नेपालमा २५ वर्ष अघिदेखि नेपाल परेवा उडान खेल संघले परेवा उडाउने प्रतियोगिता आयोजना गर्दै आएको छ। यस खेलमा बर्सेनि झन्डै १०० जना परेवा पालकले प्रतिस्पर्धा गर्ने गरेका छन्।
काठमाडौँ– २४ वर्षअघिको घटना हो। काठमाडौँ, छाउनीका श्रृसनलाल श्रेष्ठ १४ वर्षका थिए। बाटोमा हिँडिरहेका बेला उनले एउटा परेवालाई लडिरहेको अवस्थामा देखे। पखेटामा चोट लागेर उड्न नसक्ने भएको त्यो परेवालाई घरमा ल्याए, औषधिमुलो गरे र पाल्न थाले।
श्रृसनले त्यसरी उद्धार गरेको पोथी परेवा ‘कागजी’ जातको थियो जुन नेपालमा प्रायः पाइने प्रजातिमा पर्छ। उनले सोही जातको भाले परेवा २५० रुपैयाँमा किनेर जोडी बनाए। त्यो एक जोडी परेवाले नयाँ बचेराहरू कोरल्दै थिए।
उनले एसएलसी परीक्षा दिएपछि परेवाका थप जोडीहरू किने र साथीभाइबाट मागेर पनि थप्दै गए। त्यसक्रममा श्रृसनसँग परेवाको संख्या २५ जोडीसम्म पुग्यो। तिनका लागि आवश्यक गन्ज पनि बनाइदिए। त्यसबेला उनले सोखकै कारण परेवा पालिरहेका थिए। “परेवा यसै पनि शान्तिको प्रतीक हो। घरमा शान्ति हुने विश्वास र परेवाको नजिक हुँदा आनन्द अनुभूति हुने भएकाले पाल्दा रमाइलो लाग्थ्यो,” उनले भने।
त्यतिबेला उनका अधिकांश छरछिमेकी र साथीभाइले पनि परेवा पाल्ने गर्थे। धेरैको उद्देश्य सोख पूरा गर्नु थियो। उनले पनि त्यही सिलसिलामा जुटाएका परेवाहरू पाल्ने कामलाई निरन्तरता दिइरहे। पछिल्लो समय भने उनी परेवा उडाउने खेलमा प्रतिस्पर्धी देखिन थालेका छन्।
नेपालमा २५ वर्ष अघिदेखि नेपाल परेवा उडान खेल संघले परेवा उडाउने प्रतिस्पर्धालाई खेलको रूपमा आयोजना गर्न थालेको थियो। पहिले नेपाल परेवा पालक संघको नामले चिनिने संस्था नै पछि बर्सेनि प्रतियोगिता आयोजना गर्ने परेवा उडान खेल संघमा बदलिएको हो। यस खेलमा हरेक वर्ष झन्डै १०० जनाले प्रतिस्पर्धा गर्ने गरेका छन्।
केही वर्षयता श्रृसन पनि खेलका लागि प्रतिस्पर्धी परेवा तयार गर्नमा व्यस्त छन्। “पहिले सोखले परेवा पालिरहेका बेलादेखि नै खेल हेर्न जान्थेँ, तर प्रतिस्पर्धा गरिनँ। अहिले भने प्रतियोगितामा नियमित भाग लिइरहेको छु। मेरा केही परेवाहरूले विभिन्न विधामा जितेका पनि छन्,” उनले भने, “यो खेलमा प्रतिस्पर्धा गर्नु पनि एक प्रकारको सोख नै हो। यसले परेवा पालकहरूमा परेवाप्रतिको लगाव कस्तो छ भन्ने देखाउँछ।”
श्रृसन यतिबेला नेपाल परेवा उडान खेल संघका सचिवको रूपमा कार्यरत छन्। उनीसँग अहिले विभिन्न प्रजातिका झन्डै ४० जोडी परेवा छन्। उनीसँग लामो समयसम्म उड्न सक्ने चर्चित प्रजातिका परेवाहरू पनि छन्। तीमध्ये कतिपय स्वदेशमै पाइन्छन् र कतिलाई उनले विदेशबाट महँगो मूल्यमा ल्याएका हुन्। तिनीहरूको पालनपोषणमा पर्याप्त समय दिनु र उडानको प्रतिस्पर्धा जित्नु उनको मुख्य योजना हो।
श्रेष्ठजस्तै अर्का परेवापालक हुन् काठमाडौँ बांगेमुढाका सुगत मानन्धर। करिब २७ वर्षअघि उनी कक्षा ६ मा पढ्दा रहरले छिमेकीबाट मागेर एक जोडी परेवा ल्याए। टाउको कालो र जिउडाल सेतो हुनाले त्यसलाई ‘टाउके परेवा’ भनिन्थ्यो। तर उक्त परेवा बिरालोले शिकार गरेपछि फेरि ३०० रुपैयाँ तिरेर कागजी जातको परेवा ल्याएर पाल्न थाले।
त्यसयता उनको घरमा परेवा टुटेको छैन। कक्षा १० पछि भने उनले केही परेवा छरछिमेकी र साथीसँग मागेर केही किनेर पाल्न थाले। बिहानबेलुका आकाशमा उड्ने र जस्तोसुकै अवस्थामा घर आउने परेवाको स्वभावले उनलाई मोहित बनाउँथ्यो।
सुगतका अनुसार परेवा पाल्न थालेपछि बिस्तारै यसको लत बस्दै गयो। फलस्वरूप समय दिन नसक्दा पनि परेवा पाल्न छाडेनन्। बरु ‘फ्यान्सी परेवा’ लिएर पाल्न थाले। उनलाई अहिले परेवाबिनाको घर त घरजस्तो नै लाग्दैन। त्यसैले घरमा परेवा टुटाउन नसक्ने उनी बताउँछन्।
“यसबीचमा म अन्य काममा व्यस्त थिएँ। त्यसबेला परेवा पाल्न फुर्सद नभएपछि मैले फ्यान्सी परेवा पालँे। हेर्दा आकर्षक हुने र धेरै समय दिनु नपर्ने भएपछि मेरो रोजाइमा त्यही पर्यो,” उनले भने।
पछिल्लो समयमा भने उनले खेललाई लक्षित गरेर ७० भन्दा बढी परेवा पालिरहेका छन्। गएको वैशाखमा सम्पन्न भएको प्रतियोगितामा सबैभन्दा धेरै समय परेवा उडाएर विजयी भएको ताजा अनुभव उनीसँग छ। सुगतको परेवा ३८ घण्टा ३० मिनेटसम्म आकाशमा उडेका थिए। अहिले परेवा पाल्नुको प्रमुख आकर्षण नै खेल भएको उनी बताउँछन्।
काठमाडौँकै भिमसेनथान निवासी चन्द्रमान श्रेष्ठले घरपालुवा परेवा बेच्न थालेको झन्डै ३० वर्ष भयो। उनी अहिले पनि विभिन्न जातका परेवाहरू बिक्री गर्छन्। उनले बिक्री गर्नेमा लक्का, जाग, कागजी, लालसरा, सब्जा, फुलसरा नामले चर्चित परेवाहरू छन्। यी सबै परेवाका प्रजाति भारतबाट ल्याइएको उनी बताउँछन्।
“मैले परेवा पाल्न थालेको ४६ वर्ष भयो। मन्दिर र बाटोबाट केही जोर परेवा ल्याएर पाल्न थालेको थिएँ। ३० वर्षअघि भारतको बनारस गएपछि त्यहाँका परेवा मन परेर ल्याएँ। त्यतिबेला नेपालमा सेतो र जंगली मलेवा मात्र पाइन्थ्यो, तर भारतमा भने निकै प्रकारका लोभलाग्दा परेवा रहेछन्।
उनले नयाँ प्रजातिका परेवा भित्र्याएपछि नजिकका छरछिमेकले किन्न थाले। ल्याएको मूल्यमा केही प्रतिशत मुनाफा राखेर बेचे। “त्यहीँबाट मेरो व्यापारिक यात्रा शुरू भयो। त्यसयता लगातार व्यापार गरिरहेको छु,” चन्द्रमान भन्छन्।
त्यसबेला उनलाई व्यापारमा भ्याइनभ्याई हुन्थ्यो। अहिले भने व्यापार घटेको उनले बताए। चन्द्रमानको अनुभवमा अहिले जम्मा ५ प्रतिशत मात्रै व्यापार हुने गरेको छ। दैनिक ३० देखि ४० जनासम्म ग्राहक आउने र ३० देखि ७० हजारसम्मको व्यापार हुने गरेकोमा अहिले निकै कम छ।
उनका अनुसार पहिला मानिसहरू घरमै पाल्न र बिहानबेलुकी उडाएर आनन्द लिन परेवाहरू किन्ने गर्थे। साथै बाल दिवस, राजारानीको जन्मोत्सवका साथै अन्य विभिन्न कार्यक्रममा परेवा उडाइने भएकाले त्यसबेला धेरै माग आउने गरेको उनी सम्झन्छन्। अहिले भने त्यस्तो प्रचलन हराउँदै गएको र आवश्यक परेमा आफैले विदेशबाट आयात गर्न सकिने भएकाले पनि व्यापार घट्दै गएको उनको भनाइ छ।
परेवा बिक्री कम हुन थाले पनि परेवाप्रतिको लगावले यो पेसा छाड्न नसकेको चन्द्रमान बताउँछन्। बाँचुञ्जेल परेवा पालनमै बिताउने उनको सोच छ। “छोराहरूले परेवा हटाऊ, घरका खाली ठाउँ भाडामा देऊ भन्छन्। तर म भने मान्दिनँ। यही व्यापारबाट घरखर्च चलाएको थिँए। अझै पनि मन भरिएको छैन, त्यसैले जीवित रहुन्जेल यो चलिरहन्छ।”
परेवाका प्रकार र मूल्य
विश्वमा परेवाका ८०० भन्दा बढी प्रजाति रहेको पाइन्छ। परेवालाई सौन्दर्य पन्छी (फेन्सी बर्ड), उडान पन्छी (रेसर बर्ड), हाई फ्लायर र लो फ्लायरका रूपमा पनि वर्गीकरण गरिएको छ। नेपालमा भने वर्षाैं अघिदेखि ‘कोलम्बियन पिजन’ धेरै स्थानमा रहेको पाइन्छ जसलाई ‘रक पिजन’ वा ‘रक डोभ’ पनि भनिन्छ। यसलाई नेपालीमा भने मलेवा भन्ने गरिएको छ।
यस्ता परेवा कोलम्बियामा साझा प्रजातिका घरपालुवा परेवा हुन्। नेपालमा भने घरमा बस्ने भए पनि यसलाई घरपालुवा परेवा नमानिने जानकारहरू बताउँछन्। यो प्रजातिको परेवामा मानिससँग नजिक नहुने, धेरै नउड्ने, खेतबारीका खानेकुरा खाएर जीविकोपार्जन गर्ने लगायतका विशेषता हुन्छन्।
तराई र पहाडका अधिकांश क्षेत्रका साथै काठमाडौँ उपत्यकाका मठमन्दिरमा कोलम्बियन पिजन देख्न पाइन्छ। यसका अलावा विभिन्न देशबाट भित्र्याइएका केही आगन्तुक प्रजाति पनि यहाँ देखिन्छन् जसमा टेड्डी, कमंगर, कागजी लगायतका पर्छन्। यीभित्र पनि विभिन्न प्रकार रहेको पाइन्छ।
टेड्डीः टेड्डी प्रजातिको परेवा ‘जोन्सिरी’ नामक पोथी र ‘मिसा’ नामक भाले परेवाको सम्मिश्रणबाट निकालिएको हो। यसको विकास पाकिस्तानबाट शुरू भएको हो। ९ देखि ११ घण्टासम्म उड्न सक्ने क्षमता रहेको यो परेवा नेपालमा उडानका लागि बढी प्रचलित छ। त्यसैले यसलाई ‘हाई फ्लायर’ मानिन्छ।

पाकिस्तानमा यस प्रजातिको परेवाको मूल्य प्रतिजोडी नेपाली रुपैँया दुई हजारदेखि ९० हजारसम्म पर्न जान्छ। यिनीहरूको उडानको क्षमता, पहिलेका गतिविधि, स्वास्थ्य, उमेर र विशेषताअनुसार मूल्य निर्धारण हुने जानकार बताउँछन्।
कमंगरः कमंगर परेवा शान्त स्वभाव र उडान क्षमताको लागि परिचित एक प्रजाति हो। यी परेवाहरू विशेषगरी घर चिन्ने क्षमता र उडानका लागि प्रसिद्ध छन्। यस्तो विशेषता खेल प्रयोजनका लागि महत्वपूर्ण मानिन्छ। कमंगर हाइफ्लायर भित्र पर्छ। यसका पनि विभिन्न उपप्रजातिहरू विकास गरिएका छन्। यसको मूल्य नेपाली रुपैयाँ दुई हजारदेखि एक लाखभन्दा माथिसम्म छ। परेवाको उपलब्धि, योग्यता, स्वास्थ्य र प्राप्त तालिमका आधारमा यसको मूल्यांकन हुने गर्छ।

कागजीः कागजी परेवाहरू भारतमा उत्पत्ति भएको मानिन्छ। यसका पनि बनारसी, पञ्जाबी, मद्रासी कागजी जस्ता विभिन्न नामहरू छन्। पातलो शरीर, तीव्र उडान र आकर्षक पंखजस्ता विशेषताहरूले यो प्रजाति लोकप्रिय छ। तालिम दिएर उडान प्रतियोगितामा सामेल गर्न सकिने भए पनि यो परेवा मुख्यतः सजावटका लागि प्रयोग गरिन्छ।

यो प्रजातिको परेवाको मूल्य अरूभन्दा सस्तो पर्न जान्छ। जोडीको एक हजारदेखि ५० हजार रुपैयाँसम्ममा यसलाई किन्न सकिन्छ। छिमेकी मुलुकमै उत्पत्ति भएको कारण नेपालमा वर्षाैं अघिदेखि नै यो परेवा पाइन थालेको हो। यसको प्रजनन् दर धेरै छ।
फ्यान्टेलः भारत, पाकिस्तान, चीन, अमेरिका लगायतका देशमा उत्पत्ति भएर फैलिएको यो प्रजातिको परेवालाई ‘फ्यान्सी परेवा’को रूपमा लिइन्छ। एकै रङ भएको, मयुरको जस्तै पखेटा भएको, हेर्दा आकर्षक र शान्त स्वभाव नै यसको विषेशता हो। आकर्षण र सोखका लागि पालिने भएकाले यसलाई फ्यान्सी परेवा मानिएको हो। यसका लक्का, मसक्कली लगायतका विभिन्न नाम छन्। यसको मूल्य प्रतिजोडी एक हजारदेखि ५० हजारसम्म पर्ने जानकारहरू बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा महँगो पर्ने यी परेवा स्वदेशी बजारमा भने कम मूल्यमै पाउन सकिन्छ। छिमेकी मुलुकमा उत्पत्ति भएका अधिकांश परेवा देशभित्रै सजिलै उत्पादन गर्न सकिने भएकाले मूल्य कम पर्ने व्यवसायी चन्द्रमान श्रेष्ठ बताउँछन्। उनका अनुसार विदेशबाटै ल्याउँदा भने परेवाको मूल्य बढी पर्ने र आयात प्रक्रियामा पनि खर्च लाग्ने भएकाले लागत बढी पर्छ।
परेवा उडाउने खेल कसरी खेलिन्छ?
विगत २५ वर्षयता प्रत्येक वर्षको वैशाख महिनामा नेपाल परेवा उडान खेल संघले परेवा उडान प्रतियतेगिता आयोजना गर्ने गरेको छ। यस खेलमा सबैभन्दा लामो समय उडेको परेवालाई विजयी घोषणा गर्ने गरिन्छ। यसका लागि प्रतिस्पर्धीले परेवालाई घर चिनाउने लगायतका तालिम दिने गर्छन्।
प्रतिस्पर्धामा सामेल हुन संघमा आवद्ध भई खेलको नियम पालना गर्ने प्रतिवद्धता चाहिन्छ। यो प्रतियोगिता करिब एक महिनासम्म चल्छ। प्रतिस्पर्धीहरू मध्येबाट सबैभन्दा धेरै उडेका ४२ वटालाई छानिन्छ र तीबीच पुनः प्रतिस्पर्धा गराई प्रथम, दोस्रो र तेस्रो स्थानका विजयी घोषणा गरिन्छ। लगातार तीन पटकसम्म प्रथम हुने प्रतियोगीले चाँदीको शिल्ड पाउँछ। हालसम्म कसैले पनि यो शिल्ड प्राप्त नगरेको संघका सचिव श्रृसनलाल श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
