अपराजित रहँदै सुदूरपश्चिमले उचाल्यो यू-१९ क्रिकेटको उपाधि

कीर्तिपुर मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २१ ओभरमा पूरा गरेको थियो।

काठमाडौँ- अपराजित रहँदै सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।

लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले सर्वाधिक ३९ रन बनाए। उनले १९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, ओपनर दीपक बोहोराले ३६ बलमा २ चौका र २ छक्कासहित २५ रनको योगदान दिए।

कप्तान अनुराग सिंह भने २२ रन बनाएर क्याच आउट भए। तेस्रो विकेटका लागि दीपक र अनुरागले ४८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जिततर्फ धकेलेका थिए।

लुम्बिनीका लागि रमेश कुर्मीले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १६ रन खर्चिएर २ विकेट लिए। निर्मल गुरुङ र अभिषेक गौतमको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले २९.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो।

लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए। उनले ६९ बलमा २ चौका प्रहार गरे। उनीबाहेक नर सार्कीले मात्रै दोहोरो अंकमा रन जोड्न सकेन।

लुम्बिनीले १८ रन भने अतिरिक्त पाएको थियो।

लुम्बिनीलाई सस्तैमा समेट्न मिलन बोहोराले सर्वाधिक ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले २ मेडनसहित १५ रन खर्चिए। नरेन साउद र हेमन्त धामीले २/२ विकेट लिँदा आकाश चन्दको नाममा १ विकेट रह्यो।