‘स्व’ आफैँ निर्माण हुन्छ या त्यसमा समाजको भूमिका रहन्छ?

अध्यात्मको व्याख्यामा वेदान्त ठीक कि बौद्धदर्शन ठीक? त्यसको तर्क या व्याख्या खै? आध्यात्मिक हुनु भनेको वैराग्य धारण गर्नु या गृहस्थ त्याग्नु हो या सहचर्यामा पनि आध्यात्मिकता सम्भव छ?

नदीमा देखिएको आफ्नै प्रतिविम्बले जिस्क्याउँदै सोध्यो उसलाई,‘ए मनुवा! भन त तिमी को हौ?’ उसले रत्तीभर नि ढिलो नगरीकन जवाफ दियो, ‘कृत्रिमताका सम्पूर्ण पत्रहरू उतारिसकेपछि जे बाँकी रहयो, त्यो मात्र म हुँ! बाँकी त सबै तपसिलका कुराहरू हुन्!’

सरस्वती प्रतीक्षाले आफ्नो उपन्यास ‘स्व’मार्फत व्यक्तित्व निर्माणबारे जारी गरेको ताजा परिभाषा हो यो!

लेखन, प्राध्यापन, वकालत, रेडियोकर्म, उत्प्रेरक, जग्गा जमिन कारोबारी: एक होइन, अनेक काममा लिप्त सप्तमसँग कोही अपरिचित आमनेसामने हुन्छ र माग्छ उसको ‘भिजिटिङ कार्ड’। तब सप्तमको स्वपहिचानमा ठूलो संकटकाल लाग्छ, बहुबिधामा अभ्यस्त सप्तम कुनै पनि काममा असफल छैन तर ‘असफल नहुनुको अर्थ सफल हुनु पनि त होइन’ रहेछ! 

सफलता वा असफलताको तुलोमा आफैँले आफैँलाई बारम्बार टोकस्नुका पछाडि सप्तमको चेतन र अवचेतन दुवै मन सक्रिय छ। सप्तमलाई बेचैन बनाउने, उसको बर्तमानको भागमभाग जीवनशैली र नमिठो बाल्यकाल दुवै हुन्।

प्रविधिले उपलब्ध गराएका अनेकन् सुविधाको सुखमा बाँचिरहँदा झन् एक्लो र मनोवैज्ञानिक विचलनमा छ ऊ। सुख, शान्ति र मुस्कानसँग दूरी बढ्दै छ। धेरै चिज भईकन पनि आफूसँग के–के छ थाहा नहुनु, धेरै थरीका काम गरे पनि आफ्नो खास रुचिको काम कुन हो स्पष्ट नहुनुको ‘पहिचान संकट’ सप्तम रुमल्लिन शुरू गरेसँगै स्पष्ट हुन्छ। 

उपन्यासमा शुरूआती ट्विस्ट ‘शुभचिन्तक’को नामबाट प्राप्त हुने हरियो चिठीले ल्याउँछ। हरियो पत्र प्रेषकको खोजी गर्दैगर्दा ऐनामा सप्तम र पत्र प्रेषकको अनुहार एउटै देखिन्छ। चेतन र अवचेतन मनको भीषण द्वन्द्व देखाउने यो न्यारेटिभ निकै रोचक छ। ‘स्ववास्तविकता’को खोजमा उत्पन्न अन्तर्द्वन्द्व उपन्यासको मूल विषय हुनु सुन्दर प्रयोग हो। सपनामा दोहोरिइरहिरहोस् अथवा व्यक्तित्व निर्माणका रूपमा बाल्यकालको स्मृति सबैभन्दा शक्तिशाली हुनु नैसर्गिक रहेछ।

उपन्यासकार नयनराज पाण्डेले कुनै सन्दर्भमा भनेका छन्, "जीवनको अधिकांश हिस्सा काठमाडौँमा बित्यो तर मैले बचपन बिताएको नेपालगन्जको सेरोफेरोजस्तो लेखनको भावभूमी अर्को हुन सकेन।" आफ्नो बचपनको कुनै खास घटनालाई रोचक र कलापूर्ण तरिकाले ‘घामकिरी’ उपन्यासमा उतारेका हिसाबले नयनराजको उक्त दाबी पुष्टि हुन्छ। तर बचपन सम्झनामा आइरहनु र बचपनकालीन घटनाले व्यक्तित्वमै असर गर्नु फरक कुरा हो।

‘स्व’मा सप्तमलाई उसको बचपनले पछ्याएको मात्र छैन, सप्तमको ‘दोहोरो चिनारी’ खडा गर्नसमेत उक्साएको छ। सप्तमको यही मल्टिपल पर्सनालिटी डिसअर्डर नै स्वभित्रको शक्तिशाली द्वन्द्व हो।

मल्टिपल पर्सनालिटी डिसअर्डर अथवा स्प्लिट पर्सनालिटी डिसअर्डरजस्तो एउटै व्यक्तिमा दुई वा दुईभन्दा बढी चरित्र सवार हुने मनोवैज्ञानिक असन्तुलनमा अल्झिएको सप्तमको चरित्रलाई आधार बनाएर सप्तम र काव्यासँग जोडिन आउने उपक्रममा आख्यानलाई  विकास गर्न सकिने आधार थियो।

अजय देवगण अभिनीत ‘दिवानगी’ हिन्दी सिनेमामा जसरी ‘स्प्लिट पर्सनालिटी’वाला मनोविकारको एउटा सन्दर्भसहित द्वन्द्व निर्माण गरेर द्वन्द्वको उत्कर्ष तय गरेको थियो, त्यस्तै किसिमको व्याख्यात्मक द्वन्द्व तय गर्न सक्ने सुविधा उपन्यासकारमा थियो, तर आख्यान त्यस्तो द्वन्द्वमा पस्दैन।

बरु आफ्नो प्राक्कथनमा उपन्यासकारले दाबी गरेझैँ उपन्यासमा दार्शनिक, आध्यात्मिक रुझान र क्वान्टम फिजिक्सको ‘अनिश्चितता’ सिद्धान्तको सेरोफेरोमा सप्तम र काव्यालाई अनुरक्त गराउने कोशिश गरेकी छन्।

मध्यान्तरसहित पूर्वार्ध र उत्तरार्ध खण्डमा स्वको ‘फिक्सन डिजाइन’ गरिरहँदा ‘उद्वेग’ खण्डमा जब उपन्यास पुग्छ, त्यहाँ अध्यात्म, क्वान्टम फिजिक्स र स्वैरकल्पनाको छिपछिपे त्रिवेणी भेटिन्छ।

श्वासै फेर्न मुस्किल हुने गरी ‘प्यानिक अट्याक’ भएको सप्तम अस्पताल जान मान्दैन। सप्तमले बारम्बार ‘जुन शरीरमा पीडाको हुरी चलेको छ, उक्त हुरीको मापन गर्ने ब्यारोमिटर र सहन गर्ने क्षमता पनि सोही शरीरले अन्दाज गरिबसेको हुन्छ’ भन्ने खालको अड्डी लिएपछि काव्याले ‘ॐ’ ध्वनि सुनाउँछिन्। त्यसको प्रभावले सप्तमलाई सहज हुन्छ। काव्या विज्ञानको विद्यार्थी भए पनि उनलाई वेद र पुराणका कतिपय कुरा विज्ञानको पहुँचभन्दा पर लाग्छ। पुस्तकमा अध्यात्म, स्वैरकल्पना र क्वान्टम फिजिक्सलाई प्रत्यारोपण गर्न खोजेको देखिन्छ। 

प्राक्कथनमा फर्कौं। प्रतीक्षाले ‘अभिमान’का साथ भनेकी छन्, “अनुभव, अनुभूति र बोधले मलाई अब तैँले फिलोसोफिकल उपन्यास लेख्न शुरू गर भन्यो र म स्व उपन्यास लेख्न बसेँ।” उपन्यासकारको यो कथनका आधारमा सोझो पठन अनुमान थियो, उपन्यासले  मध्यान्तरपछि बुद्ध दर्शन र क्वान्टम फिजिक्सको लिकमा नारिएर पूरापुर दार्शनिक गति समाउने छ। उपन्यासले अलिअलि दार्शनिक कलेबर त समाउँछ, तर व्याख्या र विश्लेषण गहिरो तहमा भने आएको छैन।

हामीले फरक फरक स्वरूपमा सुन्दै र पढ्दै आएका आममान्छेका दुःखभरी कथामार्फत नै जादुमयी यथार्थ र दर्शनलाई जोड्ने काम उपन्यासमा भएको छ। दर्शनका कुरामा यहाँ पात्रभन्दा उपन्यासकार ज्यादा ‘बोलेकी’ छन्।

सप्तमको ‘योगनिद्रा’मा ‘ग्राफ्टिङ’ गरेका सात उपकथामध्ये कतिपय कथाको संवेदना र भाव तथा शिल्पी गजब मीठो छ। जस्तै, "जब तिम्रा बालाई हदभन्दा बढी मलाई पीडा दिन मन हुन्छ, तब मलाई नकुटीकन तिमीलाई कुट्छन् बाबु" (अर्को सिद्धार्थको कथा)। यस लाइनले ममता र परपीडनको साझा बिम्ब बोकेको छ।

"पीडा पनि एक नशाजस्तै रहेछ। बिस्तारै मलाई त्यो पीडाको नशा लाग्दै गयो। आफ्नो मनको पीडा दबाउन शरीरलाई पीडा दिन थाल्दाथाल्दै पीडा नै लत बन्यो" (मादी किनारका घाउहरू)। आफ्नै घाउमा रमाउने स्वपीडनको कठोर बिम्ब रुचिकर छ। 

‘अँधेरीको नयाँ पञ्चशील’बाट प्रतीक्षाले लैंगिक विभेद र प्रेमका सम्बन्धमा हाम्रो समाजको बुझाइ स्तर निर्धारण गर्न खोजेकी छन्। यद्यपि, पात्रको व्यक्तित्व निर्माणमा  कलिलो पात्र अँधेरी शिरीषको फूल र पल्लो घरको झ्यालजस्ता मनोवैज्ञानिक  उपन्यासको प्रभावमा परेको र भाव छिचोलेको तर्क गराइरहँदा त्यहाँनिर पात्र अँधेरीभन्दा सर्जक हाबी भएको भान हुन्छ।

यहाँनिर उपल्लो मुस्ताङ पदयात्रामा पर्ने एउटा भौगोलिक सन्दर्भ जोड्न मन लाग्यो। छुसाङ भन्ने ठाउँबाट एक डेढ घण्टाको उकालो हिँडेपछि समरगाउँ पुगिन्छ। २९ सय मिटरको उचाइमा रहेको छुसाङबाट समरगाउँ उक्लँदा झन्डै ३५ सय मिटर नाघिसक्दो रहेछ। छोटो समयमै ६०० मिटर उचाइको ‘फ्लक्चुएट’ हुँदा पदयात्रीलाई लेक लाग्ने जोखिम हुँदो रहेछ। 

पात्रलाई कारुणिक देखाउन परे असाध्यै कमजोर बनाउने अनि शक्तिशाली देखाउन परे बौद्धिकताको भारी बोकाइदिँदा पाठकलाई पनि छुसाङदेखि समरगाँउको बाटोमा झैँ ‘पठन लेक’ लाग्ने डर हुन्छ। कलिलो पात्र अँधेरीमा त्यस्तो ‘फ्लक्चुएट’ देखिन्छ।

आजभन्दा २५ सय पचास वर्षअघि जन्मिएका बुद्धले सधैँ भनिरहे, "हर कुरामा सन्देह गर।" बुद्धभन्दा झन्डै २१ सय वर्षपछि जन्मेका फ्रेन्च दार्शनिक रेने डिकार्टस ( ईसा पूर्व १५९६-१६५०) ले पनि भने, ‘आइ डाउट्, देयरफोर आइएम्’ (म शंका गर्छु र पो त अस्तित्ववान् छु।) तर हामी अझै पनि ‘सही सन्देह’ गर्न सक्ने भएका छैनौँ। 

त्यो अर्थमा ‘सुशीलाको सन्देह’ जायज र सान्दर्भिक छ। तर सुशीलाको ब्रेनवास गराउन निलोतुथोको काम गरेका सडकनिर्भर जोडी फोहोरबाट कवाड संकलन गर्छन्, पुलमुनिको छाप्रोमा खुशीसाथ जीवन चलाउँछन्। प्रतीक्षाले सुशीलामार्फत कवाड बटुल्ने जोडीको कथा र जगदीश घिमिरेले अन्तर्मनको यात्रामा उद्धरण गरेको  ‘प्रेरणा बिम्ब’ झन्डै हुबहु हुनु शायद बिम्बात्मक संयोग मान्नुपर्ला।

अरूले तोकिदिएको सीमारेखामा बाँच्ने सुशीलामा ‘शीलता’ देख्ने र आफ्नै सर्तमा मनमौजी जीवन बाँच्ने अँधेरीलाई खराब करार गर्ने सामाजिक मान्यता र यी दुई पात्रले गरेको शालीन विद्रोहले स्वको खोजीमा पुट दिएको छ। सन्देहकै कुरा गर्दा उपन्यासकारले आफ्ना पात्रमार्फत विवाहरूपी सामाजिक संस्थालाई भन्दा उदात्त प्रेमका पक्षमा प्रखर लबिङ गरेको बुझ्न सकिन्छ।

मध्यान्तरपछि सप्तमसँगै जोडिन आउने ´देशना कथाहरू`मा कहीँकतै यस्तो लाग्छ, अब उपन्यासले दु:खकष्ट छिचोलेर दार्शनिक यात्रा गर्न ‘वायुमण्डल’ पार गर्दै छ। तर ती ‘सप्तम कथा’भित्र नै कहीँ यस्तो लाग्छ, अन्तरिक्ष यात्रामा हिँड्यो भनेको यान फेरि इन्धन भर्न भन्दै जमिनमै फर्कन्छ।

सप्तमले गन्धकुटीमा बिताएका सात दिनको समष्टि परिणाम केलाउँदै उपन्यासमा भनिएको छ, ‘बाहिरको ब्रह्माण्ड कसको नियन्त्रणमा छ? त्यसको जवाफ विज्ञानले अझै पत्ता लगाइसकेको छैन। मनभित्रको ब्रह्माण्डचाहिँ अध्यात्मले नियन्त्रण गर्न सकिन्छ। बुद्धले २५ सय वर्षअगाडि नै देखाएको बाटो अध्यात्मको त्यस्तै एउटा बाटो हो।’

यति भनिरहँदा उपन्यासकारले बारम्बार जिरह गरेको अध्यात्मको धार वैदिक नभएर बुद्ध दर्शनको हो भन्ने पक्का हुन्छ। उपन्यासकारको अधिकभार भने बौद्ध दर्शनमै छ। तर उपन्यासभित्र बारम्बार दोहोरिने वैदिक र बुद्ध दर्शनको आध्यात्मिक धारको पर्याप्त व्याख्या र विश्लेषण छैन।

आर्य/वैदिक विद्वानहरू भन्छन्, ‘अध्यात्म एक दर्शन हो, चिन्तन धारा हो, विद्या र हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषीहरूको चिन्तनको निचोड हो।’ अध्यात्मको मुहान वेद, वेदको सार उपनिषद् र उपनिषद्हरूको सार भागवत् गीता हो भन्नेहरू पनि छन्। बौद्ध दर्शनको कुरा गर्दा बुद्धले यज्ञमा पशुवलीको सन्दर्भ र आत्माको अमरत्व हुन्छ भन्ने वैदिक मान्यताप्रति विमति राख्दै वेदको विरोध गरेका छन्। वेदान्त दर्शनले जीवन र जगत‍्लाई माया (भ्रम) मान्छ। बौद्ध दर्शनले चाहिँ ‘जीवनको बन्धनको कारण तृष्णा हो र तृष्णाको अन्त्यबाट नै साधकले निर्वाण प्राप्त गर्छ’ भन्ने व्याख्या सुनिन्छ। 

पात्रको नाम छनोट र अध्यात्मको सन्दर्भ चित्रणमा वेदान्त र बौद्ध दर्शनमा समभाव देखाउने चेष्टा गरेकी छन् उपन्यासकारले। ‘अप्प दीपो भव:’ र ‘तमसोमा ज्योतिर्मय’लाई जोड्न खोजेकी छन्। 

सप्तम गन्धकुटीबाट घर फिर्ती भएपछि उपन्यासले संयोगान्त विश्राम लिने अनुमान गर्न सकिन्छ तर त्यस्तो  हुँदैन। सप्तम आफ्नी प्रेमिका काव्यासँग सहयोगको याचना गरेर ‘बोधयात्रा’का लागि अलप हुन्छ। बोधको यात्रामा सप्तमलाई निरन्तर हिँडाइरहने उपन्यासकारको यो आख्यानसूत्रमा ‘स्व’ खोजको मूलभूत सिद्धान्त के हो भन्नेमा अलमलिन्छु।

‘स्व’ भनेको के हो? स्वतः निर्माण हुन्छ अथवा निर्माणमा समाजको पनि भूमिका हुन्छ? के हाम्रा सामाजिक संस्कार र विचारसँग पर भागेर स्वको खोजी सम्भव छ? विद्वानहरू भन्छन्, ‘स्व वस्तुगत होइन, विषयगत हो।’ विषयगत हो भने खै त स्वको व्याख्या?

उपन्यासकार, प्राध्यापक, वकिल, रेडियोकर्मी, जग्गा कारोबारी, उत्प्रेरक; सप्तमका यी अनेकन् पहिचान निर्माणमा समाजको भूमिका छ या छैन? यदि यी पहिचानमा समाज पनि सहभागी छ भने सप्तमको ‘चरैवेती’ कस्तो खालको स्व खोज्न लागेको? दार्शनिक अर्थ खोज्ने हो भने स्वको प्रतीकात्मक अर्थ ‘अहं’ पनि हो। के सप्तम ‘अहं’को ‍छायामा परेको हो?

उपन्यासमा बारम्बार ‘क्वान्टम फिजिक्स’जोडिन आएको छ। क्वान्टम फिजिक्सलाई सैद्धान्तीकरण गर्ने प्रमुख वैज्ञानिकहरू म्याक्स प्लाङ्क, ओपन हाइमर, हेन्सवर्ग, स्वर्डिङर लगायत हुन्। तीमध्ये ‘स्वर्डिङ्गर्स क्याट प्याराडक्स’ खुब प्रचलित छ।

स्वर्डिङ्गर्स क्याट प्याराडक्स सिद्धान्तअनुसार एउटा बिरालोलाई बाकसमा बन्द गरेर राखिन्छ। बिरालोसहितको बन्द बाकसमा यस्तो प्रविधि जडान गरिएको हुन्छ कि रेडियोधर्मी विकिरण सुचारु हुनासाथ  ह्यामर (हतौडा) बजारिएर बिरालोको टाउकोमा हान्छ। 

यो प्रक्रियामा अब बाकस भित्रको बिरालोको अवस्था अज्ञात छ। बाकसमा बिरालो जीवित राखिछोडेको हो। त्यसकारण बिरालो ज्युँदो हुनसक्छ, रेडियोधर्मी विकिरण एक्टिभ हुँदा हतौडाले टाउकोमा हान्दा बिरालो मरेको पनि हुन सक्छ। बिरालोको वास्तविक अवस्था बाकस खोलेर नहेर्दासम्म थाहा हुँदैन। त्यस हिसाबले त बिरालो जीवित पनि हो  र मरेको पनि हो।

उपन्यासमा पनि प्रतीक्षाले सप्तमको शारीरिक (फिजिकल) र संज्ञानात्मक (कग्निटिभ) स्वभावका दुई गोलार्द्ध सिर्जना गरेर ‘हो पनि’ र ‘होइन पनि’को विरोधाभासमा मान्छेको भाव, स्वभाव र स्ववास्तविकता उत्खनन गर्न खोजेकी छन्। यो उपन्यासको सौन्दर्य हो। 

उपन्यासलाई ´शून्यवादी’ मान्ने या ‘अस्तित्ववादी’? अध्यात्मको व्याख्यामा वेदान्त ठीक कि बौद्ध दर्शन ठीक? त्यसको तर्क वा व्याख्या खै? आध्यात्मिक हुनु भनेको वैराग्य धारण गर्नु या गृहस्थ त्याग्नु हो? वा सहचर्यामा पनि आध्यात्मिकता सम्भव छ?

बुद्धलाई उपन्यासकारले अनुकरणीय व्यक्तित्व मानेको कुरा सप्तमको स्वभावबाट बुझ्न सकिन्छ। बुद्धले भनेझैँ ‘सम्यक् कर्म’ या ‘सम्यक् आजीविका’ पालन गर्न सप्तमले अलप हुनै पर्ने थियो? यस्ता केही जिज्ञासा स्वको दोस्रो भाग पढेपछि उठ्छन्। एकाध ठाउँमा वाक्यगठनमा उपन्यास चिप्लिएको देखिन्छ तर केही सामान्य त्रुटिलाई  नजरअन्दाज गर्दा पनि फरक पर्दैन।

उपन्यास लेख्नु निक्कै गाह्रो काम हो। दार्शनिक उपन्यास लेख्दै छु भनेर प्रतीक्षाले आफ्नो प्राक्कथनमा दाबी गरे पनि उनी स्वयंले किताब विमोचनका दिन व्यक्त गरेको भाव थियो, ‘उपन्यासभित्र अध्यात्म या बुद्ध दर्शनको रौँचिरा केलाउन नखोज्नु होला।’ 

उपन्यासकारले त्यसो भन्दैगर्दा र स्व पढिभ्याउँदा उपन्यासलाई ‘दार्शनिक’ भारी नबोकाईकन पढ्नु उचित हुन्छ। अर्को कुरा, सिद्धार्थका कारण यशोधराले र सप्तमका कारण काव्याले वियोग समेट्नुपरेको दृष्टान्तमा ‘हर युगमा लोग्ने मान्छेको सोच र खोजको मूल्य स्वास्नी मान्छेले नै किन चुकाउनु पर्छ?’ भनी काव्यामार्फत गरिएको प्रश्न आफैँमा थप आख्यानको ‘बीज’ बन्न सक्छ।

उपन्यासमा शक्तिशाली ‘नायक’ को हो? सप्तम वा काव्या? काव्याको सुस्पष्ट जीवन ठीक या सत्त्व, स्व, शून्य र अहंको खोजीमा ‘अलप’ हुने सप्तमको जीवन दर्शन ठीक?

त्यसको छिनोफानो पाठक आफैँले गर्नु राम्रो।