आफूले उत्पादन गरेको तेल नै अद्वितीय, उत्कृष्ट र जादुमय भएको दाबी गर्नु ग्राहकहरूलाई मूर्ख बनाउन सिवाय अरू केही होइन। कपालका लागि शुद्ध तोरीको तेल वा घिउ प्रयोग गर्दा पनि हुन्छ।
कपाल झर्ने रोगलाई अंग्रेजीमा ‘एलोपेसिया एरियाटा’ भनिन्छ र यो रोग मुख्यगरी प्रतिरक्षा प्रणालीको गडबडीले हुने गर्छ र रोग लागिसकेपछि शरीरका विभिन्न भागका रौँ झर्ने गर्छन् तर विशेषतः असर भने टाउकोको कपालमा प्रखर रूपमा देखिने गर्छ। यो रोग निको हुने/नहुने निश्चित हुँदैन तर पनि केही व्यक्तिहरूमा कपाल पूर्ण रूपमा पुनः पलाएको पनि यदाकदा सुन्न र देख्न पाइन्छ। शरीरको प्रतिरक्षा प्रणालीले कसरी रौँको जरालाई असर गर्छ र कपाल झर्छ भन्ने कुरा वैज्ञानिकहरूले आजसम्म पनि पूर्ण रूपमा बुझ्न सकेका छैनन् र उनीहरू कपाल झर्नुमा आनुवंशिक र वातावरणीय (गैरआनुवंशिक) कारणहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास गर्छन्।
परापूर्व कालदेखि मानिसले आफ्नो आवश्यकता पूरा गर्न बोटबिरुवाहरू प्रयोग गर्दै आएका छन् र ती विशेषतः खाना, औषधि, लत्ताकपडाका रेसा, सौन्दर्यका प्रसाधन जस्ता कुराका लागि प्रयोग गरिन्छन्। यसै गरी संसारका विभिन्न ठाउँमा कपाल झर्ने रोगले आजित भएकाहरूले चिकित्सकले सिफारिस गरेका औषधि र अन्य जडीबुटीमा आधारित उत्पादनहरूको यथेष्ट रूपमा प्रयोग गर्दै आएका छन् र विभिन्न कम्पनीहरूले आ-आफ्ना उत्पादन बिक्री-वितरण गरेर बर्सेनि ठूलो मात्रामा व्यापार गर्ने गरेका छन्।
यसै गरी नेपालमा पनि केही वर्षदेखि ‘सप्तऋषि आयुर्वेद प्रा.ली.’ नामक कम्पनीले ३२ जडीबुटीयुक्त ‘श्रीकेश’ नाम भएको तेलको नेपाली बजारमा व्यापार गर्दै आएको छ। विशेषतः कलाकार र नेताहरूलाई प्रयोग गरी प्रखर रूपमा व्यापारमा उत्रेको यो सप्तऋषि आयुर्वेदले श्रीकेशको अत्यधिक व्यापार गर्यो र केही समय पहिले मात्र यसविरुद्ध विभिन्न सामाजिक संजालहरुमा विज्ञापनमा उल्लेख गरेजस्तो गुणस्तरीय नभएको र ‘कपाल झर्न रोक्ने, नयाँ कपाल उमार्ने, टाउको चिलाउन रोक्ने, चायाँ हटाउने, सिल्की, बलियो र कालो बनाउने’ काम यसले नगर्ने भन्दै बोतलभित्र राखिएका जडीबुटीहरू देखाएर धेरै मान्छेले विरोध गरेको देखियो।
फलस्वरूप: सप्तऋषि आयुर्वेदसँग सम्बन्धित मान्छेहरूले सामाजिक संजालहरुमा भएको विरोधलाई निस्तेज पार्न कहिले पत्रकार सम्मेलन त कहिले विभिन्न संचार माध्यममा आफ्नो उत्पादनको रक्षा गर्न अन्तर्वार्ता दिँदै हिँड्ने गरेका छन्। आज श्रीकेश तेल ३२ जडीबुटीयुक्त गुणकारी तेल हो र यो कपालको लागि उत्तम छ भनेर कम्पनीसँग सम्बन्धित मान्छेहरूले भन्ने गरेका छन् । आफ्नो उत्पादन विधि वेद-पुराणमा आधारित ५ हजार वर्ष पुरानो ‘क्षीर पाक विधि’द्वारा उत्पादन भएको जिकिर गरिरहेका छन् भने अर्कोतिर उपभोक्ताहरूले यो ‘ठगीको धन्दा’ भएको भनेर श्रीकेशको विरोध गरिरहेका छन्। यही सन्दर्भमा मैले कम्पनीले प्रयोग गरेको ‘क्षीरपाक’ विधि र तेलमा प्रयोग भएका तेलका प्रकार र जडीबुटीहरू बारे केही कुरा स्पष्ट पार्ने कोसिस गरेको छु।
३२ किसिमका जडीबुटी र प्रयोग गरिएका तेलको बारेमा खोज्दै जाँदा मैले सप्तऋषि आयुर्वेदको फेसबुक भित्तामा ’३२ प्राचीन जडीबुटी सामग्रीहरू’ को एक पर्चा भेटें र त्यसमा २७ किसिमका जडीबुटीहरू (जम्मा २८ प्रकार तर १ प्रकारको नाम दोहोरिएकाले २७ लेखिएको हो) तस्बिर र सँगै केही स्थानीय अनि वैज्ञानिक नाम उल्लेख गरेको पाइयो। यसका साथै आफू नेपालमा नभएकाले बोतल प्रत्यक्ष रूपमा देख्न नपाएकाले अनलाइन बिक्री गर्ने वेबपेजहरूमा राखिएको विवरणबाट श्रीकेशमा प्रयोग भएका जडीबुटी र तेलका प्रकारका बारेमा पूर्ण विवरण तयार पार्न सफल भएँ।
जम्माजम्मी ३२ होइन ३५ प्रकारका जडीबुटी प्रयोग भएका रहेछन्। सकेसम्म मैले नेपाली वा संस्कृत नाम र कोष्ठमा वैज्ञानिक नाम दिने कोसिस गरेको छु। वैज्ञानिक नाम संसारभरि एउटा हुने हुँदा वनस्पतिको निश्चित पहिचान गर्न सजिलो हुन्छ त्यसैले मैले वैज्ञानिक नाम उल्लेख गरेको छु। तेलमा प्रयोग गरिएका वनस्पतिहरूको नाम निम्न प्रकारका छन्: (१) अमला (एम्ब्लिका अफिलिन्यालिस), (२) इन्द्र जौ वा वन खिर्रो (होलारेना प्युबेसेन्स), (३) कपुर कचरी वा सेतो सरो (हेडाइकिअम स्पिक्याटम), (४) कालो वा कृष्ण सरिवा (क्रिपटोलेपसिस बुखानानी), (५) कालोन्जी (नाइगेला स्याटिभा), (६) कुश (क्राइसोपोगन जिजानिओइड्स), (७) गुढल वा घन्टी फूल (हिबिसकस रोजा-साइनेन्सिस), (८) गुलाबको फूल (कुनै रोजा प्रजातिको फूल), (९) चिम्री वा बाबुल वा राती गेडी (आकाशीय निलोटिका), (१०) जटामसी (नारडोस्टाकिच जटामासी), (११) जेठी मधु (ग्लाइसिरिजा ग्लाब्रा), (१२) तेजपात (सिन्यामोम तमला), (१३) दबदबे (सिम्पोकस रेसिमोसा), (१४) दारुहरिद्र वा बाह मासे चुत्रो (बर्बेरीस एरिस्टाटा), (१५) धनिया (कोरिअन्डरम स्याटीभम), (१६) निबुवा (सीट्रस लिमोन), (१७) नीम (अजाडिर्याक्टा इन्डीका), (१८) पलाँस वा पलाँस फूल (ब्युटीया मोनोस्पर्मा), (१९) पैयुँ (प्रुनस सिर्यासोइडीस), (२०) बयर वा जुजुबे फल (जिजिपस प्रजातिको कुनै फल), (२१) बर वा बनयान रुख (फिकस बेन्गालेन्सिस), (२२) बाकुची (सोरालीय कोरिलीफोलिया), (२३) ब्रह्मी वा मेधा गिरी (ब्याकोपा मोनिरी), (२४) भृगराज (इलिपटिका अल्बा), (२५) मजिठो (रुबिया मुन्जिथ), (२६) महारंगी (आर्नेबीया बेन्थामी), (२७) मेथी (ट्रिगोनेला फोएनम-ग्रेसियम), (२८) मेहेन्दी पात (लसोनिया इनर्मिस), (२९) मोथे (साइपेरस रोटुन्डोस), (३०) सति (कुर्कुमा जिओडियारिया), (३१) सिकाकाई (आकाशीय रुगाटा), (३२) सियाले वा ढुङ्गा फूल (पार्मेलिया पारिष्टा), (३३) सुकमेल (इलेटारिया कार्डमम), (३४) सेतो चन्दन (स्यान्टलम अल्बम) र (३५) हर्रो (टरमीन्यालिया चीबुला)।
तेल भने ६ किसिमका वनस्पतिहरूबाट निकालेर प्रयोग गरेको पाइयो र ती हुन्: (१) आर्गन तेल (अर्गानिया स्पिनोसा), (२) टी ट्री तेल (मेललेउका अल्टरनिफोलिया), (३) तिलको तेल (सेसमम इन्डिकम), (४) पिपरमिन्ट तेल (मेन्था आर्भेन्सिस), (५) फर्सीको बियाँको तेल (कुकुरबीटा प्रजातिको बियाँ) र (६) रोजमेरी तेल (रोजमेरिनस अफिसिनालिस)।
सर्वप्रथम श्रीकेशले ‘क्षीर पाक विधि’ प्रयोग भएको दाबी गरेको छ। संस्कृतमा ‘क्षीर’ भनेको ‘दूध’ र ‘पाक’ भनेको ‘प्रशोधित’ हो, त्यसैले ‘क्षीर पाक विधि’ भन्नाले सामान्यतया जडीबुटी दूधमा उमालेर बनाइएको औषधीय गुण भएको लेदो वा रस हो। यो लेदो वा छानिएको रस विभिन्न किसिमका तेलमा मिसाएर प्रयोग गर्दा कपाललाई फाइदा गर्छ। यसो गर्दा दूधले आर्द्रता प्रदान गर्दछ (जसलाई अंग्रेजीमा मोइस्चराइजर भनिन्छ) र जडीबुटीहरूले छालामा हुने कीटाणु र ढुसीलाई (माइक्रोब वा फंगस) निर्मूल गर्छन्।
तर कम्पनीले दाबी गरिएको क्षीर पाक विधि अपनाएको देखिँदैन किन कि क्षीर पाक विधिबाट उत्पादन गरिएका अन्तिम सामग्रीमा सिङ्गै वनस्पति हुने गर्दैनन् जो श्रीकेश बोतलमा भेटिन्छन्। अर्को कुरा सप्तऋषि आयुर्वेद प्रा.ली.ले उत्पादन विधि भनेर युटुबमा राखिएको श्रव्यदृश्यमा ‘क्षीर पाक विधि’ देखाइएको छैन। श्रव्यदृश्यमा केवल के देखाइएको छ भने उत्पादन कम्पनीले ‘विभिन्न प्रकारका जडीबुटी संकलन गर्ने, सरसफाइ गर्ने, पानीमात्र १० प्रतिशतभन्दा कम गर्न ४५ डिग्री तापक्रममा करिब ३ घण्टाससम्म राख्ने र तिनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बोतलमा राखी ती बोतलहरूमा विभिन्न किसिमका तेल भर्ने’ गरेको कुरा उल्लेख छ।
दाबी गरेजस्तै ती जडीबुटीमा कपाललाई पोषण तथा सुरक्षाको लागि आवश्यक पर्ने पोषक तत्त्व होलान्, तर अप्रशोधित रूपमा ती जडीबुटी प्रयोग गर्दा कति प्रभावकारी हुने गर्छन् भन्ने तथ्य न उक्त श्रव्यदृश्यमा वा न त बोतलसँग छुट्टै कागज नै राखिएको छ। यथेष्ट वैज्ञानिक प्रमाणविना उत्पादन गरिएको यो तेल कतै पढेको वा सुनेको वा भारतीय बजारमा पाइने आयुर्वेदिक तेलको नेपाली संस्करण भएजस्तो महसुस हुने हुँदा उत्पादन विधिमा नै प्रश्न चिन्ह उठाउने प्रशस्त ठाउँ देखिन्छ।
सप्तऋषि आयुर्वेद प्रा.ली.का म्यानेजरले ‘हामीले प्रयोग गरेका वनस्पतिको गुणबारे गुगल गरेर हेर्नुस् र विभिन्न वनस्पतिको प्रयोग वैज्ञानिक रूपमा प्रमाणित छन्’ भनेजस्तै मैले माथि उल्लेखित वनस्पतिहरूको बारेमा परम्परागत र विभिन्न पुस्तकमा उल्लेख भएका प्रयोगबारे जानकारी संकलन र वैज्ञानिक अनुसन्धान गरी लेखिएका लेखहरू केलाउने कोसिस पनि मैले गरेँ। तिनीहरूबारे संक्षिप्त रूपमा मैले तल उल्लेख गरेको छु।
के सप्तऋषि आयुर्वेद प्रा.ली.ले प्रयोग गरेका वनस्पति सबै अचुक जडीबुटी हुन् त? अवश्य होइनन्। ठाउँ विशेषअनुसार संसारमा विभिन्न किसिमका वनस्पति पाइने हुनाले विभिन्न ठाउँमा विभिन्न किसिमका जडीबुटी प्रयोग गरिन्छन् र तिनको आआफ्नै विशेषता हुने गर्दछ। फ्र्यांक सी रोया (१९६६) को ‘द युज अफ प्लान्ट्स इन हेयर एन्ड स्काल्प प्रीपरेसन ‘ लेखका साथै कल्याणी बर्वे र अपूर्व दिघेको ‘द केमेस्ट्री एन्ड एप्लिकेसन्स अफ सस्टेनेबल न्याचुरल हेयर प्रडक्टस्’’ किताब केलाउँदा संसारभरि कपालमा प्रयोग गरिने वनस्पतिको संख्या करिब १ सयको हाराहारीमा रहेछन्। ती वनस्पतिहरू आवश्यक पर्ने तेल, कपालको लागि रंग, कपालको ड्रेसिङ, स्याम्पु, औषधि उत्पादन र औषधि सम्मिश्रणका रूपमा प्रयोग गर्ने गरिने रहेछन्।
इतिहास खोतल्ने हो भने टाउकोमा तेल लगाउने परम्पराको थालनी करिब इशापूर्व ३५ सय वर्ष पहिले इजिप्टका राजाहरूले सुरुवात गरेका तथ्य पाइन्छ। यदि कपाल कमजोर हुन गई झर्न थालेको अवस्था पहिचान गरी उक्त क्षतिलाई उल्टाउन कपालको पोषणलाई पुन:स्थापित गर्नुपर्दछ। यसका लागि टाउकोमा रक्तसञ्चार बढाएर र बाहिरी पोषक तत्त्वहरू प्रदान गर्ने तेलले मालिस गर्ने गरिन्छ। यसरी कपालको तेलमा समावेश गर्न सकिने विभिन्न जडीबुटीको प्रयोग गरेमा तिनीहरूको लाभदायक प्रभाव हुन्छ। श्रीकेश तेलमा सम्मिश्रण गरिएका ६ किसिमका तेलबाहेक अन्य ३५ जडीबुटीहरूको पनि तेल वा रस निकाली मिसाएमा अवश्य पनि कपालका लागि ठूलो फाइदा पुग्छ।
विभिन्न तेलले ‘मोइस्चराइजर’ को रूपमा काम गर्नुका साथै कपाल चिलाउने र सुख्खा हुने स्थितिबाट मुक्त गर्ने, चायाँ काम गर्ने, कपाललाई बलियो बनाउने र कपालमा चमक ल्याउने हुनाले नै हामीले परम्परागत रूपमा तेलको प्रयोग गर्ने गरेका छौँ। तेल उत्पादक कम्पनीहरूले यही कुरा उल्लेख गरेका हुन्छन्। मोटामोटी रूपमा जुनसुकै तेलको काम उस्तै भए पनि कुनै तेलले शिरको दुखाइ कम गर्ने वा तेललाई वासना प्रदान गर्ने काम पनि गर्छन्।
माथि उल्लेखित तेल बाहेक धेरै प्रकारका तेल प्रयोग हुने गर्छन्। उदाहरणको लागि लसुन, प्याज, धान, मकैजस्ता खानामा प्रयोग हुने कुराहरूबाट निकालिएका तेल पनि कपालका लागि पौष्टिक तत्त्व हुने तथ्य सर्वत्र पाइन्छन् र ती तेल बजारमा यथेष्ट रूपमा किन्न पाइन्छन्। तर कुनै पनि कम्पनीले आफूले उत्पादन गरेको तेल नै अद्वितीय, उत्कृष्ट र जादुमय भएको दाबी गर्नु ग्राहकहरूलाई मूर्ख बनाउन सिवाय अरू केही होइन। सकिन्छ भने शुद्ध तोरीको तेल वा घिउ प्रयोग गर्दा पनि हुन्छ र मानिसले संचारमाध्यममा देखिने आकर्षक विज्ञापनबाट उत्प्रेरित भई बजारमा पाइने तेल प्रयोग गर्न छोड्न पर्छ।
आफू बस्ने गुफाहरूमा चित्र कोर्नुको साथै मानिसले आफ्नो आफ्नो शरीरसँगै कपाल पनि रङ्गयाउनु एक सौन्दर्य उपचार हो र यसको अभ्यास २ हजार पहिले नै चलाइएको थियो भन्ने तथ्यहरू अनुसन्धानहरूले पत्ता लगाएका छन्। माथि उल्लेख भएका चिम्री वा बाबुल वा राती गेडी, महारंगी, भृगराज, मेहेन्दी पात, सियाले वा ढुङ्गा फूल र सिकाकाईजस्ता वनस्पतिहरूले कपाललाई कालो, रातो वा सुनौलो रङ्गले रङ्गाउन मद्दत गर्छन्। चिम्री वा राती गेडीले रातो वा खैरो रङ्ग प्रदान गर्नुका साथै केही मात्रामा चायाँ बढाउने ढुसीलाई निर्मूल पार्न सहयोग गर्छ। महारंगीले रातो रङ्ग प्रदान गर्नुका साथै यसमा ‘एन्टिमाइक्रोबियल’, ‘एन्टिअक्सिडेन्ट’ र घाउ निको गराउने गुण हुन्छन्।
तर सन् २०१८ मा लतिफ अहमद र उनका साथीहरूले गरेको एक अध्ययनले महारंगीमा चार किसिमका विषाक्त रसायनहरू (लाइकोप्सामाइन, इचिमिडाइन, एकिमिडिन र हेलियोट्राइन) भएको पत्ता लगाएको तथ्य उल्लेख गरेका छन्। शरीरको बाहिरी भागमा प्रयोग गर्दा केही नहुने तर यदि ती रसायनहरू निलिएमा कलेजो खराब गर्न पनि सक्छ भनेर उनीहरूले सचेत गराएका छन्। भृगराजले कालो रङ प्रदान गर्नुको साथै कपाल वृद्धि गर्छ र कपालका जरामा ‘केराटिन’ जस्तो तत्त्वलाई वृद्धि गरी सेतो हुनबाट रोक्छ।
मेहेन्दी पातले रातो रङ र सिकाकाईले हल्का कालो रङ दिनुका साथै कपाललाई चिल्लो, पोषण युक्त र चम्किलो कपाल बनाउन मद्दत गर्छन्। सियाले वा ढुङ्गा फूलले हल्का कालो वा खैरो रङ्ग प्रदान गर्छ। यीबाहेक विभिन्न उत्पादक कम्पनीहरूले ओखरका फल तथा बोटका बोक्रा र रणजोतजस्ता धेरै बोटबिरुवाहरू प्रयोग गर्ने गर्छन्। यद्यपि सप्तऋषि आयुर्वेदका म्यानेजरले ‘राती गेडीका दाना र अन्य बोटबिरुवामा पाइने रसायन तत्त्वहरू श्रीकेशमा सम्मिश्रण गरिए ती रसायन आफै तेलमा घुल्न गई कपाललाई अत्यन्त फाइदा हुन्छ’ भनेर दाबी गर्नु अतिशयोक्ति नै हो।
यदि केही मात्रामा भए पनि प्रशोधन गरेर तेलमा मिसाएको भए फाइदा पुग्थ्यो होला तर कच्चा रूप हानिकारक वा प्रभावहीन हुन पनि सक्छन्। उदाहरणको लागि विभिन्न प्रजातिका विष नामका वनस्पतिहरू आयुर्वेद वा अन्य उपचार पद्धतिमा व्यापक प्रयोग गरिन्छन् र तिनीहरू विशेषतः विषालु हुन्छन्। यस्तै एक अर्को वनस्पति लौठ सल्लाबाट ‘ट्याक्सोल’ नामक रसायन क्यान्सरजस्तो भयानक रोगको उपचारमा प्रयोग गरिन्छ । तर यी विष र लौठ सल्लाले फाइदा पुर्याउँछन् भन्दैमा अप्रशोधित रूपमा प्रयोग गरेमा सहजै जो-कसैको पनि ज्यान जान्छ। अतः तिनीहरूको प्रशोधन जरुरी छ।
टाउको छाला र कपाल सफा गर्ने कुरालाई हामीले ‘स्क्याम्पू’ र ‘कन्डिसनर’ भन्ने गर्दछौं र यिनले फिँज निकाल्नुका साथै जुम्रा मार्ने, चायाँ हटाउने, छाला र कपाललाई सुक्खा हुन् जोगाउने, रौँका जरा मजबुत गर्ने र टाउकोको घाउ निको पार्ने गुण भएका केही जडीबुटीहरू श्रीकेश तेलमा सम्मिश्रण गरिएका छन्। ती अमला, इन्द्र जौ, कपुर कचरी, कृष्ण सरिवा, कालोन्जी, घन्टी फूल, गुलाबको फूल, जटामसी, जेठी मधु, तेजपात, दबदबे, (दारुहरिद्र, धनिया, निबुवा, नीम, पलाँस वा पलाँस फूल, पैयुँ, बयर वा जुजुबे फल, बनयान रुख, बाकुची, ब्रह्मी मेथी, मोथे, सति, सिकाकाई, सुकमेल, सेतो चन्दन र हर्रो हुन्।
यी बोटबिरुवाहरू धार्मिक रूपमा वा परम्परागत रूपमा अत्यन्त उपयोगी छन् भन्ने उल्लेख गरेका पाइन्छन्। यद्यपि ती बोटबिरुवाहरूको यथेष्ट वैज्ञानिक रूपमा परीक्षण गरेको प्रमाण पाइएन। विभिन्न अनुसन्धानात्मक लेखहरूमा केही मुसाहरूमा प्रयोग गरेको उल्लेख भए ता पनि मान्छेमा पूर्ण रूपमा परीक्षण गरिएका भेटिएनन्। आमसंजालहरुमा ‘तेजपात कपालमा लगाउनै नहुने’ भन्ने होइन तर त्यसको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ।
हचुवाको भरमा कम्पनीका मान्छेले अब "जाऊ, ग्रन्थहरू वेद र पुराणहरूमा हेर, गुगलमा खोज, हामीले प्रयोग गरेका जडीबुटीहरू उच्चतम हुन्, सही छ’ भन्नु ठिक होइन। कुनै पनि जडीबुटीयुक्त उत्पादनलाई कसैले पनि अमृत झैँ प्रस्तुत गर्नु हुन्न अन्यथा तिनीहरूको प्रयोग पछि उल्टो प्रभाव हुन सक्छ।
कपाल झर्न मुख्यगरी प्रतिरक्षा प्रणालीको गडबडीको कारणले हुने हुनाले यदि पूर्ण रूपमा कपाल झरेको छ भने रौँका जरा मरी सकेका हुन्छन्। त्यस्तो अवस्थामा रौँको प्रत्यारोपण (ट्रान्सप्लान्ट) नगरी सुखै छैन। यदि कपाल अलि अलि झरेको, पातलो भएको वा झर्ने क्रम बढिरहेको अवस्थामा श्रीकेश मात्र होइन जुनसुकै तेल लगाउँदा पनि ‘कपाल झर्न रोक्ने, टाउको चिलाउन रोक्ने, चायाँ हटाउने, सिल्की, बलियो र केही हदसम्म कालो बनाउने’ जस्ता फाइदा नै पुग्छ।
फेरि अर्को तथ्य के भने विभिन्न तेलले टाउको मात्र होइन, शरीरमा मालिस गर्दा शीतलता प्रदान गर्ने, दुखाइ कम गर्ने अनि छाला र कपाल चम्किलो नै गर्छन्। त्यसैले सप्तऋषि आयुर्वेद प्रा.ली.ले उत्पादन गरेको श्रीकेश तेलले ‘नयाँ कपाल उमार्ने’ गुण भएको भन्नु उपयुक्त होइन किनभने आजसम्म कुनै पनि जडीबुटीको उपचारले टाउको कपाल पुनः उमार्न सक्छ भन्ने तथ्य विज्ञानले प्रमाणित गर्न सकेको छैन। त्यसैले सप्तऋषि आयुर्वेद प्रा.ली.ले आफूलाई सुधार्न जरुरी छ। साँच्चै ‘क्षीर पाक विधि’ उपयोग गर्न जरुरी छ। प्रयोग गरिएका सबै जडीबुटीका पूर्ण नामहरू लेखिएका छैनन्। अप्रशोधित रूपमा जडीबुटीहरूको प्रयोग होइन, प्रशोधित रूपमा प्रयोग गर्न जरुरी छ। प्रशोधित रूपमा तेल वा रस दुवै प्रयोग गर्न सकिन्छ।
यसबाहेक सप्तऋषि आयुर्वेद प्रा.ली.ले प्रकाशन गरेको ‘३२ प्राचीन जडीबुटी सामग्रीहरू’ को पर्चामा ‘इलिपटिका अल्बा’ दोहोरिएको छ। केही जडीबुटीका वैज्ञानिक नाम नै अद्यावधिक गरिएको छैनन्, केवल पुराना नामहरू मात्र प्रयोग गरिएका छन्। यी कमी-कमजोरी नसच्याई ‘नेपालीले हामीलाई गरी खान दिएनन्’ भनेर मिडियामा रोइलो गर्नुको सट्टा सम्बन्धित व्यक्तिहरूले अलि अध्ययन-अनुसन्धान गरेर आफूले प्रयोग गरेका जडीबुटीहरूको पूर्ण प्रयोग, फाइदा र दोषको अभिलेखीकरण गर्न जरुरी छ।
आशा गरौँ श्रीकेश उत्पादन गर्ने सप्तऋषि आयुर्वेद प्रा.ली.ले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नुको सट्टा समयमै आफ्नो कमजोरी सच्याउला। यसो गरे व्यापार दिगो हुन्छ अन्यथा यो कम्पनीको पतन निश्चित छ। कुनै पनि व्यापार-व्यवसाय गर्दा सम्बन्धित मान्छेले कहीँ न कहीँ कुनै निश्चित मात्रमा धनराशि लगानी गरेर कारखाना स्थापना गरी कुनै न कुनै व्यक्तिलाई रोजगारी दिए कै हुन्छ।
त्यसैले "मैले यति लगानी गरें, स्वदेशमा उद्योग खोलेँ, यति-उतिलाई रोजगारी दिएँ, गरी खान दिएनन्" भनेर दिन दुई गुणा, रात चौगुनाको रूपमा आम्दानी गर्ने हेतुले सप्तऋषि आयुर्वेद प्रालीले भावनात्मक ‘ब्ल्याकमेल’ गर्न छोड्नुपर्छ। आवश्यक पर्ने अत्यधिक उन्नत प्रविधि प्रयोग गरी आफ्ना गुणस्तरीय उत्पादन लिएर बजारमा आक्रामक रूपले जानुपर्छ। आशा छ-सप्त ऋषि आयुर्वेद प्रा.ली.लाई आफ्ना ग्राहकहरूले देखाएको कमी-कमजोरी वरदान साबित होस्, तिनीहरूको गुनासाहरू भयानक हुरी-बतास भई कम्पनी र श्रीकेश तेललाई नउडाओस्। तेलमा प्रयोग गरिएको कुनै जडीबुटी हानिकारक छ भने उल्लेख गर्नु पर्छ। यसका साथै प्रत्येक जडीबुटीको कति ग्राम वा मिलिग्राम सहितको मात्रामा प्रयोग भएको छ भनेर उत्पादक कम्पनीले प्रत्येक उत्पादित बोतलमा स्पष्टसँग उल्लेख गर्नु पर्छ।
आवश्यक परे छुट्टै जानकारी मूलक कागज राख्नु पर्छ। तर श्रीकेश तेलमा त्यो उल्लेख गरेको पाइँदैन। जुन आम प्रचलित परम्परा र कानुनविपरीत छ। अन्त्यमा सप्तऋषि आयुर्वेद प्रा.ली. आफू सुध्रिनुको विकल्प छैन र सरकारी नियामक कार्यालयहरूले पनि प्रा.ली.को पूर्ण निरीक्षण र आवश्यक भएमा उपयुक्त दण्ड वा पुरस्कारको व्यवस्था गरी आम नेपालीको स्वास्थ्यमाथि भई रहेको हचुवा युक्त व्यापार सच्याउन पर्छ। आफ्नो उत्तरदायित्व देखाउन पर्छ। अन्यथा सक्नेले ‘धमिलो पानीमा माछा मारी रहन्छन् र उपभोक्ता गुणस्तरीय सामान प्रयोग गर्नबाट विमुख भइरहन्छन्।'
(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट,चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
