अटिस्टिक बालबालिकाले अभिभावकको योगदानको सम्मान स्वरूप सांस्कृतिक नाच, झाँकीलगायतका प्रस्तुति गरेका छन्।
काठमाडौँ– मञ्चमा केही बालबालिका दौडिरहेका थिए त कोही भर्याङमा तल–माथि गर्दै थिए। उनीहरूलाई अभिभावक, शिक्षकले मायाका साथ डोर्याइरहेका थिए। यो दृश्य शनिबार जमलस्थित सांस्कृतिक नाचघरमा अभानी फाउन्डेसनले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको हो। सांस्कृतिक कार्यक्रमलाई फाउन्डेसनले ‘अभिभावक दिवस’का रूपमा मनाएको छ।
अभिभावकहरूको योगदानको सम्मान स्वरूप फाउन्डेसनमा आबद्ध शिक्षक, थेरापिस्टको सहयोगमा अटिस्टिक बालबालिकाले विभिन्न सांस्कृतिक नाच तथा झाँकीसहितको प्रस्तुति गरेका थिए। बालबालिकाको सांस्कृतिकको उद्घोषण अभानी प्रधान र मयम श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।
फाउन्डेसनकी संस्थापक प्रज्ञा प्रधानले स्वागत मन्तव्य राख्दै कार्यक्रमको अभिप्रायबारे बताइन्, “अटिजम भएका बालबालिकाको जीवनमा अभिभावको भूमिका निकै बलियो हुन्छ। अभिभावक अभिभावक मात्र नभई शिक्षक, साथी र बलियो सर्पोट सिस्टम हुन्।” यस क्रममा अभिभावकको माया, सहयोगीपन र बलिदानले नै बच्चाको उज्ज्वल र सुरक्षित भविष्य तय गर्ने उनको भनाइ थियो।

उनी आफैँ पनि अटिस्टिक बालिकाको अभिभावक हुन्। पेसाले इन्जिनियर प्रधानले आफ्नो छोरी अभानी प्रधानमा अटिजम पहिचान भएसँगै पेसालाई छाडेर छोरीको हेरविचार हेर्न थालिन्। अभानीको उपचारका निम्ति देश–विदेशको कठिन दौडधुपपश्चात् नेपालमै अटिजम भएका बालबालिका र अभिभावको सहजतालाई मध्यनजर गर्दै दुई वर्षअघि औपचारिक रूपमा अभानी फाउन्डेसनको स्थापना भएको प्रधानले बताइन्।
उनको भनाइमा समर्थन राख्दै डा. मनोहरलाल श्रेष्ठ अटिजम भएका बालबालिकाका लागि अभिभावकको पूरा ध्यान र समय आवश्यक हुने बताए।
अभानी फाउन्डेसनले अटिजम भएका बालबालिकाका लागि शैक्षिक वातावरण मात्र नभई अभिभावकका लागि समेत यससम्बन्धी अकुपेसनल थेरापी, स्पिच थेरापी, रेडियो थेरापी, म्युजिक ट्रिटमेन्टजस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले नेपालमा अटिजमजस्तो स्वास्थ्य समस्याका विषयमा प्रशस्त बहस हुन नसकेको बताए। “हामी अझै पनि हैजा, झाडापखालाजस्ता सङ्क्रामक रोगको निदानमा केन्द्रित हुनुपर्ने अवस्था छ,” उनले भने, “अटिजमजस्तो क्रोनिक स्वास्थ्य समस्याको गहन छलफल तथा कानूनी व्यवस्था हुन सकेको छैन।”
उनले यसमा व्यक्तिगत तथा संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। देशभर छरिएका अटिजमका क्षेत्रमा काम गरिरहेका अभानीजस्ता विभिन्न संस्थाहरू मिलेर अघि बढ्न सके कानून निर्माणको पक्षलाई पनि प्रभावकारी बनाउन सकिने उनको सुझाव थियो।
कार्यक्रममा फाउन्डेसनले संस्थालाई विभिन्न माध्यमबाट सहयोग पुर्याउन व्यक्ति तथा दाताहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
