पिउने कालो पानीबारे सुन्नुभएको छ?

अल्कलाइन पानी सन्तुलित रूपमा पिउनु लाभदायक नै हो। तर चिकित्सकको सल्लाहविना अत्यधिक पिउने गरे विभिन्र स्वास्थ्य समस्या देखा पर्नसक्छन्।

तस्वीर : बीबीसी

पिउनयोग्य कालो पानी हुन्छ भनेर सुन्दा धेरैलाई अचम्म लाग्ला। कुनै रङ मिसाएर कालो बनाइएको भने होइन। खासमा कालो पानी पनि सामान्य पिउने पानी जस्तै नै हो, खाँदा खासै भिन्नता हुँदैन।

कालो पानीलाई अल्कलाइन वा अल्कलाइन आयोनाइज्ड पानी पनि भनिन्छ। पानीमा पाइने विभिन्न खनिज पदार्थको मात्रा बढी हुने भएकाले यो पानीको रंग कालो भएको हो।

एभिडेस बेस्ड कम्प्लिमेन्टरी एण्ड अल्टर्नेटिभ मेडिसिन नामक मेडिकल जर्नल ईबीसीएएमका अनुसार जिम वा कडा शारीरिक व्यायामपछि शरीरबाट बढी पसिना बगेमा कालो पानी पिउनु राम्रो मानिन्छ। यसले शरीरमा इलेक्ट्राइट्सको पूर्ति बढाउँछ। साथै, पानी खाँदा शरीरको तौललाई सन्तुलित राख्न मद्दत पुग्नुका साथै शरीरको रसायनिक प्रतिक्रिया समेत राम्रो बनाउँछ।

कालो पानी उत्पादक कतिपय कम्पनीहरूले पीएच लेबल सातभन्दामाथि रहेको अल्कलाइन पानीले जवान रहन समेत मद्दत गर्ने दाबी गर्छन्। तर ईबीसीएएमका शोधकर्ताहरूले आफ्ना प्रतिवेदनमा यो विषय वैज्ञानिक रूपमा सत्य नभएको बताएका छन्। 

हाम्रो शरीरको ७० प्रतिशत हिस्सा पानीले ओगटेको हुन्छ। त्यसैले हामीलाई पानीको कमी भइराख्छ र पर्याप्त मात्रामा पानी पिउनुपर्छ। यसले शरीरलाई सन्तुलित राख्न मद्दत पुग्छ। पानीले शरीरका विकारहरूलाई बाहिरी निकाल्न, तापक्रम सन्तुलित राख्न, विभिन्न अंगमा खनिज र लवण पदार्थ पुर्‍यान तथा खाना पचाउनसमेत पानीको महत्वपूर्ण भूमिका हुन्छ। अल्कलाइन पानीले माथिका काममा फाइदा गर्छ।  

कालो पिउने पानी कस कसलाइ हितकर छ?
कम्पनीहरूले अल्कलाइन पानी बनाउने क्रममा म्याग्नेसियम र क्याल्सियमजस्ता खनिज पदार्थको अधिक प्रयोग गर्छन्। कति कम्पनीले त एसिडिटीको समस्या समाधानसमेत गर्ने दाबी गर्छन्।  

सामान्य पिउने पानीमा खनिज पदार्थहरूको मात्रा कम हुन्छ। जसका कारण कतिपय खनिजको अभावमा बिरामी पर्नसक्छन्। यस्तोमा अल्कलाइन पानी प्रभावकारी हुनसक्छ।

तर सामान्य मानिसले चिकित्सक वा डाइटिसीयनको सल्लाह बिना हरेक दिन अल्कलाइनको धेरै मात्रा लिनु अस्वस्थकर मानिन्छ। सामान्य पानीमा पिएच लेबल ६ देखि ७ हुन्छ भने अल्कलाइन पानीमा सातभन्दा माथि हुने गर्छ। यो भन्नु नै कालो पिउने पानीमा क्षारीय गुण बढी हुन्छ।

जापानको ओसाका विश्वविद्यालयका विशेषज्ञहरूद्धारा सन् २०१८ मा प्रकाशित एक अध्ययनअनुसार अल्कलाइन पानी पाचन क्षमता सुधारमा सहयोगी हुनुका साथै कब्जियतको समस्यासमेत हटेर जान्छ। यस्तै, थोमस जेफरसन विश्वविद्यालयका विशेषज्ञहरूको भनाईमा सामान्य पानीको तुलनामा पिएच लेबल धेरै भएको पानी पिउदा रक्तसञ्चार प्रणाली राम्रो हुन्छ।

तर, यस्ता दाबी गर्नुपूर्व व्यापक अनुसन्धान आवश्यक पर्ने भएकाले भ्रममा नपर्न चिकित्सकहरू सुझाउँछन्।

यो पानीको कुनै खराब प्रतिक्रिया हुन्छ?
अल्कलाइन पानीका धेरै फाइदा नै छन्। तर लामो समयसम्म यो पानी खाए हानीकारक हुने विभिन्न अनुसन्धानहरूमा देखिएको छ।

फिनल्याण्डको टुर्कु विश्वविद्यालयका प्राध्यापक मरिना मर्नले आफ्नो एक अध्ययनमा भनेकी छिन्, कालो पिउने पानीको अत्यधिक प्रयोगले बान्ता हुने र शरीरका अन्य तरल पदार्थको पिएचको स्तरमा समेत फेरबदल आउने समस्या देखा पर्न सक्छन्।

कालो पानीमा फलाम, क्याल्सियमजस्ता खनिजको मात्रा अधिक हुने भएकाले हरेक व्यक्तिको शरीर अनुसार फरक प्रतिक्रिया हुनसक्छ। सन्तुलित रूपमा पिउनु राम्रो हो। तर चिकित्सकको सल्लाह बिना अत्यधिक प्रयोग हानीकारक हुन्छ।

भारतीय बजारमा अल्कलाइन वाटर अर्थात कालो पिउने पानीको आधा लिटरको मूल्य १०० भारतीय रूपैयाँ पर्छ।