नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, स्कटल्यान्डले पायो १३८ रनको लक्ष्य

नेपालका लागि तल्लोक्रमका ब्याटर गुलशन झाले सर्वाधिक २९ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

तस्वीरः क्यान

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ।

युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको हो।

नेपालका लागि तल्लोक्रमका ब्याटर गुलशन झाले सर्वाधिक २९ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

२८.५ ओभरमा ९४ रन बनाउँदै ७ विकेट गुमाउँदा क्रिजमा आएका गुलशनले एक साइडबाट इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी ३७.४ ओभरमा माइकल लिस्कको बलमा बोल्ड भए।

गुलशनबाहेक शीर्ष क्रमका ज्ञानेन्द्र मल्लले ३९ बलमा ३ चौकासहित २५ रन बनाए। ओपनर अर्जुन साउद १८, कप्तान रोहित पौडेल १७ र आरिफ शेख १० रनमा आउट हुँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि क्रिस्टोफर सोलेले सर्वाधिक ३ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित १२ रन खर्चिए।

यता, मार्क वाटले दुई विकेट लिए। सफायान सरिफ र ब्रान्डन मिकमुलनको नाममा १/१ विकेट रह्यो। नेपालले शुक्रबार पहिलो खेलमा घरेलु टोली नामिबियासँग अंक बाँडेको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकमा नामिबियालाई १९८ रनको लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङ्समा नामिबियाले ४ बल खेलेर ४ रन बनाउँदै गर्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।