बाढीपहिरोमा परी ५ जनाको मृत्यु, ७ बेपत्ता

शुक्रबार रातिदेखिको अविरल वर्षपछि आएको बाढीपहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा परेर बेपत्ता भएकाको खोजी गरिँदै। तस्वीर : कृष्ण न्यौपाने/रासस

काठमाडौँ– अविरल वर्षाका कारण देशभर आएको बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार रातिदेखिको अविरल वर्षपछि आएको बाढी र पहिरोमा परी अहिलेसम्म सात जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए। 

“पहिरामा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुई जना गरी पाँच जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र १४ घाइते भएका छन्,” उनले भने।

बाढीपहिरोका कारण बेपत्ता हुनेहरूमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एक जना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुंगामा दुई जना रहेका सहसचिव भुसालले बताए।