माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।
पोखरा– शैक्षिक वर्ष २०८० मा एसईई दिने ५२.१४ प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’ भए। अझ सामुदायिक विद्यालयका तीन लाख २५ हजार ३३० परीक्षार्थीमध्ये दुई लाख १३ हजार ५३४ जना अर्थात् ६५.६३ प्रतिशत ननग्रेडेड भए। तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङ्ग खोलास्थित माछापुच्छ्रे माविबाट एसईई दिने ९४.९३ प्रतिशत उत्तीर्ण भएका छन्।
यो विद्यालयबाट एसईईमा सम्मिलित ७९ मध्ये ७५ विद्यार्थी उर्तीण भए। एसईईमा प्राप्त नतिजामा सामुदायिकतर्फ माछापुच्छ्रे मावि कास्कीमा पहिलो स्थानमा छ। अघिल्लो वर्ष पनि सामुदायिक विद्यालयतर्फ चौँथो स्थानमा थियो।
सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई व्यवहारिक सीपको दायरा फराकिलो बनाउने शिक्षण विधि प्रयोगका कारण विद्यालयले सफलता पाउँदै गएको छ। प्रधानाध्यापक सन्तोष आचार्य परीक्षामा सम्मिलित विद्यार्थीमध्ये तोकिएको अंकभन्दा माथि ल्याउनेलाई मात्र ‘उत्तीर्ण’ भन्न नमिल्ने बताउँछन्। “फेल भएका विद्यार्थीहरूले पनि केही न केही सिकेकै हुन्छ। हामी शिक्षकमध्ये पनि सबै विषयमा अब्बल त छैनौँ नि,” उनी भन्छन्।
माछापुच्छ्रे मावि अब्बल बन्दैजानुको कारण के हो त?
कमजोर विद्यार्थीलाई हौसला
प्रायः विद्यालयमा कक्षाकोठाभित्र छिर्ने जनाउ घण्टी १० बजे लाग्छ। माछापुच्छ्रे माविले भने अलग्गै शैली अपनाएको छ। १० बज्न १५ मिनेट बाँकी छँदै यस्तो घण्टी लाग्छ र विद्यार्थी मैदानमा जम्मा हुन्छन्। १५ मिनेटमा राष्ट्रगान गाउने र प्रार्थना गर्नेसँगै हरेक दिन तीन विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटनको मौका दिइन्छ।

“यसअघि हामीले आइतबार र सोमबार हाजिरीजवाफ प्रतियोगिता र मंगलबार प्रश्न सोध्ने गरेका थियौँ। मंगलबार हिडन ट्यालेन्ट शो गर्ने भनेका थियौँ। त्यसमा पनि जान्ने–जान्ने विद्यार्थी मात्रै अघि आउने भए,” आचार्य भन्छन्, “हिडन ट्यालेन्ट शोमा पनि जान्ने जान्ने विद्यार्थी मात्रै आए। अहिले कसको पालो पर्छ भनेर पहिले नै सूचना टाँस्दिने गर्छौँ। अहिले कक्षा ८ को पालो चलिरहेको छ।”
बिहानको सभामा प्रस्तुति दिने पालो सबै विद्यार्थीको आउँछ। नाच प्रस्तुत गर्नेदेखि गायन र वक्तृत्वकलालगायत रूचिको विषयमा विद्यार्थीले क्षमता देखाउँछन्।
कक्षाकोठामै पुस्तकालय
साना विद्यार्थीलाई पढ्ने बानी विकास गर्न कक्षा १ देखि ५ सम्म कक्षाकोठामै पुस्तकालय बनाइएको छ। पुस्तकालयमा किताबको चाङ भए पनि विद्यार्थीले नपढ्दा हुनु र नहुनुमा फरक नपर्ने प्रधानाध्यापक आचार्य बताउँछन्।
“समस्या के छ भने बुबाआमाले नै पढेनौँ, बुबाआमा पोखरा जाँदा मःम ल्याइदिन भन्छौँ तर किताब ल्याइदिन भन्दैनौँ,” आचार्य भन्छन्, “बुबाआमाले पनि कहिले (किताब) ल्याइदिनुहुन्न। कल्चर नै बसेको छैन।” अभिभावक आफू पनि पढ्ने र पढाउने विषयमा सचेत हुनुपर्ने उनी बताउँछन्।

सानो कक्षादेखि नै किताब पढ्ने बानी विकास गर्नुपर्ने उनको धारणा छ। साना बच्चालाई पढ्ने बानी विकास गराउन उमेर सुहाउँदो किताबसमेत विद्यालयले व्यवस्था गरिदिएको छ। “हामीले उमेरअनुसार किताब छुट्याएर कक्षाकोठामै राखिदिएका छौँ। बल्ल विद्यार्थीले आफ्नो उमेर समूहअनुसारको किताब पाए,” उनी भन्छन्।
कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि १८ वटा राम्रा कथा संग्रह गरेर विद्यालयले नै प्रकाशित गरेको छ। विद्यार्थीलाई किताब पढ्न दिने मात्रै होइन, घरघरै गएर जाँच्ने काम पनि शिक्षकहरूले गरिरहेका छन्। एउटै सामग्री पढिसकेपछि विद्यार्थीबीच छलफल चलाउने गरिएको छ।
पढाइ सरल बनाउन र बुझ्न सहजतका लागि सामूहिक छलफल चलाउनेदेखि विद्यार्थीका लागि उपयुक्त शैक्षिक सामग्री छनोट गरेर विद्यालयले नै उपलब्ध गराइरहेको छ।
‘वाल म्यागेजिन’ प्रकाशनदेखि पञ्चेबाजा समूह
कतिपय सामुदायिक विद्यालयमा अपर्याप्त साधनस्रोतका साथै शैक्षिक गतिविधि कम हुन्छन्। माछापुच्छ्रे माविले भने आफ्नै पहलमा शैक्षिक गतिविधिका लागि कोष बनाएको छ। “थोरै विद्यार्थी भएको ठाउँमा लायन्स क्लबले सहयोग गरिरहेको छ तर हाम्रोमा धेरै विद्यार्थी भएका कारण सहयोग आएन। अनि हामीले नै कोष खडा गर्यौँ। जन्मदिनमा चकलेटको साटो कोषमा रकम राखौँ भनेर शिक्षकबाट नै शुरू गरेपछि बढाउँदै लग्यौँ,” प्रधानाध्यापक आचार्य भन्छन्।
३७ जना शिक्षक सबैले जन्मदिनमा हजार रूपैयाँ ‘जन्मदिन कोष’मा दिने गरेका छन्। विद्यार्थीले पनि थोरैतिनो सहयोग गर्छन्। यो वर्ष विद्यालयले १०० रुपैयाँका दरले १५० विद्यार्थीलाई ‘मुना पत्रिका’को वार्षिक ग्राहक बनाइदिएको छ। जन्मदिन कोषमा सहयोग गर्नेलाई ग्राहक बनाइएको आचार्य बताउँछन्। विद्यालयले विद्यार्थीहरूको उमेर समूहअनुसारको पत्रिका ल्याएर पढ्न दिने पनि गरेको छ।

विद्यार्थीहरू हरेक महिनाको अन्तिम शनिबार ‘वाल म्यागेजिन’ प्रकाशित गर्छन्। कक्षाअनुसार पालैपालो वाल म्यागेजिन प्रकाशित गर्नु पर्छ। विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनदेखि छलफलको कार्यक्रम पनि उनीहरू नै गर्छन्।
शैक्षिक सत्र शुरू भइसकेपछि विद्यार्थीलाई फाराम दिएर उनीहरूको रूचिको विषय भर्न लगाइन्छ। विद्यार्थीको रोजाइअनुसार डान्स क्लब, म्युजिक क्लब, सिंगिङ क्लब, पञ्चेबाजा क्लब छन्। भलिबल, फुटबल, बास्केटबल खेल्ने रुचि हुनेका लागि पनि प्रशिक्षण गराइन्छ।
विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिलाउन हरदम लागिपरेका शिक्षकहरूले आफ्ना छोराछोरीलाई पनि सोही स्कूलमै पढाएका छन्। “मेरो छोरा पनि कक्षा ८ मा यहीँ स्कुलमा पढ्छ। नर्सरीबाटै यहीँ पढेको हो,” प्राचार्य सन्तोष भन्छन्, “आज स्कूल राम्रो भएर पढाउन लागेको होइन। आफ्नै स्कूलमा पढाउनुपर्छ सन्ततिलाई भनेर हामीले शुरू गरेका हौँ।”
शिक्षक शुशिला गुरुङ विद्यालय राम्रो बन्नमा सबैको मेहेनतले महत्वपूर्ण भूमिका खेलेको बताउँछिन्। “अपनत्व लिने काम गरेका छौँ। तलब पचाउने काम मात्रै गरेका छैनौँ। शिक्षकको कर्म के हो त्यो निभाएका छौँ,” उनी भन्छिन्।
दिउँसो ४ बजेपछि कक्षा सकिए लगत्तै शुरू हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई विद्यालयप्रति सधैँ आकर्षित गरिरहेको छ। “खेल्नेहरू खेल्ने, बाजा बजाउने बजाउने, नाँच्ने, गाउने गर्छन्। उनीहरूलाई पनि विद्यालयप्रति एकदमै रूचि जागेर आएको छ। विद्यालय कतिबेला जाउ जस्तो हुन्छ,” उनी भन्छिन्।
विद्यार्थी पनि गर्छन् शिक्षकको निगरानी
विद्यालयमा प्रायः शिक्षकले विद्यार्थीको निगरानी गर्छन्। तर माछापुच्छ्रे माविमा विद्यार्थीले पनि शिक्षकको निगरानी गर्छन्।
विद्यार्थीको हाजिरी सकिइसकेपछि प्रत्येक कक्षाको बाहिरपट्टी कक्षा शिक्षकले विवरण भर्छन्। अनुपस्थित विद्यार्थीलाई कक्षा शिक्षकले फोनै गरेर सोधीखोजी गर्छन्। नआउनुको कारण सोधिन्छ। अटेरी गर्ने विद्यार्थीलाई खोज्दै शिक्षक घरमै पनि पुग्छन्।
त्यसैगरी, शिक्षकले कक्षाकोठाभित्र बिताएको समयको अभिलेख विद्यार्थीले राख्छन्। त्यसका लागि माछापुच्छ्रे गाउँपालिकाले टीएचटी डायरी प्रयोगमा ल्याएको छ। “विद्यार्थीले पनि शिक्षकले दिने समय पूरा पाउनुपर्छ। मैले स्टाफ मिटिङमा भन्ने गर्छु, जति हामीलाई हाम्रो तलब यति हो भनेर ख्याल छ, विद्यार्थीलाई दिने समय पनि ख्याल गर्नुपर्छ,” उनी भन्छन्। शिक्षक र विद्यार्थी दुवैको उपस्थितिलाई कडाइका साथ लागू गरिरहेको उनको भनाइ छ।
शिक्षक निलराज अधिकारी विद्यार्थीको हितका लागि आफूहरूले लैजाने प्रस्ताव विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले कहिल्यै अस्वीकार नगरेको बताउँछन्। “मैले कुनै कार्यक्रम विद्यार्थीको लागि राम्रो हुने कार्यक्रम आँटे भने नाइँ भन्ने ठाउँ हुँदैन र कसैले भन्दा पनि। आफूलाई मन लागेको कार्यक्रम ल्याउन पाइएको छ,” उनी भन्छन्।
बालबालिकामैत्री मन्टेश्वरी
पोखरादेखि १४ किलोमिटर टाढा रहेको माछापुच्छ्रे माविले बालबालिकाका लागि मन्टेश्वरी कक्षा सञ्चालन गरेको छ। नर्सरी र मन्टेश्वरीका लागि आफ्नै किताब प्रकाशन गरेको छ।
निजी मन्टेश्वरीकै सुविधा बच्चालाई दिइरहेको प्रधानाध्यापक आचार्य बताउँछन्। मन्टेश्वरीको लागि मासिक ३०० रूपैयाँ लिइन्छ। “पोखराका मन्टेश्वरीहरू (गाडी लिएर) भुर्जङखोला आएका छैनन्। अलि तलसम्म आउँछन्। लामाचौरका मन्टेश्वरीहरू ठाँटीभन्दा तल आउँछन्। हाम्रोतिर आएका छैनन्,” उनी भन्छन्, “आए भने त अभिभावकले त्यस्तै खोज्छ। हामीले सकेसम्म मन्टेश्वरीले दिने सुविधा दिएका छौँ।”
विद्यालयले विभिन्न विभाग बनाएर विद्यार्थी र शिक्षकको जिम्मेवारी बाँडफाँड गरेको छ। कमजोर विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था, निश्चित प्रतिशत तोकेर अब्बल आउने विद्यार्थीलाई पुरस्कृत गर्ने जस्ता अभ्यास विद्यालयले गरिरहेको छ।
मातृभाषालाई जोड
भुर्जुङ खोला आसपास गुरुङ र तामाङ जातिको बाहुल्य छ। विद्यालयले कक्षा ४ मा गुरुङ र तामाङ भाषाको विषय पढाउने तयारी थालेको छ। यसबाट गैरगुरुङ र गैरतामाङ विद्यार्थीले पनि बहुभाषाको ज्ञान लिन पाउने प्रधानाध्यापक आचार्यको भनाइ छ।
शिक्षा प्रणालीलाई डिजिटल माध्यमको प्रयोगबाट सहज बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। विद्यालयमा शिक्षकले प्रत्यक्ष निगरानी राख्न र विद्यार्थीलाई इन्टरनेटको बानी कम गर्न ‘डे बोडर्स’ कक्षा पनि सञ्चालन गरिरहेको छ।
बेलामौकामा अन्य विद्यालयका अनुभवी शिक्षक बोलाएर कक्षा चलाउनेदेखि आन्तरिक परीक्षाको उत्तर पुस्तिका बाहिरका शिक्षकबाट जाँच्ने जस्ता अभ्यास पनि विद्यालयले गरेको छ। कक्षा १२ को हालै प्रकाशित नतिजामा ५५ जना विद्यार्थी सम्मिलत भएकोमा ३९ जना उत्तीर्ण भएका छन्। बाँकी १६ मध्ये १५ जनाले मौका परीक्षा दिन पाउने भएका छन्।
विद्यालय राम्रो हुन पारदर्शिता र सञ्चार सीप मुख्य भएको प्रधानाध्यापक आचार्यको भनाइ छ। अहिले मन्टेश्वरीदेखि १२ कक्षासम्म ६५९ विद्यार्थी अध्ययनरत छन्।
“विद्यालयका लागि सुविधा लिन पनि ख्याल गर्नुपर्छ। संस्था चल्ने कुरामा श्रमको सम्मान, छलफल गर्ने, सुझाव लिने, अनरसिप लिने, गल्ती भइहाल्यो भने त्यसमा जोगाउनुपर्ने हुन्छ,” उनी भन्छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमबहादुर गुरुङ सम्पूर्ण गाउँका अभिभावक एकताबद्ध भएर साथ दिएकाले नै विद्यालय अब्बल भएको बताउँछन्। दातृ संस्था र पूर्वविद्यार्थी परिवारले भवन बनाइदिएपछि गतिविधि पनि बढेको उनको भनाइ छ। “पहिले टिनको टहरो ढुँगाले छाएको सानो भवन थियो। हावाले उडाइदिएपछि भवन बन्यो,” उनी भन्छन्, “प्राचार्य र शिक्षकको लगनका कारण विद्यार्थीहरूमा सिक्ने हुटहुटी थपिदिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
