भारतले महाकालीमा तटबन्ध बनाउन खोजेपछि दार्चुलामा ढुंगा हानाहान

भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ। 

तस्वीर : भोजराज जोशी

काठमाडौँ– भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि ढुंगा हानाहान भएको छ। 

भारतीय पक्षले हानेको ढुंगा लागेर नेपालका प्रेमसिंह कुँवर र पुष्कर सिंह घाइते भएको प्रहरीले जनाएको छ। नेपालबाट हानिएको ढुंगा लागेर भारतर्फ पनि केही घाइते भएपनि उनीहरूको परिचय खुलेको छैन। 

दार्चुलाका प्रहरीप्रमुख डीएसपी तर्कराज पाण्डेले महाकालीमा भारतले एकपक्षीयरूपले तटबन्ध निर्माण गर्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध शुरू गरेको बताए। 

उनले भने, “भारतले नेपालतर्फ क्षति हुनेगरी पानी पठाएर तटबन्ध निर्माण गरेपछि नेपालबाट विरोध भएको हो। ढुंगा हानहान पनि भयो। तर, केहीबेरको तनावपछि वार्ता भएको छ। दुवै पक्षका प्राविधिकले अध्ययन गर्ने र एकतर्फ मात्रै क्षति हुनेगरेर काम नगर्ने सहमति पनि भएको छ।”