जिम्बाब्वेसँगको दोस्रो टी-२० खेलमा भारत १०० रनले विजयी

यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो।

काठमाडाैँ– भारतले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० खेलमा फराकिलो जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाब्वेलाई १०० रनले पराजित गरेको हो।

ओपनर अभिषेक शर्माले ४७ बलमा शतक पूरा गरेका थिए। जसका कारण भारतीय टोलीले २३५ रनको लक्ष्य दिएको थियो। तर जिम्बाब्वेले १८.४ ओभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो। वेस्ली माधेभेरेले सर्वाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाए।

भारतीय बलर मुकेश कुमार र अभेश खानले ३-३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो। अभिषेक शर्माले शतक पूरा गरे। रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो। अब सिरिजको तेस्रो खेल बुधबार हुने छ।

भारतीय टोली र जिम्बाब्वेबीच हालसम्म १० टी–२० खेल भएका छन्। जसमध्ये भारतले ७ पटक जितेको छ भने ३ पटक जिम्बाब्वेले जितेको छ। यस्तै, दुई देशबीच कुल ६६ ओडीआई खेल भएका छन्। जसमध्ये भारतीय टोलीले ५४ पटक जितेको छ। जहाँ जिम्बाब्वे टोलीले १० ओडिआई खेल जितेको छ। दुई टोलीबीच २ खेलमा बराबरी भएको छ।