महिलाहरूको इतिहास नलेखिको मात्र होइन, उनीहरूको अनुभव र भोगाइ इतिहासबाट टाढै राखियो। यसरी इतिहास शक्तिशालीको मात्र नभएर शक्तिशाली पुरुषको कथा बन्न पुग्यो।
अग्रिम नोट: यो लेख पढ्दापढ्दै सोच्न र सोच्दासोच्दै पढ्न अनुरोध छ।
एक लाख वर्षपहिले
तपाईं अहिले यो लेख कस्तो ठाउँमा बसेर पढिरहनुभएको छ? ढलान गरेको घर, धेरै अग्लो अफिस, उज्यालो पुस्तकालय, अँध्यारो शौचालय या अन्य केही। अब सोच्नुहोस्। तपाईं बसेको यो ठाउँ आजभन्दा ५० वर्षपहिले (२०३१ सालमा) कस्तो थियो होला, यहाँ कस्ता घर थिए होलान् या खेत थियो होला? अझै पर जाऊँ– सोच्नुहोस्, यो ठाउँ आजभन्दा १०० वर्षपहिले (१९८१ सालमा) कस्तो थियो होला? ठूलो खेत थियो होला या जंगल?
अझै पर जाऊँ– यो ठाउँ आजभन्दा ५०० वर्षपहिले कस्तो थियो होला? त्यो बेला आजजस्तो देशका अवधारणाहरू थिएन। के तपाईं त्यो बेलामा पुग्ने मौका पाउनुभयो भने बिनाभिजा अमेरिका या युरोप जानुहोला र उतैको नागरिकता लिनुहोला? अझै पर जाऊँ, यो ठाउँ आजभन्दा २०,००० वर्षपहिले कस्तो थियो होला? खेतीपाती पनि थिएन होला। सायद कुनै ठूलो तलाउ थियो होला। सायद कुनै जंगली जनावरले तपाईंलाई आक्रमण गरेर घाइते तुल्याउन सक्थ्यो होला। त्यो जनावर मानौँ भुत्ला भएको हात्ती (म्यामथ) थियो, जुन आजभन्दा ४,००० वर्षपहिले लोप भयो।
अझै पर जाऊँ, आजभन्दा एक लाख वर्षपहिले जब हिमयुग (आईस एज) चल्दै थियो। अहिले तपाईं रहेको ठाउँमा उतिखेर हुनुहुन्थ्यो भने हिउँले पुरिनुहुने थियो। मानौँ तपाईं हिउँले पुरिएर छटपटाउँदै गरेको बेला एउटा सुन्दर आदि मानव आएर तपाईंको उद्धार गर्ने थियो। तपाईंको त्यही आदि मानवसँग प्रेम बस्न सक्थ्यो होला! के त्यो आदि मानवले कहिल्यै सोचेको होला कि ऊभन्दा एक लाख वर्षपछि उसले सिकार गरिरहेको ठाउँमा एउटा नेपाली नागरिकले एउटा लेख आफ्नो मोबाइल या ल्यापटपमा पढ्दै बसेको हुनेछ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि अहिले बसिरहेको यो ठाउँमा एक लाख वर्षपहिले कुनै एउटा आदि मानव कुनै जीवजन्तुको सिकार गरिरहेको थियो, जसलाई नेपाल देश, हिन्दू/बौद्ध धर्म, मोबाइल, पिज्जा, जिन्स प्यान्ट, चुरापोते, मोटरसाइकल आदि कुनै कुराको अनुमानै छैन।
अब फेरि सोच्नुहोस्, आजभन्दा एक लाख वर्षपछि तपाईं अहिले बसेकै ठाउँ कस्तो होला? यहाँ एक लाख वर्षपछि बसोबास गर्ने मानिस (वा रोबोट वा एआई वा अन्य कुनै जीव)ले के सोचिरहेको हुनेछन्? कि त्यो बेलासम्म मानिसले बढाएको जलवायु परिवर्तनले मानिसलाई नै सकिसकेको हुनेछ र त्यो बेलाको पृथ्वी हालको मंगल ग्रहजस्तो हुनेछ? हामीले हाम्रो भविष्य कसरी निर्माण गर्दै छौँ? हाम्रो भविष्य निर्माण गर्दा भावी पुस्ताको इतिहासमा कस्तो असर पुर्याउँदै छौँ?
अब फेरि वर्तमानमा फर्कौं। हाम्रा पुर्खा हिमयुगको जाडोले कठ्याङ्ग्रिएर वा भुत्ला भएको हात्तीले कुल्चिएर मरेका भए सायद हामी यहाँ हुँदैन थियौँ। यो लेख लेख्ने मान्छे म र पढ्ने मान्छे तपाईं, पनि यहाँ हुनु हुने थिएन। तर त्यस्तो भएन। तपाईं र म यहाँ हुनमा हाम्रा बाउआमा, उहाँहरूका बाउआमा, उहाँहरूका बाआमाका बाउआमा सबैको पुस्तौँ पुस्ताको योगदान छ। त्यसैले तपाईं यहाँ हुनु र म यहाँ हुनुमा तपाईंको र मेरो मात्र नभएर लाखौँ वर्ष पुरानो त्यो आदि मानवको पनि योगदान छ, जो हाम्रो हिमयुगको बाजे वा बज्यै हुन सक्छन्। आजभन्दा ५,००० वर्ष पहिलेदेखि दुई लाख वर्ष पहिलेसम्मको आदि मानवको इतिहास लिखित इतिहासभन्दा पहिलेको हुने भएकाले ‘इतिहासअघिको इतिहास’ नामक किताबमा मानवशास्त्री प्राध्यापक सुरेश ढकाल यस्तो इतिहासलाई ‘प्राक्इतिहास’ भन्छन्।
इतिहासमा हराएका कुरा
मेरो सामान्यतया बानी छ किताबको शुरूको पानादेखि अन्तिमको पानासम्म पढ्ने। मेरो बाको किताब पढ्ने – मुख्यगरी गैरआख्यान पढ्ने – बडा अनौठो बानी छ। कुनै नयाँ किताब समातेको ५ मिनेटमा बा किताबको बीचतिर पुगिसक्नुहुन्छ। १० मिनेटमा अन्त्यतिर। र फेरि शुरू, बीच, अन्त्य गर्दै पढ्नुहुन्छ। यसो गरेर पूरा किताब पढ्नुहुन्छ।
यसपालि मैले सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास’ पढ्ने बेला शुरूको पानादेखि पढिनँ। अन्तिम अध्यायबाट शुरू गरेँ। पहिलो अध्यायलाई अन्तिममा पढेँ। इतिहासको किताब यसरी पढ्दा एउटा फाइदा के हुने रहेछ भने आफूलाई थाहा भएको सबैभन्दा नजिकैको इतिहास पहिले पढ्न पाइने रहेछ। हुन त माथिका तथ्यहरू थाहा नभएर कतै अलमल त हुने रहेछ, तर घटनाक्रमहरू नजिकबाट टाढाटाढा गर्दै बुझिने रहेछ। अझ सुरेश ढकालको किताबको अन्तिम अध्याय 'इतिहासको राजनीति र भविष्य' पढेपछि इतिहासमा राजनीति कसरी घुस्ने रहेछ र हामीले पढ्ने इतिहास कसरी एकपक्षीय वा शक्तिशालीको कथा बन्ने रहेछ भन्ने थाहा लाग्ने रहेछ।
इतिहास वा ज्ञान निर्माणमा शक्तिशालीको हात छ। नेपालको इतिहास राजा वा शासककेन्द्रित छ भनेर हामीले धेरैपल्ट पढिसकेका छौँ। आम मानिसकेन्द्रित इतिहास नेपालमा खासै प्रचलनमा छैन। मौखिक इतिहास, लोक भाकालगायत माध्यमद्वारा नलेखिएको इतिहास खोज्ने गरिन्छ। नेपालमा राज्यले नै सीमित जात र लिंगका मानिसलाई मात्र पढ्न लेख्न दिने गरेकाले पनि सबै जनाले आफ्नो इतिहास लेख्न पाएनन्।
जतिले पढेलेखे उनीहरूले पनि आफ्नो इतिहास लेखेर वा सङ्ग्रह गरेर राखेनन्। यस्ता कति इतिहास होलान्, जुन नलेखिएरै हराए। कति यस्ता इतिहास होलान्, जो राज्यले बहिष्कृत गर्यो वा नष्ट गर्यो। कति इतिहास राज्यबाट लुकाउँदै बचाइएको समेत होला। र, केही इतिहास राज्यले लेखेर हामीलाई पढायो होला। तसर्थ, हामीले जे पढ्यौँ, त्यसकै समेत शल्यक्रिया गर्न जरुरी छ। इतिहास एउटा मात्र हुँदैन, बहुइतिहास हुन्छ। प्रत्येक मानिसको आफ्नै कथा र इतिहास हुन्छ। र, ती प्रत्येक इतिहास विशेष हुन्छन्।
नेपालमा मात्र होइन, विश्वभर शक्तिशालीले इतिहास र ज्ञान निर्माण गर्ने गर्छन्। औपनिवेशिक शक्तिहरूले उपनिवेशमा गएर उनीहरूको इतिहास लेखे। जुन देशबारे इतिहास लेखे, त्यो एकपक्षीय थियो। त्यो रोमान्टिसाईज्ड थियो। प्राध्यापक एडवर्ड सईदले भनेजस्तो त्यस्तो इतिहास ओरिएन्टल (प्राच्यवादी वा पूर्वीय) थियो, जसमा पूर्वीय संस्कृतिलाई पश्चिमा संस्कृति र सभ्यताका अगाडि निम्नस्तरको दर्साइयो र सोही ज्ञानलाई सर्वव्यापी बनाइयो। यसरी पश्चिमा अध्येताहरूले पूर्वीय सभ्यतालाई आफ्नोभन्दा कमसल देखाएर औपनिवेशिक शक्तिलाई पूर्वीयहरूलाई 'सभ्य' बनाउने मिसनमा खटाइयो।
किताबमा सुरेश ढकालले डेस्मन्ड टुटुलाई उद्धृत गर्दै भन्छन् कि जब पश्चिमाहरू अफ्रिका आए, तब उनीहरूले अफ्रिकीहरूलाई सभ्यताको नाममा धर्म सिकाए र बदलामा उनीहरूको जमिन र जङ्गलमाथिको अधिकार खोसे। यसरी 'सभ्यता सिकाउन गएका' पश्चिमाहरूले धर्मको प्रचार र स्रोतको कब्जा मात्र गरेनन् उपनिवेश बनाइएका मानिसलाई संगठित रूपमा कम विकसित भन्ने ज्ञान निर्माण गरी उनीहरूको चरम श्रम शोषण गरे। उनीहरूको भाषा, संस्कृति र इतिहास मेटाउने काम पनि गरे।
नेपालजस्तो देश, जो आफूलाई कहिल्यै कसैको अधीनमा नरहेको सार्वभौम राष्ट्र बताउन चाहन्छ, उसका पनि औपनिवेशिक आरोह अवरोह रहे। तर नेपाली शासक र जनताले बेलायती औपनिवेशिक ब्रिटिस इन्डियालाई थुप्रै साथ र सहयोग गर्यो, जसका कारण नेपाल सिधै उपनिवेश हुनुपरेन। कतिले नेपाललाई बेलायतको आंशिक उपनिवेशको रूपमा पनि हेर्थे। बेलायती सरकारलाई खुशी पार्न सन् १८५७ को भारतीय सैन्य विद्रोह दबाउन जंगबहादुर स्वयं उत्रिए। सन् १८८६ पछि वीरशमशेरको पालादेखि नेपाली नागरिकलाई भारतीय सेनाको गोर्खा बटालियनमा नेपाल सरकारको सहमतिमै पठाउन थालियो। त्यसअघि सो काम अनौपचारिक रूपमा हुने गर्थ्यो। प्रथम विश्वयुद्धमा चन्द्रशमशेरले नेपालका सैनिकलाई बेलायतको पक्षमा लड्न पठाएपछि मात्र नेपाललाई सन् १९२३ मा बेलायतले सार्वभौमको संज्ञा दियो।
त्यो बेलाको भारतीय (ब्रिटिस इन्डियन) सेनामा जाने नेपालीहरूको चाखलाग्दो इतिहास निर्माण भएको छ। कुनै एउटा समय थियो, जब भारतीय गोर्खा सेनाका बारेमा कुनै पनि औपनिवेशिक सेनाको भन्दा बढी मसी खर्च भएको पश्चिमा विद्वानहरू बताउँथे। यस्ता लेख वा किताबहरूमा भारतीय गोर्खा सेनाको युद्ध कौशल, बहादुरी र बफादारीको गुणगान गाउँदै लेखिएका हुन्थे। भारतीय गोर्खा सेनाबारे यति धेरै लेखिए पनि ती सबै पश्चिमाहरूले पश्चिमाहरूका लागि पश्चिमा दृष्टिकोणबाट पश्चिमा शैलीमा लेखेका हुन्थे।
त्यसमा बहादुरीलाई यति बढाइचढाइ लेखिएको हुन्थ्यो कि भारतीय गोर्खा सेनाको संवेदना, दुःख, सुख, खुशी, आदिबारे बिरलै चर्चा हुन्थ्यो। त्यस्ता लेखमा बहादुर भए पनि गोर्खा सेना असभ्य रहेको भन्ने चर्चा हुन्थ्यो। भर्खरै भर्खर मात्र हो गोर्खा सेनामा काम गरेका मानिसले आफ्नो जीवन गाथा लेख्न थालेका। युद्ध लडेर आफ्नो वीरता देखाएर भिक्टोरिया क्रस (भीसी), मिलिटरी क्रस (एम्सी) जस्ता तक्मा पाएका नेपालीबारे नेपाली राज्यले इतिहासमा चर्चा गरेन। भीसी पाएका गजे घले, तुलबहादुर पुन, नेत्रबहादुर थापा, शेरबहादुर थापालगायतलाई नेपाली राज्यले कसरी आफ्नो इतिहासमा समावेश गरेन भन्ने कुरा इतिहासकार प्रत्युष वन्तले लेखेका छन्।
यसमा अझै ओझेलमा परेका त महिला हुन्। महिलाहरूको इतिहास नलेखिको मात्र होइन, उनीहरूको अनुभव र भोगाई इतिहासबाट टाढै राखियो। यसरी इतिहास शक्तिशालीको मात्र नभएर शक्तिशाली पुरुषहरूको कथा बन्न पुग्यो। हिस्ट्रीको सट्टा 'हिज् स्टोरी' भन्ने गरियो। इतिहासमा राजनीति मात्र घुसेन, पितृसत्ता पनि घुस्यो। बेलायती सेनाबाट निवृत्त मेजर राधा रावत, क्याप्टेन रुक्मणि देवान, १० गोर्खा राईफल्स्मा ३५ वर्ष काम गरेकी शोभादेवी क्षेत्री (आमाजी), सिंगापुरमा बीएफबीएस गुर्खा रेडियो स्थापना गर्ने लिना देवराजलगायत थुप्रै महिलाको नेपाल र नेपालीभाषी भारतीय क्षेत्रहरूबाट बेलायत, सिंगापुर, मलाया, हङकङलगायत ठाउँहरूको यात्रा र उनीहरूले भारतीय गोर्खा, बेलायती गोर्खा, र नेपालीलाई गरेको साथ र सहयोगको चर्चासम्म त के उनीहरू सम्पूर्ण रूपमा नेपाली इतिहासबाट परै राखियो र सामाजिक विस्मृतिमा परे।
सामाजशास्त्रीय कल्पना शक्ति
अगाडि भनेजस्तै, हाम्रो वर्तमान निर्माणमा हाम्रो इतिहास, हाम्रो पुर्खाको इतिहास, र हाम्रो जीवनी दुवैको ठूलो हात छ। तपाईंलाई यो लेख पढ्न योग्य बनाउन तपाईंको आफ्नो मिहिनेत त छँदै छ, यसमा भुत्ला भएको हात्तीसँग कुस्ती खेल्ने तपाईंको पुर्खा हिमयुगीन आदि मानवको पनि योगदान छ। त्यसैले समाज बुझ्न खोज्ने र चाहने मानिसले इतिहास नबुझी हुँदैन। समाज बुझ्न समाज र व्यक्तिको इतिहास र जीवनी र त्यसको अन्तरसम्बन्ध पनि बुझ्नुपर्छ। समाजशास्त्री सी राईट मिल्स्ले समाज र सामाजिक प्राणीहरूलाई बुझ्न इतिहास र जीवनीको महत्त्व दर्साए। उनका अनुसार कुनै पनि मानिसले इतिहास, जीवन र समाजभित्र यी दुईको सम्बन्धबारे बुझे मात्र समाज बुझ्न सकिन्छ। उनले यसलाई 'सोसियोलोजिकल इम्याजिनेसन' (समाजशास्त्रीय कल्पना शक्ति) भनी व्याख्या गरे।
यस हिसाबमा सुरेश ढकालको किताब निकै महत्त्वपूर्ण छ। यो किताबले हामीलाई इतिहास बुझाउँछ। इतिहास बुझे मात्र आफूलाई बुझ्न सकिन्छ। इतिहास, आफू र अन्य मानिसको सम्बन्धबारे बुझे समाजशास्त्रीय कल्पनाशक्ति बृहत् हुँदै जान्छ। समाजशास्री सी राईट मिल्स् मानिसको जीवन तिनको इतिहाससँग जोडिएको हुन्छ भन्छन्। तर सबै मानिसले आफ्नो व्यक्तिगत जीवनलाई इतिहासको बृहत्तर परिधिभित्र राखेर हेर्न जान्दैनन्। यस्तोमा समाजशास्त्रीय कल्पना शक्ति महत्त्वपूर्ण हुन्छ। सी राईट मिल्स्का अनुसार समाजशास्त्रीय कल्पनाशक्तिले हामीलाई इतिहास, जीवनी र समाजभित्र यी दुईको सम्बन्धबारे बुझ्न सिकाउँछ।
जीवनका आरोह अवरोह र इतिहासका पानाहरूलाई सँगै समेट्न सक्षम भएपछि मात्र कुनै पनि सामाजिक अध्ययन र प्रक्रियाको बौद्धिक यात्रा पूरा हुने विश्वास सी राईट मिल्स्को छ। कुनै पनि सामाजिक विश्लेषकले समाज बुझ्न तीन खाले प्रश्न सोध्नुपर्ने मिल्सको भनाइ छ। उनका ३ भनाई मेरो उल्थामा:
१. कुनै पनि समाजको संरचना समग्रमा कस्तो छ? समाजका मुख्य तत्त्वहरू के-के हुन् र तिनीहरूको एक अर्कासँग कस्तो सम्बन्ध छ? सामाजिक व्यवस्थाका अन्य विविधतासँग केकस्तो फरक छ? कुनै पनि सामाजिक व्यवस्था किन परिवर्तन हुन्छ वा त्यसले किन निरन्तरता पाउँछ?
२. कुनै पनि समाज मानव इतिहासको कुन मोडमा उभिएको छ? सो समाज के-कस्ता कारक तत्त्वहरूले परिवर्तनशील छ? समाजले मानवताको विकासमा कस्तो स्थान ओगट्छ र यसले के अर्थ राख्छ? हामीले अध्ययन गर्ने कुनै पनि सामाजिक प्रक्रियाले समय र इतिहासलाई कसरी असर गर्छ वा समय र इतिहासको सो सामाजिक प्रक्रियामा कस्तो असर परेको छ रु सो ऐतिहासिक समय अन्य समय भन्दा कसरी फरक छ? इतिहास निर्माणका अवधारणाहरू के के हुन्?
३. अहिलेको समाज र समयमा कस्ता मानिसहरू उपस्थित छन्? भविष्यमा अन्य कस्ता प्रकारका मानिसहरू उपस्थित हुनेछन्? उनीहरू कसरी छानिएका र बनाइएका, स्वतन्त्रता दिइएका र अन्यायमा परिएका र संवेदनशील बनाइएका र असंवेदनशील छन्?
चक्रीय इतिहास
इतिहासलाई पाश्चात्य ढंगबाट हेर्दा यो क्रमबद्ध रूपमा विकसित हुँदै जान्छ। किताबमा पनि उल्लेख छ कि मानिसले पहिले आगो पत्ता लगाउँछ, अनि पाङ्ग्रा पत्ता लगाउँछ, तामा, काँस, हुँदै फलाम पत्ता लगाउँछ। जब मानिसले कृषि पत्ता लगाउँछ, तब ऊ पहिलेजस्तो घुमन्ते जीवन त्यागेर एउटा ठाउँमा बस्न थाल्छ। यसरी सभ्यताको विकास हुन्छ। मानिस अविकसितबाट विकसित हुँदै जान्छ। यसरी सभ्यताको विकास हुँदै जाने – 'सोसल डार्विनिजम'को भाष्य समस्याग्रस्त छ।
उक्त भाष्यअनुसार कृषि गर्ने मानिस/समाज कृषि नगर्ने सिकारी वा घुमन्ते समाजभन्दा सभ्य मानिन्छ। यस्तो सामान्यीकरणले सबै मानिस, समाज र सभ्यताको एकैखाले इतिहास थियो र हुनुपर्छ भन्ने निचोड निकाल्छ। यस विषयमा मानवशास्त्री डेभिड ग्रेभर र पुरातत्त्वविद् डेभिड वेन्ग्रोले सन् २०२१ मा छापिएको आफ्नो किताब 'द डन अफ एभ्रिथिङ'मा थप चर्चा गरेका छन्। इतिहासकार युभाल नोवा हरारीकृत एकात्मक ढंगको विश्व इतिहासको समालोचना गर्दै छापिएको 'द डन अफ एभ्रिथिङ'ले बहुइतिहास र विकेन्द्रित इतिहासको कुरा गर्छन्।
'इतिहासअघिको इतिहास'का सबै घटनाहरू क्रमबद्ध रूपमा अगाडि बढेका छन्। यसमा सुरेश ढकाल ग्रेभर र वेन्ग्रोभन्दा हरारीतिर बढी ढल्केका छन्। तर इतिहास शृंखलाबद्ध रूपमा अगाडि बढ्दैन। यो त कतै तलमाथि, कतै दायाँबायाँ, कहिले पछाडि, कहिले अगाडि कहिले वृत्ताकार रूपमा बढ्छ। हालसम्मको प्राक्इतिहासका पाठहरूमा मूलतः प्राक्मानवहरूले धर्मजस्ता संस्थाहरूलाई कसरी परिकल्पना गरेका थिए भनी मानवशास्त्री र पुरातत्वविद्हरूले बुझ्दै आएका छन्।
तर व्यक्तिगत संस्था जस्तै: व्यक्तिगत सम्पत्ति, परिवार, विवाहलगायत विषयमा अझै पनि हामीले उनीहरूलाई अविकसित वा कम विकसित ठानिरहेका छौँ। सायद अहिलेका यी संस्था र प्रागैतिहासिक संस्थाहरूबीच खासै फरक थिएन होला। वा, प्रागैतिहासिक संस्था अहिलेका भन्दा पनि अझै परिष्कृत थिए होलान्। सायद हामीले पो उनीहरूको जीवनशैली बुझिरहेका छैनौँ र उनीहरूलाई नै अविकसित सोचिरहेका पो छौँ कि? किताबले यो विषयमा थप आलोचनात्मक समीक्षा गरेको छैन।
इरानी दार्शनिक रामिन जाहनबेग्लुले यस्तोखाले एकात्मक इतिहासको अवधारणालाई आलोचनात्मक समीक्षा गर्दै भन्छन् कि सबै सभ्यताहरूको आ-आफ्नै महत्त्व हुन्छ र जुनसुकै सभ्यताले अरू सभ्यताबाट राम्रा पक्ष साभार गर्न सक्नुपर्छ। यसरी एकअर्काको राम्रा पक्षमा केन्द्रित रहँदा सभ्यताहरूबीचको फरक र समानता देखिन्छ, तर उनीहरूमा कुनै बढी र कुनै कम सभ्य भन्ने विभेद रहँदैन। औपनिवेशिक शक्तिहरूले आफूलाई बढी सभ्य र उपनिवेशलाई कम सभ्य भनी चित्रण गर्दै सोही खाले इतिहासको निर्माण गरेका थिए। सुरेश ढकालको किताबले यो पक्षलाई केन्द्रमा राखेको देखिँदैन। किताबले इतिहासमा राजनीति घुसेको त बताउँछ, तर ज्ञान निर्माणकै क्रममा कसरी सुनियोजित किसिमले एउटा सभ्यताले अर्को सभ्यतालाई नीच देखाउँछ भन्ने विषयमा गहिराइमा जाँदैन।
किताबमा केही सामान्य कमजोरी भेटिनुलाई अन्यथा नमान्दा मानवशास्त्र र पुरातत्त्व बुझ्न चाहनेका लागि निकै उपयोगी छ। नेपाली भाषामा यति मज्जाले आजभन्दा पाँच हजार वर्षदेखि दुई लाख वर्षको इतिहास २४० पृष्ठमा अटाउने काम चानचुने होइन।
सुरेश ढकाललाई नोट: सुरेश ढकालको कलम यो र यस्ता अन्य विषयमा निरन्तर चलिरहोस्। साथै, उनले किताब र लेख लेखेर अझै लेख्न हौस्याउन तपाईं र मजस्ता मानिसको पनि कलम (वा ल्यापटपे टाइप) अझै दौडिरहोस्।
पाठकलाई नोट: यो किताब पढ्ने मानिसको सोच फराकिलो हुँदै जान्छ। कुनै बेला बाँदरजस्तो मानिस ढुंगा बनाउँदै, आगो पत्ता लगाउँदै अहिले एआई (आर्टिफिसियल ईन्टेलिजेन्स) सम्म आइपुगेको उसले सोच्न थाल्नुकै परिणाम हो। किताबले देश, धर्म र अस्तित्वमाथि प्रश्न गरेको छ। यसले अझ उदार भएर सोच्न मलाई प्रेरित गरेको छ। शायद, तपाईंलाई पनि गर्ला। किताब पढेर समाज बुझ्न, इतिहास बुझ्न, सभ्यता बुझ्न, र विज्ञान बुझ्न तपाईँलाई सजिलो हुनेछ। किताब पढेर नवीन सोच आओस् भन्ने मेरो कामना छ। सोच्ने क्रम निरन्तर जारी राखौँ।
अन्तिम नोट: यो लेख किताबको समीक्षा होइन। यी माथिका हरफ मैले सुरेश ढकालको किताब पढ्दा मनमा उब्जेका सोच हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
