ललित स्मृति एन्फा यू–१८ युथ लिगको पुरस्कार राशि घोषणा

यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताको लागि एक लाख रुपैयाँ पुरस्कार राशि तोकिएको छ।

‍काठमाडौँ– अखिल नेपाल फुटबल संघको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

बुधबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले एक लाख तथा उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिने घोषणा गरे। उनका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ।

संयोजक खतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिए।

यही असार ३० गतेदेखि शुरू हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन्। उक्त खेल दिउँसो १ बजे शुरू हुनेछ। 

प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी मनाङ मर्स्यांदी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ।