क्रिस्टोफरको अलराउन्डर प्रदर्शनमा नेपालमाथि स्कटल्यान्डको जित

स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो।

क्रिस्टोफर सोलेको अलराउन्डर प्रदर्शनमा स्कटल्यान्डले आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय ओडीआई सिरिजमा नेपाललाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो। स्कटल्यान्डका लागि क्रिस्टोफरले सर्वाधिक ४३ रन बनाए। उनले ४७ बलमा ७ चौका प्रहार गरे।

यता, ब्रेन्डन म्याकमलनले अविजित रहँदै ३४ बलमा २ चौका र १ छक्कासहित ३२ रन बनाए। माइकल लिस्कले २२ रन बनाउँदा जर्ज मुन्सेले १७ रनको योगदान दिए।

नेपालका लागि गुलशन झा, सागर ढकाल  र ललित राजवंशीले २/२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा भने १ विकेट रह्यो।

त्यसअघि युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो।

नेपालका लागि तल्लोक्रमका ब्याटर गुलशन झाले सर्वाधिक २९ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

२८.५ ओभरमा ९४ रन बनाउँदै ७ विकेट गुमाउँदा क्रिजमा आएका गुलशनले एक साइडबाट इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी ३७.४ ओभरमा माइकल लिस्कको बलमा बोल्ड भए।

गुलशनबाहेक शीर्ष क्रमका ज्ञानेन्द्र मल्लले ३९ बलमा ३ चौकासहित २५ रन बनाए। ओपनर अर्जुन साउद १८, कप्तान रोहित पौडेल १७ र आरिफ शेख १० रनमा आउट हुँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि क्रिस्टोफर सोलेले सर्वाधिक ३ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित १२ रन खर्चिए।

यता, मार्क वाटले २ विकेट लिए। सफायान सरिफ र ब्रेन्डन म्याकमलनको नाममा १/१ विकेट रह्यो। नेपालले शुक्रबार पहिलो खेलमा घरेलु टोली नामिबियासँग अंक बाँडेको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकमा नामिबियालाई १९८ रनको लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङ्समा नामिबियाले ४ बल खेलेर ४ रन बनाउँदै गर्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।

जितसँगै ३० खेल खेलको स्कटल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। ६ खेल बाँकी रहँदा स्कटल्यान्डले २१ जित, ७  हार र १ खेलमा अंक बाँड्दै ४४ अंक जोडेको छ। स्कटल्यान्डले एक खेलमा भने वर्षका कारण अंक बाँडेको थियो।

यता, ३६ खेल खेलेको ओमान समान अंकको साथ दोस्रो स्थानमा छ। पराजित नेपाल २२ खेलमा ८ जित, १२ हार, १ बराबरीसहित १८ अंक जोड्दै छैटौँ स्थानमा यथावत् छ। नेपालले एक खेलमा भने वर्षका कारण अंक बाँडेको थियो।