प्रचार–प्रसार नहुँदा ओझेलमा 'पामडाँडा'

सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना गाउँपालिकाकाे छ।

भरतपुर– चितवनको पामडाँडा विकास र प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ। इच्छाकामना गाउँपालिका–५ मा पर्ने पामडाँडा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको दृश्य देख्न सकिन्छ। मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटर यात्रापछि सो स्थानमा पुग्न सकिन्छ। मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन्। पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताए।

“हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ”, उनले भने, “बिहानै सूर्योदय र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ।” यतिबेला लटररम्म सुन्तला फलेका छन्। यसले पनि दृश्य थप मनोरम बनाएको छ।

यहाँबाट तीन किलोमिटर यात्रा गर्दा इच्छाकामना मन्दिर पुगिन्छ। राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्रधानाध्यापक यानबहादुर गुरुङका अनुसार तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर पनि देख्न सकिन्छ। पामडाँडा नजिकै साठीमुरेमा होमस्टे छ। १५–२० जना पाहुनालाई राख्न सक्ने क्षमता यहाँका होमस्टेको व्यवस्था गरिएको छ।

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना रहेकाे वडासदस्य गुरुङकाे भनाइ छ। गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएका छन्। नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ। पामडाँडाको पर्यटन विकास गरेर फाइदा लिन सकिने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिए।