जलेर बितेकी आमाको शरीर अस्ट्रेलिया बसेर भिडियो कलमार्फत हेर्ने दिदी एक पात्र मात्रै हुन्। अहिले नेपालका धेरैजसो बाआमाका बुढेसकालका सहारा बिदेसिन बाध्य छन्।
पुस–माघको जाडो, घरमा एक्लै बिरामी बुढी आमा। जाडो छल्न कोइलामा मट्टितेल छर्केर आगो बाल्दै ताप्ने क्रममा पछाडिबाट शरीरमा आगो सल्क्यो। ‘होम केयर नर्स’का नाताले महिनौँ आमाको उपचारमा हामी संलग्न भयौँ। जलनकै कारण आमाको मृत्यु भयो। ज्यूँदै आगो सल्केर बितेकी आमालाई आर्यघाटमा अन्तिम पटक जलेको देख्दा विदेशबाट छोरीले छटपटिँदै आँसु झारिरहनुभयो मात्र। भिडियो कलमा यो सबै हेरिरहनुभएकी छोरीको मुहार भावले यसो भन्न खोजेजस्तो लाग्यो, ‘ज्यूँदै जल्दा सँगै हुन त पाइनँ, एक मुठी पानी पिलाउन पाइनँ। अन्तिम पटकसमेत आफूलाई धर्ती देखाउने जगत्कै प्रिय मान्छेलाई छुन पनि पाइनँ।’
आमा जल्दै गर्दा छोरीले भिडियो कलमै मलाई भन्नुभयो, “मलाई मात्रै किन यति पीडा सिस्टर?” योभन्दा धेरै उहाँ बोल्न सक्नुभएन र भिडियो कल काटियो। सँगै रहेकी अर्की सिस्टर र म निःशब्द भयौँ। बिरामीलाई दुख्दा सँगै बसेर रुने हामी लामो समय हेरचाह गरेको बिरामी जल्दै गर्दा पशुपतिको चिता सम्मुखको फलामे कुर्सीमा बसेर श्रद्धाञ्जलीसम्म भन्न सक्यौँ। एकले अर्कालाई हेर्दै ‘मान्छेको जिन्दगी के नै रहेछ र सिस्टर?’ भन्दै हामीले पनि आँसु झार्यौँ।
आमाका चार छोराछोरी पढ्न र कामका लागि फरक–फरक देश जानुभएको रहेछ। भिडियोमा बोल्ने छोरीचाहिँ नेपालमा नर्सिङ अध्ययनपश्चात् अस्ट्रेलिया पुग्नुभएको थियो।
नेपालमा जागिरको अवसर नपाएपछि मेरै बाआमाले पनि आफ्नी छोरीलाई विदेश पठाउने रहर र कर नगर्नु भएको होइन। विदेश जानकै लागि केही समय अगाडिसम्म ‘आइल्स’ तयारी गर्न नियमित कन्सल्टेन्सी धाउँथेँ।
कोभिड–१९ को महामारी भर्खर चाइनाको बुहानमा शुरू हुँदै ताका मलगायत २० जना साथी नर्सिङ लाइसेन्सको तयारी गर्दै थियौँ। केही महिनाको तयारीपश्चात् नेपाल नर्सिङ काउन्सिलमार्फत परीक्षा दिइयो र नतिजा पनि आयो। हामी उत्तीर्ण भयौँ।
यतिखेरसम्म नेपालमा पनि कोरोना–१९ को संक्रमण शुरू हुन थालिसकेको थियो। शुरूमा कोरोनाप्रति सर्वसाधारणदेखि सबैमा व्यापक डर र त्रासको वातावरण थियो तर चिकित्सा क्षेत्रमा काम गर्नेले डराएर सुख थिएन। जसले जता पाइन्छ, त्यतै जागिर खाने निष्कर्ष हामी सबै साथीले निकाल्यौँ। पढाइ नसकिन्जेल हामी एक अर्कालाई भन्ने गर्थ्यौं, ‘पढेपछि जागिर त पाइहाल्छ नि! पढ्न मात्रै गाह्रो हो, जागिर खान त सजिलै छ नि कसो केटी हो?’ तर लाइसेन्स हातमा परेपछि देखियो तिरिमिरी।
नर्सिङ परीक्षा उत्तीर्ण गरेपछि नर्सका लागि आवेदन खुलेका अस्पतालतिर हामीले आफ्ना कागजात पठायौँ। लकडाउनको बेला थियो। सबैजसो अस्पताल बिरामीले भरिभराउ थिए। धेरैजसो अस्पतालका बेड भरिएका कारण भुईंमै राखेरसमेत बिरामीको उपचार गरेको देखिन्थ्यो। तैपनि थप जनशक्ति थप्नेबारे अस्पतालहरू मौन देखिन्थे। सम्पर्कमा भएका साथीहरू सुनाउँथे, “थप जनशक्ति थप्नुको सट्टा हामीलाई रातदिन काममा जोत्छन् तर तलब भत्ता भने समयमा पाइने होइन।”
उनीहरू भन्थे, “ज्यान जोखिममा राखेर १५ देखि २० घण्टासम्म काम गर्नुपर्छ, त्यसमाथि ग्लभ्स, मास्क र पीपीई आफैँ लिनुपर्ने र खाजा खानासमेत आफ्नै। १५ हजार तलब कट्दैन, के खाने? केले परिवार पाल्ने? आफैँ बिरामी भए कुन पैसाले उपचार गराउने?”
साथीहरूको कुरा सुन्दा अत्यास लाग्थ्यो। अर्को मनमा लाग्थ्यो, “आफूले त त्यही जागिरसमेत पाइएन!” अस्पतालका भ्याकेन्सी पच्छ्याउँदा पच्छ्याउँदै कोरोना महामारीले अर्को चरण पार गर्यो तर जीवन उही चरणमा रह्यो।
छोरीले नपढ्दा के नै फरक पर्छ र भन्ने सोच बोक्ने समुदायमा जन्मेको म। अनेक सामाजिक उल्झन चिर्दै खाडीको तातोमा बालुवा पेलेर भए पनि छोरीलाई पढाउन कसिएका बाको अनुहार बेलाबेला मनमा आउँथ्यो। बा विदेश हुँदा आमामाथि लाग्ने अनुचित लाञ्छना, त्यो सबै सहेर आमाले मलाई पढ्न दिनुभएको ढाडसले भने गौरवान्वित हुने गर्थें, तर जागिरका लागि आफ्नी छोरीले गर्नुपरेको संघर्ष देख्दा आमाको मुहार मलिनो देख्न थालेँ।
बा भन्नुहुन्थ्यो, “कोरोनाको महामारी छ, मरियो भने जागिरकै के अर्थ? बाँची बसे बिस्तारै काम गरौँला।” बाको ढाडस हुँदाहुँदै पनि जागिर नपाएको कुराले पिरोलिएको थिएँ। मचाहिँ बाउआमालाई ‘जागिर पाइनँ’ भन्न अप्ठ्यारो लागेर डरले तर्किने गर्थें। उता आफन्तहरू भन्दै थिए, ‘यस्तो कोरोना महामारी भएर अस्पतालमा बिरामी भरिभराउ हुँदा त नपाएको जागिर, अब तिम्रो छोरीले जागिर खान्नँ, बरु हाम्रा छोराछोरीले नपढी टन्न पैसा कमाउँछन्।’ शत्रु खोज्न अन्यत्र जानुपर्दैन भन्ने कथन यस्ता प्रतिक्रिया सुन्दा पुष्टि भएझैँ लाग्थ्यो।
लकडाउनले देशै बन्द रहेका बेला लाइसेन्सको फोटोकपी र सक्कली कागजात बोकेर चर्को घाममा हिँडेर कहिले कलंकी, कहिले ललितपुर र चक्रपथ पुग्थेँ। ६/७ वटाजति निजी अस्पतालमा कागजातका फोटोकपी बुझाएँ। कसैले ‘केही दिनमा बोलाउँछु’ भने त कसैले ‘व्यक्तिगत नम्बर र इमेल दिएर जानूस्, जसरी पनि बोलाउँछु’ भन्दै विश्वास दिलाए। कसैले ‘फ्रेसर रहेछौ, काम सिकाउनुपर्छ’ भन्दै डकुमेन्ट लिनसमेत आनाकानी गरे। जबकि, भर्खर काम सिकेर काम गर्ने योग्य प्रमाणित (रजिस्टर्ड) हुने, फेरि अस्पतालहरूले ‘काम सिकाउनपर्छ’ भन्दै अवसर दिन नखोज्नेचाहिँ किन हो?
निजी अस्पतालमा जागिरको आवेदन दिएर हिँड्दाहिँड्दै थाकेर निराश भइसकेको थिएँ। जाऊँ कता भनौँ र कसलाई सुनाउँझैँ हुन्थ्यो। शायद, २०७८ वैशाखतिर हुनपर्छ, नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले पनि १०० जना स्टाफ नर्सका लागि आवेदन माग्यो। कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वमा धेरै मानिसको मृत्यु हुँदै गरेको बेला थियो। लकडाउनले अन्य पसलसँगै फोटोकपी गर्ने ठाउँ पनि बन्द थिए। नजिकैको साइबरमा धेरै अनुरोध गरेर कागजात फोटोकपी गरीवरी थानकोटबाटै हिँडेर वीर अस्पताल पुगी निवेदन बुझाएँ। ठूलै काम सम्पन्न गरेझैँ लाग्यो र छाती गर्वले फूलेझैँ भयो। १०० जनामा त पक्कै नाम निकाल्छु भन्ने लाग्यो।
साथीहरूको लाइन अस्पतालको गेट बाहिरसम्म थियो। भोलिपल्ट पत्रिकामा लाइनको फोटो आएको रहेछ। त्यस लाइनमा तीन हजारभन्दा बढी आवेदक रहेछन्। सर्टलिस्टमा छनोट भएपछि फोन गरिने बताइएको थियो। त्यसपछि परीक्षा र अन्तर्वार्ता पनि होला भन्ने मैले ठानेको थिएँ। तर कैयौँ दिन गन्दा पनि सूचना आएन। जागिर नपाएर छटपटीले आधा शरीर गल्न थाल्यो। बल्लतल्ल निकै दिन (कति दिन?) पछि पो सर्टलिस्ट निकाल्यो।
तर मेरो नाम निस्केन, मैले चिनेका अन्य कुनै साथीको पनि निस्केन। नाम निकाल्ने प्रक्रिया र आधारबारे हामी कसैलाई थाहा दिइएन, भएन। अनलाइनको यस खुला जमानामा नर्सहरूको छनोट कसरी गरियो भन्ने कुरा सबै आवेदकले सहजै थाहा पाउनुपर्ने होइन? त्यसमाथि नेपालकै ठूलो र पुरानो अस्पतालले आफ्नो पारदर्शिता यस्तै अवसरमा प्रस्ट्याउनुपर्ने होइन? नागरिकको करबाट सञ्चालित अस्पतालको जनताप्रति जबाफदेहिता, जिम्मेवारी र पारदर्शिता हुँदैन?
काठमाडौँमै बसेर दिनहुँ अखबार र अनलाइन आदि हेर्नेहरूले त भर्ना प्रक्रियाबारे थाहा पाउँदैनौँ भने तराई र सुदूरपश्चिमका नर्समा आवेदन दिन खोज्नेले भर्ना खुलेकै पनि कसरी थाहा पाउलान्? प्राइभेटका त कुरा छाडौँ, कमसेकम सरकारी अस्पतालमा हामीजस्ता गरिब, निमुखा र पहुँच नभएका सीमान्तकृत समुदायका व्यक्तिले प्रतिस्पर्धामार्फत जागिर खान पाउनुपर्ने होइन? छनोट प्रक्रिया एकदमै पारदर्शी बनाइनुपर्ने होइन?
जागिर नपाएको दुखेसो होइन, पढाइ, क्षमता, योग्यता र प्रतिस्पर्धाका आधारमा निष्पक्ष रूपमा परीक्षा र अन्तर्वार्ताबाट डाक्टर–नर्सलगायत सबै कर्मचारीको छनोट र नियुक्ति हुनुपर्छ भन्ने मेरो आवाज हो। अर्को दुखेसो, मान्छेले अप्ठ्यारो मानेर डकुमेन्ट या छाताले आफ्नो अनुहार छोप्दाछोप्दै पनि अगाडि र पछाडिबाट फोटो खिचेर वीर अस्पतालमा आवेदन दिनेको लर्को भनेर छिनभरमै छपाउन सक्ने, तर छनोट प्रक्रियाको पारदर्शिताबारे प्रश्न नउठाउने पत्रकारिताचाहिँ के पत्रकारिता? यसबारे चौथो अंग भनिने पत्रकारिता जगत्ले आफ्नो मूल्यांकन गर्नुपर्दैन?
भुईं मान्छेको प्रश्न यहाँ हो। कुनै राजनीतिक दलका ठूला नेता, प्रशासक र कर्मचारीका निकटका सात पुस्ताले ‘गरिब जनताको लागि बनाइएको अस्पताल’मा जागिर र सहज उपचारसमेत पाउने अनि हामीजस्ता निमुखा र सीमान्तकृतका सन्तानलाई चाहिँ बोलाएर चर्को घाममा तताएर औपचारिकता मात्र पूरा गर्ने? यो कुन तरिका हो?
अस्तव्यस्त स्वास्थ्य नीति, प्राविधिक क्षेत्रलगायतका सबै खालका बलिया र दक्ष युवा जनशक्ति विदेश प्रस्थान अनि यसैबीच चर्को स्वरमा समृद्ध देशको नारा? यो कसरी सम्भव छ? राजनीतिक दलले थापेका यस्ता भ्रमपूर्ण पासो अब भत्काउनुपर्छ। दक्ष जनशक्तिका लागि नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ कमसेकम युवाले आवाज उठाइराख्नुपर्छ।
जलेर बितेकी आमाको शरीर अस्ट्रेलिया बसेर भिडियो कलमार्फत अन्तिम पटक जल्दै गरेको हेर्ने दिदी एक पात्र मात्रै हुन्। अहिले नेपालका धेरैजसो घरमा बाआमाका बुढेसकालका सहारा बिदेसिन बाध्य छन्। र यस्तो लाग्छ, ती आमाको शरीरमा पनि देशका यिनै गैरजिम्मेवार शासकले आगो झोसिदिएका हुन्। तर हामीले यस्ता घटनाको बदला लिएर समाजमा बदलाव ल्याउनुपर्छ। बेथितिको भण्डाफोर गर्दै कमसेकम पाका बाआमाहरू घरमा लड्दा या जल्दा सन्तानले उद्धार गर्न पाउने अवस्था सिर्जना गरिनुपर्छ।
अन्तमा, भर्खरै नयाँ सरकार गठनपछि नयाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त हुनुभएको छ। उहाँले नियुक्तिलगत्तै भनेको कुरा पत्याउने हो भने अब सरकारी अस्पतालमा उपचार गर्न नागरिकले लाइन लाग्नु पर्ने छैन। तर त्यो कसरी? सरकार फेरिएलगत्तै करार सेवाका कर्मचारी भन्दै पुरानोलाई घर पठाउन हतारो हुन्छ। फेरि अर्को विज्ञापन गर्नैपर्यो। फेरि आफ्नाहरू खोज्नै पर्यो। भर्ती गराउन समय लाग्छ। मेरो अनुभवले भन्छ– अनि अस्तव्यस्त अस्पतालमा बिरामी लाइन नलागेर के लाग्छ? स्वास्थ्यकर्मीकै अवस्था अस्तव्यस्त छ। कति बेला कसलाई जस्केलाबाट छिराउने र कति बेला ढोकाबाट घचेट्ने पत्तो छैन। महिना दिनमै सरकारी अस्पतालमा कायापलट हुने कुरा कसरी पत्याउने?
तर पनि बोलेझैँ लाइनमै बसेर तपाईंको दलको अथवा अन्य दलका नेताको उपचार गर्ने थिति बसाल्नूस्। आमनागरिक पनि सँगै लाइन बसौँला। कमसेकम सरकारी अस्पतालमा हुने बेथितिका लागि पहल गर्नुभयो भने मात्र पनि आम नागरिकको हैसियतमा खादा बोकेर यहाँलाई धन्यवाद भन्न आउँला।
(बराम काठमाडौँस्थित ‘अंकला होम केयर सेन्टर’की सञ्चालक हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
