एसीसी महिला एशिया कप : यूएईमाथि नेपाल ६ विकेटले विजयी

सम्झना खड्काको अर्धशतकमा नेपालले एसीसी महिला एशिया कपअन्तर्गत पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको छ।

काठमाडौँ– नेपालले एसीसी महिला एशिया कपअन्तर्गत पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ।

सम्झना खड्काको अर्धशतकप्रेरित नेपाल यूएईविरुद्धको खेलमा २३ बल बाँकी छँदै ६ विकेटले विजयी भएको हो। यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि सम्झनाले ४५ बलमा ११ चौका प्रहार गर्दै ७२ रन बनाइन्। टी२० आईमा उनको यो पहिलो अर्धशतक हो। त्यस्तै, रबिना क्षेत्रीले १०, सीता रानामगर र पूजा महतोले ७/७ रन लिए भने कबिना कुँवरले ६ रन जोडिन्। नेपालले १४ रन अतिरिक्त पायो।

बलिङतर्फ यूएईका लागि कभिसा इगोडेजले ३ तथा लाभन्या केनीले १ विकेट लिए।

त्यसअघि शुक्रबार श्रीलंकाको दम्बुलामा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाउन सक्यो।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन्। कभिसा इगोडेजले २२, समाइरा धर्निधारर्काले १३ र इशा ओजाले १० रन बनाए। 

नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा सवनम राई, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए।