणमा ओलीको ‘रेकर्ड’ देउवाको आशंकाको कारण पनि बनेको छ।
अर्कोतर्फ, एमालेको समर्थन गुमाएपछि अल्पमतमा परेको हाल सरकारका गृहमन्त्री रवि लामिछनेको पद निलम्बन गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा दुई–दुई न्यायाधीशबीच राय बाझिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर रिट निवेदनमा न्यायाधीशबीच राय बाझिएको हो, र यस कारण अब यो रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।
रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई न्यायाधीशबीच राय बाझिएको न्यायाधीश मल्लले गृहमन्त्रीमाथि पदमै रहेर निष्पक्ष छानबिन गर्न सकिने राय राखेकी छन् भने न्यायाधीश सुवेदीले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने राय व्यक्त गरेकी छन्।
त्यसैगरी सत्तासीन दल नेकपा समाजवादी एकीकृतको १०औँ राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भूसाललाई चयन गरेको छ भने झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। उक्त अधिवेशनमा 'युवा पंक्तिको' रोजाइमा घनश्याम भुसाल देखिए पनि एमालेबाट गरेको विद्रोहलाई वैधता दिनुपर्ने आवाज ठूलो भएकाले अहिलेकै स्थितिमा नेतृत्वमा माधव नेपाल आउने निश्चित प्राय: थियो।
ताजा राजनीतिक अपडेट पछि अब लागौँ साताका अन्य महत्त्वपूर्ण हेडलाइनतिर:
विशेष
उकालो खोज: १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल
खोला, कुलो र पर्तीसमेत १९ रोपनी सार्वजनिक जग्गा हडपेर बनाइएको अश्विन्स मेडिकल कलेजमा अर्बपति व्यापारी उपेन्द्र महतो अध्यक्ष रहेको मेडिसिटी अस्पताल प्रालि सञ्चालित छ।
तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाबाट चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याएको तीन महिना बित्यो। तर सरकारी संयन्त्रहरू त्यसपछि चुपचापझैँ छन्।
समाज
ङावाङ जो लडेपछि उठेनन् मात्र, अरूलाई उठाउँदै आफ्नो उडानको उचाइ लिँदैछन्
काठमाडौँमा सिकेको सीप लिएर सेवा गर्न गाउँ फर्केका थिए ङावाङ। त्यसलगत्तै जंगलमा घाँस काट्न चढेको रुखबाट लडे। पुराना सपना त्यहीँ बिथोलिए पनि उनले नयाँ सपनाको उडान पछ्याए।
‘स.वि.’कै सडकमा मोटरसाइकल हराउने खाल्डा, सामाजिक सञ्जालमा व्यंग्य- प्रिय स.वि. पोलबाट सडकमा झरिदेऊ
सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।
कोरियाबाट गाई आयात : दूध उत्पादनमा सिन्धुलीलाई नमूना बनाउने अभियान
कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।
फेरिँदैछन् काठमाडौँ महानगरका सडकपेटी (भिडियो-कथा)
काठमाडौँ महानगरले सडकपेटी सुधार र मर्मतको अभियान थालेपछि अपांगता भएकाहरूलाई पनि हिँड्न सहज हुँदैछ। तर कतिपय ठाउँमा सडकपेटीमै बनाइएको विभिन्न भौतिक संरचनाका कारण अवरोध कायम छ।
डेंगी संक्रमणले यसपालि झन् ठूलो रूप लिनसक्ने अनुमान, नियन्त्रणको लागि तयारी अवस्थामा छौँः मन्त्रालय
वर्षात्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि सम्भावित सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
महिलाहरूलाई स्वरोजगार बनाउँदै वडा, बोरा र पुराना जिन्सबाट आकर्षक जुत्ताचप्पल
काठमाडाै महानगरपालिका–५ ले फाटेका बोरा र पुराना जिन्सबाट जुत्ताचप्पल बनाउने सीप सिकाएपछि तालिममा सहभागी महिलाहरू स्वरोजगार बनेका छन्। उत्पादित सामग्रीले पनि राम्रै बजार पाएको छ।
अर्थतन्त्र-राजनीति
काठमाडौँबाट अन्तर्राष्ट्रिय हवाई भाडा अचाक्ली, सरकारकै नीतिले पर्यटक बढाउने योजना संकटमा
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर हवाई भाडामा १३ प्रतिशत भ्याटलाई निरन्तरता दिइएपछि चिनियाँ विमान कम्पनीहरूले काठमाडौँ उडान नगर्ने चेतावनी दिएका छन्।
सर्वोच्च अदालतलाई राजनीतिक मुद्दामा भ्याइनभ्याई, नागरिक भने न्याय कुरेको कुर्यै
मुलुकको सर्वोच्च न्यायालयका इजलासहरू धेरैजसो सरकार, राज्य संयन्त्र र दलीय विषय जोडिने राजनीतिक मुद्दामा व्यस्त हुँदा आमनागरिकले अदालतबाट न्याय पाउने आशा भने झन् पछि झन् दुरुह बनिरहेको छ।
खराब कर्जा बढ्दा बैंकहरूको मुनाफा खुम्चियो : शेयरधनीलाई नोक्सान, निक्षेपकर्ता असरमुक्त
आर्थिक गतिविधिमा शिथिलता आउनुका साथै सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी नदिएका कारण उनीहरूले समयमै ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बैंकरहरू बताउँछन्।

१८ तले भ्यु टावरबाट तल... (तस्वीर–कथा)
दमकमा बनेको भ्यु टावर पुग्न अझै पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।
विचार-टिप्पणी
‘टाठाबाठा’ले गाउँ छाड्दा विकास निर्माणमा उत्तरदायित्व अभाव
शहरमा आममान्छे आफ्नै सुसेधन्दा या रोजगारीका लागि व्यस्त हुने गर्दा सार्वजनिक निर्माणमा चासो दिँदैनन् र ठेकेदारले त्यो ‘अवसर’को दुरुपयोग गर्छ।
मेरो सिंगो बाल्यकाल ‘सम्पदा पदयात्रा’मा बितेको रहेछ। वास्तवमा सिनेमामा देखाइने कलात्मक दृश्यजस्तो परिवेशमा म बाँचेको रहेछु। यहाँ सम्पदा र मान्छेको बसोबासलाई छुट्याउने कुनै रेखा थिएन।
रविको ‘किक’ रास्वपाकै डाँडीमा!
प्रश्न र आलोचनाभन्दा पनि गाली र फैसला गर्नेगरी रवि ‘टेलिभिजन एक्टिभिजम्’मा ओर्लिए। पुराना दल र तिनका नेताहरूको अकर्मण्यताबाट आजित नागरिकले उनमा नायक भेट्न थाले, जुन स्वाभाविक थियो।
अन्तर्वार्ता
सिंहदरबारबाट पनि बेथिति उस्तै देख्छु : शिक्षामन्त्री श्रेष्ठ
‘हाम्रो शिक्षा क्षेत्र सन्तोषजनक छैन। अनियमितता, बेथिति, भ्रष्टाचार, दलीय राजनीति व्याप्त छ। यसले गर्दा कानूनले दिएका कुरा पनि लागू भएको स्थिति छैन। यसको थिति बसाल्न हरसम्भव प्रयास गरिरहेको छु।’
‘राजदूत पदमा विशुद्ध कार्यकर्ता भर्ती किन?’
‘राज्यसत्ता र शासन प्रणाली नै फेरिए मात्रै एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारको दलगत संरचना हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको छ।’
कला-सम्पदा
वाङ्देलले उल्लेख गरेको ‘स्टोलन इमेज’ उमामहेश्वर : ५० वर्षपछि स्थानीयको घरपरिसरमा भेटियो
लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।
बुंगमतीमा काष्ठकलाका चौथो पुस्ता सुरेश भन्छन्– फाइन आर्ट्समा डलरभन्दा रूपैयाँ कमाउन गाह्रो
काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
