इंग्ल्यान्ड र नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा

नेदरल्यान्ड्सले टर्कीएविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्‍यो। इंग्यान्डले भने स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

काठमाडौँ– इंग्ल्यान्ड र नेदरल्यान्ड्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

शनिबार राति जर्मनीमा भएको अन्तिम क्वार्टरफाइनलमा नेदरल्यान्ड्स टर्कीएविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्दै अन्तिम चारमा पुगेको हो। 

खेलको ३५औँ मिनेटमा समेत अकायदिनको गोलमा टर्किएले अग्रता लिएको थियो। दोस्रो हाफमा नेदरल्यान्ड्सले पुनरागमन गर्‍यो। ७०औँ मिनेटमा स्टेफान डेभ्रिजले गोल गर्दै खेल बराबरी गरे। ७६औँ मिनेटमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्यान्डस् विजयी भयो। 

नेदरल्यान्ड्सले अब सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ। त्यसअघि शनिबार नै भएको तेस्रो क्वार्टरफाइनलमा इंग्यान्डले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। जसमा इंग्ल्यान्ड ५–३ ले विजयी भयो। 

त्यसअघि निर्धारित समयको ७५औँ मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।