इरानको प्रदर्शन हिंसात्मक बन्दै, ७६ प्रदर्शनकारीको ज्यान गयो

इरानमा जारी सरकारविरोधी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी मिडियाले भने सुरक्षाकर्मीसहित ४१ जनाको मृत्यु भएको दाबी गरेको छ।

तस्वीर: एपी

इरानमा जारी सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म ७६ जना प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी मिडियाले भने सुरक्षाकर्मीसहित ४१ जनाको मृत्यु भएको दाबी गरेको छ।



प्रदर्शनका क्रममा २० जना पत्रकारसहित सयौँ पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले ‘स्वतन्त्रता अमर रहोस्', 'स्वतन्त्रता महिलाहरूको माग', 'क्रान्ति हाम्रो हातमा छ' भन्दै नाराबाजी गरिरहेका छन्।



प्रहरीले आन्दोलन रोक्न अनावश्यक बल प्रयोग गरेको र गोली समेत चलाएको नर्वेस्थित संगठन इरान मानव अधिकार (आईएचआर) को आरोप छ। प्रदर्शनकारीमाथि दुर्व्यवहार र यातनाको जोखिम बढेको गम्भीर विषय भएको र प्रदर्शनकारीमाथि गोली प्रहार गर्नु अन्तर्राष्ट्रिय अपराध भएको आईएचआरका निर्देशक महमूद अमिरी मोघाद्दामले बताए। इरानी जनताले आधारभूत अधिकारको माग गरेको र विश्वले त्यसकोे रक्षा गर्नुपर्ने उनले बताए। सरकारले भने हताहतीका लागि प्रदर्शनकारीलाई दोषी देखाइएको छ।



मुस्लिम समुदायका महिलाले कपाल ढाक्न प्रयोग गर्ने वस्त्र अर्थात हिजाब लगाउँदा कपाल देखिएको भन्दै इरानको नैतिक प्रहरीले २२ वर्षीय महसा अमिनीलाई १३ सेप्टेम्बरमा पक्राउ गरेको थियो। पछि आमिनीको प्रहरी हिरासतमै मृत्यु भएको थियो।



त्यसपछि शुरु भएको सरकार विरोधी आन्दोलन ११ दिनदेखि जारी छ। सेप्टेम्बर १७ मा आमिनीको अन्त्येष्टी भएयता इरानका १४ वटा प्रान्त ८० भन्दा बढी शहरमा आन्दोलन फैलिसकेको छ।आन्दोलनमा ऐक्बद्धता जनाउँदै युरोप, अमेरिकासहित विश्वका विभिन्न शहरमा प्रदर्शन भएको छ। सिरियाको कुर्दिस शहरमा समेत आमिनीको फोटोसहित हजारौँ महिलाहरू सडकमा उत्रिएका थिए। 



सर्वसाधारणसहित प्रतिष्ठित इरानी महिला तथा नायिकाहरूले सार्वजनिक स्थानमा हिजाब खोलेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा इरानका पूर्वराष्ट्रपति अकबर हाशेमी रफ्सान्जानीकी छोरी तथा सुधारवादी अभियन्ता फैजा हाशेमीसमेत पक्राउ परेकी छिन्। 



महिलाको पहिरनप्रति इरानको शिया मुस्लिम समुदाय अनुदार छ। अहिलेको आन्दोलनले इरानका शिया मुस्लिम धर्मगुरूहरूलाई वर्षौंपछि गम्भीर चुनौतीको सामना गर्न बाध्य पारेको छ। 



तेहरानका सांसद महमुद नाबाभियनले कपाल खुलै छाडेर प्रदर्शनमा उत्रिएका महिलालाई 'देह व्यापार गर्ने महिला'को संज्ञा दिँदै आन्दोलनको विरोध गरेका छन्। यस्तै, इरानका पूर्वमन्त्री अब्बास सलेहले हिजाब खोलेकी एक नायिकालाई कामबाटै बञ्चित गरिने धम्कीसमेत दिएका छन्।



इरानका प्रमुख धर्म गुरू अयोतोल्लाह हुसेनी नुरी हमादानीले भने नागरिकका समस्या सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। हमादानी भन्छन्, “सरकारले नागरिकका माग सुन्न, समस्या समाधान गर्न र उनीहरूका अधिकारप्रति संवेदनशील बन्न आवश्यक छ।”



यता, वासिंटनमा बोल्दै अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरान सरकारले महसा आमिनीको ज्यान लिएको आरोप लगाएका छन्। कुन पहिरन लगाउने वा नलगाउने भन्ने उनको निर्णयमा सरकारी हस्तक्षेप भएको ब्लिकेनको भनाइ छ। उनी भन्छन्, “इरानका महिलालाई आफूले के लगाउने भन्ने अधिकार छ, हिंसाबाट मुक्त हुनु उनीहरूको अधिकार हो।”  



आमिनीको प्रहरी हिरासतमा मृत्यु भएको विषयमा जवाफदेही बनाउन अन्तराष्ट्रिय पहल आवश्यक रहेको मानवअधिकारवादी अन्तराष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ। यस मुद्दालाई स्वतन्त्र, पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै एम्नेष्टीले जिम्मेवार सबैलाई निष्पक्ष परीक्षणका लागि न्यायको कठघरामा उभ्याउन आग्रहसमेत गरेको छ।