समाजवाद र समृद्धिको दिनरातको खोक्रो भाषण र नाराले दलका नेता र कार्यकर्तामा त उत्साह भर्दो होला, तर आम जनता साइकलको खोजीमा गाऊँ, शहर र बजार भौँतारिइरहेका छन्।
सन् १९४८ मा इटालीका विटोरियो डी सिकाले एउटा नव–यथार्थवादी सिनेमा बनाए– ‘बाइसिकल थिभ्स’। मुख्य पात्र एन्टोनियो रिक्कीले शहरको भित्तामा पोस्टर टाँस्ने काम पाउँछ, तर जागिरका लागि ऊसँग साइकल हुनु भने अनिवार्य छ। ऊसँग सो साधन छैन। सुत्नलाई तन्ना नै किन आवश्यक छ र भन्दै एन्टोनियोकी श्रीमती मारियाले आफूसँग भएका भएभरका तन्ना बेचिदिन्छिन् साइकल किन्न।
दुर्भाग्य, कामको पहिलो दिनमै एन्टोनियोको साइकल चोरी हुन्छ। साइकलबिना काम छैन र कामबिना घर चलाउने अवस्था छैन। एन्टोनियो आफ्नो छोरा ब्रुनोलाई लिएर साइकलको खोजीमा सारा शहर चक्कर लगाउँछ। अन्त्यमा, हताश एन्टोनियोले भित्तामा ठड्याइरहेको अर्को साइकल देख्छ। निकै बेरको गम्भीर नैतिक दुबिधापछि ऊ स्वयं साइकल चोर्ने प्रयास गर्छ।
विश्वयुद्ध भर्खरै सकिएको समय थियो। महाविनाशको मूल्य प्रत्येकले आ–आफ्नो तरिकाले चुकाइरहेका थिए। बेरोजगारी, मन्दी, गरिबी र निराशाबीच आम मानिस दैनन्दिन जीवनका लागि कसरी संघर्षरत थिए भन्ने शानदार चित्रण छ उक्त सिनेमामा। युद्धको विभीषिकासँग जुझिरहेका केही राष्ट्रबाहेक १९४० को दशकको जस्तो महाविनाश पछिको अवस्था शायद आजका दिनमा अन्त कतै छैन।
तर हरेक देश र समाजका आ-आफ्नै चरित्र हुन्छन्। सामाजिक, राजनीतिक रूपमा र चेतनाका हिसाबले नेपाली समाजले फड्को नै नमारेको पनि हैन, विशेष गरी पछिल्ला केही दशकमा। तर हालैका दिनमा 'साइकल चोर'हरूको बिगबिगी बढेझैँ लाग्छ। आर्थिक उन्नतिका हिसाबले नेपाली समाजले जुन उचाइ र रफ्तार हासिल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन। धनी झनझनै धनी हुने र आम मानिसको जीवनस्तरमा कुनै तात्त्विक सुधार आउन नसकेकोले समाजमा बढिरहेको हताश र निराशा झनझनै स्पष्ट हुँदै गएको छ। त्यसको मुख्य कारणचाहिँ आम 'नेपालीहरूको साइकल' पछिल्ला केही वर्षहरूदेखि 'चोरी' भएको भयै हुनु हो। ऊनीहरूको शिक्षा र स्वास्थ्यसम्म पहुँच सुनिश्चित गर्ने साइकल, आयआर्जन गर्ने साइकल, रोजगारीको साइकल।
सिनेमाको नायक एन्टोनियोलाई साइकल कसले चोर्यो भन्ने यकिन जानकारी छैन। उसले चोर्ने मान्छेसम्म देखेको हो, तर को हो भनेर ठम्याउन ऊ सक्दैन। तर साइकल चोरिने आम नेपालीलाई कसले आफ्नो साधन चोरेको भन्ने थाहा छ। एन्टोनियोको साइकल सायद कुनै अर्को एन्टोनियोझैँ हताश व्यक्तिले बाध्यतामा चोर्यो कि?
तर नेपालमा दुर्भाग्य के छ भने शासनसत्तामा भएकाहरू नै सर्वसाधारणको साइकल चोरी गरिरहेका छन्। जसरी एन्टोनियोको गुनासोलाई प्रहरीले 'कमजोर केस' भनेर खारेज गरिदिन्छ, त्यसैगरी आम नेपालीको साइकल चोरीको 'केस' पनि यहाँ खारेजीमै परिरहेका छन्, किनकि पछिल्ला केही वर्षमा जुन रफ्तारमा संस्थाहरूको क्रमिक क्षयीकरण नेपालमा भएको छ, जनताहरू राज्यबाट पाउनुपर्ने न्यूनतम सेवाका लागि पनि संघर्ष गर्नुपर्ने स्थिति छ।
हद त यो छ कि वरिष्ठ नागरिकहरूलाई राज्यले सुनिश्चित गरेको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न चाहिने साइकल (नागरिकता) पनि राज्य सञ्चालकहरूले एक किसिमले चोरी गरेका छन्। सरकार अब भन्दै छ, "नागरिकता होइन, राष्ट्रिय परिचय पत्र लिएर आऊ।" जबकि त्यो प्राप्त गर्नु आफैँमा अत्यन्तै जटिल र झन्झटिलो प्रक्रिया छ– ‘रुब गोल्डबर्ग मेसिन’ झैँ।
सामाजिक र राजनीतिक परिवर्तनपछि यसका संवाहकहरूले र राज्य सञ्चालकहरूले गर्नुपर्ने मुख्य र महत्त्वपूर्ण काम नै के हुन्थ्यो भने आम नागरिकलाई साइकल– रोजगारको माध्यम, शिक्षा र स्वास्थ्यको माध्यम, अर्थोपार्जनको माध्यम उपलब्ध गराउने। तर नेपाली राजनीतिक दलहरू उल्टो बाटो मात्र हिँडेनन् कि, उल्टै आम नागरिकसँग भएको साइकल चोरी गर्न थाले।
समाजमा व्याप्त बेरोजगारी र निराशालाई नजरअन्दाज गर्दै दलहरू सत्ता समीकरणको फेरबदलमै यति मग्न छन् कि लाग्छ जनसरोकारका विषय उनीहरूको प्राथमिकता नै हैन। नयाँ संविधानपछि दोस्रो, पछिल्लो आवधिक निर्वाचनपछि लागेको थियो, अब मुलुकले प्राप्त राजनीतिक र सामाजिक उपलब्धिहरूको रक्षा गर्दै आर्थिक मोर्चामा लय समाउनेछ। राजनीतिक दल र नेताहरूले वर्षौंदेखि गरिआएको वाचा पूरा गर्नेछन् र आम जनताको स्वास्थ्य, शिक्षा, रोजगारीमा सहज पहुँच बढाउनमा सक्रिय भूमिका खेल्नेछन्।
तर गठबन्धन बनाउने र भत्काउने फोहोरी खेलमा दलहरू यसरी लिप्त भइदिए कि आम जनतासँग भएको जीविकोपार्जनको माध्यम पनि खोसिदिए। समाजवाद र समृद्धिको दिनरातको खोक्रो भाषण र नाराले दलका नेता र कार्यकर्तामा त उत्साह भर्दो होला, तर आम जनता साइकलको खोजीमा गाऊँ, शहर र बजार भौँतारिइरहेका छन्।
दलहरूको आचरण र व्यवहारले आम मानिसको राज्यप्रति बढाएको अविश्वास भने कतिपय प्रतिगामी पक्षपोषकहरूलाई व्यवस्था बदनाम गर्ने एउटा औजार बनेको छ, जुन आफैँ संघर्ष गरिरहेको नेपाली समाजको लागि अर्को खतरा हो।
'बाइसिकल थिभ्स'मा एन्टोनियोले साइकिल चोरी गर्नुभन्दा ठ्याक्कै अगाडिको चित्रण बडो भावपूर्ण छ। साइकलको खोजीमा हिँड्दाहिँड्दै थकित ब्रुनो जब सडकको डिलमा बस्छ, एन्टोनियो शहरतिर हेर्दै हुन्छ। उसको मन उद्वेलित छ। उसका अगाडि सडकको एकातिर स्ट्यान्डमा राखिएका सयौँ साइकल छन्, अनि अर्कोतिर भित्तामा अड्याइएको एउटा साइकल देख्छ ऊ। ऊ पनि ब्रुनोको छेउमा गएर बस्छ। भित्रैदेखि आन्दोलित ऊ त्यहाँ बस्न सक्दैन, फेरि उठ्छ र यताउता नजर दौडाउँछ।
मानिसहरू कामबाट फर्किँदै छन्– कोही पैदल, कोही साइकलमा। ऊसँग दुवै छैन– न साइकल न काम। एकातिर भित्तामा ठिंग उभिरहेको एउटा साइकल अनि अर्कोतिर स्ट्यान्डमा राखिएका सयौँ साइकलहरूबीच उसको मन विभाजित छ। उसकै अगाडिबाट साइकल नै साइकल चढेका मान्छे गुज्रिन्छन्। एकातिर सयौँ साइकल देख्दा ऊ अभिभूत छ र अर्कोतिर एक्लो उभिरहेको साइकलले उसलाई झनझनै व्यग्र बनाउँदै लान्छ।
अचानक मानिसहरू स्ट्यान्डमा राखिएका आ-आफ्ना साइकल लिएर फर्कन थाल्छन्। ऊ फेरि त्यो भित्ताको साइकल हेर्छ। चरम नैतिक दुबिधाको अवस्थामा ऊ अचानक ब्रुनोलाई ‘ट्राम लिएर घर जाऊ’ भन्छ, किनकि उसले साइकल चोर्ने निर्णय गरिसक्यो। तर ऊ आफ्नो 'चोरी'को साक्षी उसको सानो छोरा नहोस् भन्ने चाहन्छ।
हताश एन्टोनियोझैँ निरुपाय नेपाली समाज पनि नैतिक दुबिधामा छ। तथापि आम नेपाली समाजले साइकल नै चोरी गरिहालेको चाहिँ छैन। साइकल चोरिएका आम नागरिकले जसरी संयम कायम राख्न सकेका छन्, त्यो नै आफैँमा अद्भुत छ। भ्रष्टाचारमा लिप्त शासकहरूले आफ्ना 'ब्रुनो'हरूलाई कस्तो शिक्षा दिँदा हुन्, त्यो त थाहा भएन। उदाहरणहरू भलै यदाकदा नसुनिएका त हैनन्, तर आम नेपाली नागरिक भने अझै पनि आफ्ना 'ब्रुनो'हरूकै आँखाअगाडि नै चोरीजस्तो अनैतिक कार्य गर्ने दुस्साहस गरिहाल्दैनन्। र त समाज चरम बेथितिका बाबजुद पनि टिकेकै छ। यो चरम दुबिधाले पैदा गरिरहेको हतासाले कुन बेला कस्तो मोड लिन सक्छ त्यो भने यसै भन्न सकिने अवस्था छैन।
तर आम जनतालाई नै साइकल चोर्न पर्ने अवस्थामा कथम् राज्य सञ्चालकहरूले ल्याइपुर्याए भने समाज, अनि पूरै देश गम्भीर नैतिक संकटमा फस्नेछ, त्यसबाट मुक्ति पाउनचाहिँ निकै गाह्रो हुनेछ। त्यो अवस्थाको जबाफदेही को होला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
