धमाधम खेलाडी उत्पादनमा शक्ति, घरैमा चलाउँछन् क्रिकेट एकेडेमी

राष्ट्रिय टिममा हुँदा कहिले ब्याटिङ र कहिले बलिङमार्फत चर्चामा आउने शक्ति गौचन सक्रिय खेल जीवनबाट सन्यास लिएपछि खेलाडी उत्पादनमा लागेका छन्। उनले आफ्नै घरमा क्रिकेट एकेडेमी चलाइरहेका छन्।

भैरहवा– अघिल्लो महिना सम्पन्न विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीमा कुशल मल्ल पनि परेपछि शक्ति गौचनले भनेका थिए, “कुशलले विश्वकप खेल्ने भएपछि मलाई मैले नै खेलेको अनुभूति भइरहेको छ।”

राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शक्तिले आफ्नो खुशीलाई यसरी व्यक्त गर्नुको खास कारण छ। उनी अहिले क्रिकेट प्रशिक्षक छन्। एकेडेमी नै खोलेर प्रशिक्षणमा लागेका छन्। राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल शक्तिकै चेला हुन्।

कुशलले करिब १२ वर्षको उमेरदेखि शक्तिसँग प्रशिक्षण गरेका थिए। शक्तिले उनलाई न्यु होराइजन स्कुलमा क्रिकेट सिकाएका थिए। कुशलजस्तै शक्तिसँग प्रशिक्षण लिएका सुशन भारीले पनि राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन्। भलै, उनी विश्वकप खेल्ने टिममा थिएनन्।

सक्रिय खेल जीवन त्यागेपछि शक्ति अहिले खेलाडी उत्पादनमा लागेका छन्। उनले नेपालबाट अन्तिमपटक २०७५ सालमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)  खेलेका थिए। उनले खेलेको एक मात्र ओडीआई त्यही हो। सन् २०१४ मा नेपालले बांग्लादेशमा भएको टी२० विश्वकप क्रिकेट खेल्दा शक्ति महत्त्वपूर्ण खेलाडी थिए। त्यस बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उनको बलिङको प्रशंसा भएको थियो।

सक्रिय खेल जीवनमा झन्डै २० वर्ष बिताएका शक्तिले अहिले सम्हालिरहेको स्टार क्रिकेट एकेडेमी सन् २००९ मा नै स्थापना भएको हो। शुरूमा आफैँले नियमित अभ्यासका लागि तयार पारेको संरचनालाई नै एकेडेमी बनाएका छन्। यहाँ ‘इन्डोर क्रिकेट हल’ पनि छ। आफू अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न सक्ने खेलाडी उत्पादनमा लागेको उनको भनाइ छ।

उनी रुपन्देहीको ओमसोतिया गाउँपालिका पड्सरीस्थित घरसँगै जोडिएको निजी जग्गामा प्रशिक्षण केन्द्र चलाउँछन्। उनी बिहान बेलुका किशोरहरूलाई क्रिकेट प्रशिक्षण दिएरै बिताउँछन्। दुई समय गरी अहिले उनीसँग करिब ५० प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन्।

प्रशिक्षण केन्द्रमा आवासीय सेवा पनि छ। आवासीय प्रशिक्षार्थी १० जना छन्। जिल्ला तथा प्रदेशस्तरीय क्रिकेटका विभिन्न उमेर समूहमा छनोट भएका खेलाडीले पनि यहाँ प्रशिक्षण लिइरहेका छन्। 

“सक्रिय खेल जीवनबाट सन्यास लिएपछि नेपाल क्रिकेट संघमा कोचको भूमिका पाउने आशामा थिएँ। त्यहाँबाट कुनै अवसर नआएपछि केही गर्नुपर्‍यो भनेर आफै खेलाडी उत्पादन गर्ने अभियानमा लागेँ,” शक्ति भन्छन् “जिल्ला क्रिकेट संघमा अध्यक्ष भएर क्रिकेटमा योगदान गर्ने उद्देश्य पनि पूरा हुन सकेन। अध्यक्ष नै नभए पनि काम गर्न त सकिन्छ भन्ने लाग्यो।”

२०७८ सालमा भएको रुपन्देही क्रिकेट संघको निर्वाचनमा उनी व्यवसायी हरि थापासँग अध्यक्षमा पराजित भएका थिए। तर उनी क्रिकेटबाट टाढा छैनन्। अहिले तिलोत्तमामा बनाउन शुरू गरिएको ‘एक्स्ट्राटेक ओभल’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ‘ब्रान्ड म्यानेजर’ छन्। अस्ट्रेलिया बस्ने व्यवसायी विनोद कुँवरले बनाउँदै गरेको यो रंगशालामा मैदान निर्माण सकिइसकेको छ।

किन रोजे भैरहवा?
क्रिकेटबाट सन्यासको घोषणा गरेपछि शक्तिलाई काठमाडौँमा रहेका विभिन्न संघ संस्थाबाट काम गर्ने प्रस्ताव नआएको होइन। तर उनलाई ती प्रस्तावले भन्दा आफनै कर्मथलोले तान्यो। “मलाई सल्लाह दिनेहरूले पनि काठमाडौँमै बस्न भनेका थिए,” उनी भन्छन्, “तर आफ्नो ठाउँमा केही गरौँ भन्ने लाग्यो। त्यसैले मलाई काठमाडौँको प्रस्तावले आकर्षण गरेन।” 

शक्ति अहिले बुटवलस्थित न्यू होराइजन स्कूलमा क्रिकेट प्रशिक्षक छन्। दिउँसोको समय विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिन्छन्। भर्खर मात्र उनले नेपाल क्रिकेट संघ (क्यान) बाट लेभल–२ प्रशिक्षकको मान्यता पाएका छन्। जिल्ला क्रिकेट संघले पनि प्रशिक्षकको भूमिका दिएको छ। 

सक्रिय खेल जीवनबाट सन्यासपछि जीविकोपार्जन र रोजगारी नेपाली खेलाडीको चिन्ताको विषय बन्ने गरेको छ। तर क्यान तथा प्रदेश र जिल्ला क्रिकेट संघले समन्वय गर्ने हो भने खेलाडीहरू रोजगारीका लागि चिन्तित बन्नु नपर्ने उनी बताउँछन्।

उनी भन्छन्, “संघहरूले निजी क्षेत्रसँग समन्वय गरेर खेलाडीलाइ विभिन्न भूमिका दिलाउन सक्छन्। त्यसो हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्नु पर्दैन। त्यसो गर्दा प्रशस्त सम्भावना छन्।” उनी सन् २००३ देखि नै न्यू होराइजन स्कूलमा क्रिकेट प्रशिक्षक छन्। 

भैरहवामा शक्तिले प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएपछि क्रिकेटमा लगाव भएका किशोरहरूलाई अभिभावकले नै भर्ना गरिदिन्छन्। बढी सम्भावना भएकालाई शक्तिले भारतका विभिन्न ठाउँका प्रशिक्षण केन्द्रमा पठाउन सल्लाह पनि दिन्छन्।

भैरहवाका सबिर खानले छोरा आरिफलाई पहिला शक्तिकै प्रशिक्षण केन्द्रमा भर्ना गरेका थिए। तीन वर्षपछि उनकै सल्लाहमा भारतको जयपुरस्थित क्रिकेट एसोसियसनमा भर्ना गरेका छन्। आरिफ प्रतियोगितामा भाग लिन नेपाल आउँछन्। उनी लुम्बिनी प्रदेशको १६ वर्षमुनिको टिमको कप्तान हुन्।

सबिर भन्छन्, “छोराको क्रिकेटमा धेरै लगाव देखियो। शक्तिकै सल्लाहमा प्रशिक्षणका लागि भारत पठाएको हुँ। अहिलेसम्म उसको उपलब्धि धेरै राम्रो छ। राष्ट्रिय टिममा छनोट हुने विश्वास छ।” 

सैनिक बाबुका छोरा क्रिकेटमा 
शक्तिका बाबु भारतीय सेनामा जागिरे थिए। बाबुको जन्मस्थान मुस्ताङ भए पनि शक्ति भारतमै जन्मिए। बाबुको जागिरको दौरान जहाँ सरुवा हुन्थ्यो, त्यहीँ पुग्थे। उनी भारतका धेरै ठाउँमा बसे। तर बाबुको पाइला पछ्याएर उनलाई सेनामा भर्ती हुने सोच कहिल्यै आएन। बरु क्रिकेटमा आकर्षित भए।

“भारतमा क्रिकेटको धेरै राम्रो अवस्था, हामी बच्चामा खेल्ने खेल नै क्रिकेट थियो। बिस्तारै क्रिकेट खेलाडी बन्नुपर्छ भन्ने लाग्यो,” उनी आफ्नो बाल्यकालबारे भन्छन्, “अलि ठूलो भएपछि नेपालीहरूको टिम नै बनाएर खेल्न थाल्यौँ। लगाव बढ्दै गएपछि प्रशिक्षणका लागि भर्ना भएँ।” 

मुम्बईस्थित एकेडेमीमा चार वर्ष बिताएपछि क्रिकेटमा निखारपन आएको शक्ति बताउँछन्। उनी सन् १९९९ मा मुम्बई छाडेर नेपाल आए। नेपालमा भैरहवाको बेलहियास्थित लुम्बिनी खुकुरी क्लबसँग जोडिए। त्यही क्लबबाट नेपालमा उनको खेलयात्रा शुरू भएको थियो।

जगत टमाटा र जंगबहादुर थापा लुम्बिनी खुकुरी क्लबका प्रशिक्षक थिए। क्लबबाट खेल्न थालेपछि नेपालमा उनको खेलजीवनले गति लियो। जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिताहरू खेले। उनले सन् २००२ मा बंगलादेशमा पहिलोपटक राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए।