१६औँ पटक कोपा अमेरिका च्याम्पियन बन्यो अर्जेन्टिना

कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि चुमेको हो।

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले कीर्तिमानी जित हासिल गरेको छ। हार्ड रक रंगशालामा सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि चुमेको हो।

अर्जेन्टिनापछि उरुग्वेले १५ पटक तथा ब्राजिलले ९ पटक कोपा अमेरिका च्याम्पियन जितिसकेको छ।

निर्धारित समयमा गोल हुन नसक्दा पाएको अतिरिक्त समयमा लाउटारो मार्टिनेजले गोल गरे। अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको ११२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्। सेल्सो खेलको ९७औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।

फाइनलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी ६६औँ मिनेटमा मैदान बाहिरिएका थिए। मैदानमा लडेपछि उनी खेल्न असमर्थ भएका थिए।