विश्वविद्यालयमा भर्ना भएका कुनै पनि विद्यार्थीको पहिलो प्राथमिकतामा अध्ययन पर्दैन। शिक्षालाई सिधै अर्थोपार्जनसँग जोड्दा विश्वविद्यालयहरू भन्सार कार्यालय जस्ता भए।
नेपालमा प्रतिवर्ष लगभग २ लाख ५० हजार विद्यार्थी विद्यालय शिक्षाको अन्तिम परीक्षा (१२ कक्षा) उर्त्तीण गरी विश्वविद्यालय शिक्षाका लागि योग्य हुन्छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा ११ वटा केन्द्रीय विश्वविद्यालय ६ वटा प्रादेशिक विश्वविद्यालय र सात वटा केन्द्रीय तथा प्रादेशिक विश्वविद्यालयसरहका स्वायत्त प्रतिष्ठान छन्। तर सञ्चालमा रहेका कुनै पनि विश्वविद्यालय स्वाभाविक ढंगले सञ्चालन हुन सकिरहेका छैनन्।
नेपालबाट प्रतिवर्ष एक लाखभन्दा धेरै विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेसिरहेका छन्। विद्यार्थीले आफूसँगै अर्बौं रुपैयाँ पनि विदेश लिएर जान्छन्। त्यति मात्र होइन नेपालबाट प्रतिवर्ष लगभग पाँच लाखभन्दा धेरै युवा ज्यान जोखिममा राखेर रोजीरोटीको जोहो गर्न विश्वका विभिन्न मुलुकमा पुग्न बाध्य छन्। रोजीरोटीको जोहो गर्न बिदेसिनेमध्ये अधिकांश उच्चशिक्षा अध्ययन गर्ने उमेरका छन्। नेपालमै बसोबास गरिरहेका युवाको पनि उच्च शिक्षा अध्ययनमा खासै चासो देखिँदैन। विश्वविद्यालयमा भर्ना भएका कुनै पनि विद्यार्थीको पहिलो प्राथमिकतामा अध्ययन पर्दैन।
दुःखसाथ भन्नैपर्छ, वर्तमान समयमा नेपाली विश्वविद्यालय अनौठो विरोधाभास, अनिश्चितता, अन्योल र दिशाविहीनताबीच घिस्रिरहेका छन्। यिनै कारण उत्पन्न अनेकौँ बेथितिका चाङमा पुरिएका छन्। हाल सञ्चालनमा रहेका विश्वविद्यालयमा कतै पर्याप्त भौतिक पूर्वाधार र विद्यार्थी छन् तर पढाउने शिक्षक छैनन्। कतै पर्याप्त भौतिक पूर्वाधार र शिक्षक छन् तर पढ्ने विद्यार्थी छैनन्। कतै न पर्याप्त भौतिक पूर्वाधार छ न विद्यार्थी छन् न शिक्षक छन्। पर्याप्त भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थी सबै भएको विश्वविद्यालय पनि सहज रूपले सञ्चालन हुन सकिरहेका छैनन्। किन? किनकि नेपालमा शिक्षा कसैको पनि प्राथमिकतामा परेको छैन।
यसै पनि सम्भ्रान्तका छोराछोरीको अध्ययनको गन्तव्य कहिल्यै स्वदेशी शिक्षण संस्था बनेनन्। कमजोर आर्थिक हैसियत भएका अभिभावक र तिनका छोराछोरीले चाहिँ शिक्षाको गुणस्तरबारे बिरलै थाहा पाए। यता, विश्वविद्यालयमा कार्यरत प्राध्यापक, कर्मचारी पेन्सनरजस्ता भएका छन्। सरकार बेपरवाह छ भने विश्वविद्यालयको नेतृत्व अवाक् छ।
यस्तो अवस्थामा विश्वविद्यालयलाई आफ्नो अलग्गै पहिचान बनाउने कुरा त छोडौँ, आफ्नो अस्तित्व र औचित्य स्थापित गर्न पनि कठिन भइरहेको। हालसम्म स्थापना भएका कुनै पनि विश्वविद्यालय स्वाभाविक र सहज ढंगले सञ्चालन हुन नसकी संकटग्रस्त छन्। त्यसो हुँदाहुँदै पनि किन हो, नयाँ विश्वविविद्यालयको स्थापनार्थ लिगलिगे दौड चलिरहेकै छ।
विरोधाभास, अनिश्चितता, अन्यौलता र दिशाविहीनताका कारण उत्पन्न अनेकौँ बेथितिका चाङले पुरिएका विश्वविद्यालयको स्तरोन्नति एकदुई वटा टाउका फेरेर अनि एकदुई वटा व्यवहार मिलाएर मात्रै हुने देखिँदैन। राजनीतिक नेतृत्वले भाषणमा भन्ने गरेजस्तै विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने थलोको रूपमा विश्वविद्यालयलाई स्थापित गर्ने हो भने केही आधारभूत परिवर्तन गर्नैपर्छ। यस्तो आधारभूत परिवर्तनका लागि समाजका सबै तह र तप्काबाट इमानदार पहल गर्नुपर्छ। भाषण र छेउ न टुप्पाका चिया गफले विश्वविद्यालय सुधार सम्भव छैन।
विश्वविद्यालयलाई पहिचान दिऔँ
विश्वविद्यालय कुनै वस्तु उत्पादन गर्ने कारखाना होइन, न जागिर दिने रोजगारदाता कार्यालय हो। विश्वविद्यालय जागिर खाने, श्रमिक उत्पादन गर्ने तालिम वा सिप केन्द्र पनि होइन। सन् १९५० को दशकका दक्षिण एशियाका प्रभावशाली राजनीतिज्ञ जवाहरलाल नेहरूले भनेझैँ विश्वविद्यालय मानवतावाद, सहिष्णुता, तर्क, विचार र सत्यको खोजका लागि जन्मिएको या उभिएको संस्था हो। यसलाई अर्थोपार्जनका लागि पार गर्नुपर्ने सुरुङका रूपमा मात्र बुझ्नु हुँदैन। विश्वविद्यालयको डिग्री जागिर खाने योग्यताको प्रमाणपत्र हुनुहुन्न।
विश्वमा जुन देशका विश्वविद्यालयले यस अवधारणलाई आदर्श मानेर पछ्याए, तिनै विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयमा कहलिएका छन्। जुन देशमा विश्वविद्यालय शिक्षालाई प्रत्यक्ष आर्थिक लाभसँग विनिमय गर्न थालियो वा अर्थोपार्जनका लागि पार गर्नुपर्ने सुरुङका रूपमा लिइयो, त्यस्ता देशका विश्वविद्यालय वास्तविक विश्वविद्यालयका रूपमा खडा हुन सक्दैनन्। विडम्बना, नेपालमा विश्वविद्यालयलाई कहिल्यै पनि विश्वविद्यालयका रूपमा बुझ्ने, बुझाउने र हुर्काउने काम भएन।
नेपालमा समग्र शिक्षा, त्यसमा पनि विश्वविद्यालय शिक्षालाई सदैव कि त प्रत्यक्ष आर्थिक लाभ र हानिको विषय बनाइयो कि त हैसियतको मापदण्ड। पछिल्ला दिनमा त झन् ‘पढ्दै, कमाउँदै’को कर्णप्रिय नारा दिएर विश्वविद्यालयलगायत शिक्षण संस्थालाई कहिले वस्तु उत्पादन गर्ने कारखाना, कहिले श्रमिक उत्पादन गर्ने तालिम केन्द्र त कहिले जागिर दिने रोजगारदाता कम्पनीको रूपमा बुझ्ने, बुझाउने र हुर्काउने खेलोमेलो हुँदै आएको छ।
विश्वविद्यालय शिक्षालाई सिधै अर्थोपार्जनसँग जोड्दा विश्वविद्यालयहरू भन्सार कार्यालयजस्ता भए। विश्वविद्यालयको डिग्रीलाई एकातिर जागिर खाने योग्यताको प्रमाणपत्रमा सीमित गरियो, अर्कोतिर घमण्ड र अहंकारको प्रतीकका रूपमा बुझ्ने र बुझाउने गरियो। हुदाँहुदा ‘सेता हात्ती’, बेरोजगार उत्पादन गर्ने कारखाना, राजनीति गर्ने थलो, आसेपासे भर्ती केन्द्र, गुण्डागर्दीको अखडाजस्ता नकारात्मक भाष्यमार्फत नेपाली विश्वविद्यालय चौतर्फी आक्रमणमा पर्न थालेका छन्।
विश्वविद्यालयको स्तर उकास्ने हो भने सर्वप्रथम विश्वविद्यालयप्रतिको नकारात्मक भाष्यलाई चिर्नु जरुरी छ। त्यसका लागि विश्वविद्यालयलाई कारखाना, तालिम केन्द्र र रोजगारदाता कम्पनीको रूपमा बुझ्ने, बुझाउने र हुर्काउन खोज्ने अवधारणा परिवर्तन गर्नुपर्छ। विश्वविद्यालयलाई कारखाना, तालिम केन्द्र र रोजगारदाता कम्पनीको रूपको विकसित गर्नुको अर्थ मानवतावाद, सहिष्णुता, तर्क, विचार, दक्षता र क्षमताविहीन खोक्रो जनशक्तिको उत्पादन गर्नु हो। नेपालमा भइरहेको त्यही हो। जब मानिस वस्तुमा रूपान्तरण हुन्छ, त्यसबाट हुने उपलब्धि तोकिएको मूल्यमात्रै हो, त्यसले उत्पादकत्व बढाउन सक्दैन। उत्पादकत्व वृद्धि विनाको अर्थोपार्जनले राज्यलाई समृद्धितिर लान सक्दैन। त्यसकारण विश्वविद्यालय प्रतिको विद्यमान बुझाइ रहेसम्म नेपालमा विश्वविद्यालय सुधारको कुनै गुन्जाइस देखिँदैन।
विश्वविद्यालय शिक्षालाई प्रत्यक्ष आर्थिक लाभहानिसँग जोडेर हेर्दैगर्दा एकचोटि सोचौँ। नेपालमा व्यापक चलनचल्तीमा रहेको ‘पढ्दै कमाउँदै’ भन्ने नाराको पछि लागेर नेपालबाट प्रतिवर्ष एक लाखभन्दा धेरै युवा अध्ययनका लागि विदेश जाने गरेका छन्। अध्ययनका नाममा प्रतिवर्ष अर्बौं रुपैयाँ विदेश लगेका तिनले आफ्नो समाज र देशको उत्पादकत्व वृद्धिमा कति योगदान गरेका छन्? कतिले उच्चशिक्षा पूरा गरेर सम्मानित जागिर पाएका छन्? कतिले विषय विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिकका रूपमा देशविदेशमा नाम र दाम कमाएका छन्?
कुनै नेपाली विद्यार्थीले विदेशमा राम्रो जागिर पाएका छन्, विषयविज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिकका रूपमा देशविदेशमा नाम र दाम कमाएका छन् भने तिनैले कमाएका छन्। ठूलो धनराशि खर्च गरेर उच्चशिक्षा हासिल गर्ने नाममा विदेश गएकाले उतै पनि वस्तुको जिन्दगी बिताउनुपर्ने बाध्यताले पनि पुष्टि गर्छ कि शिक्षालाई प्रत्यक्ष रूपमा अर्थोपार्जनसँग विनिमय गर्दा विश्वको जुनसुकै कुनामा गए पनि उत्पादन हुने वस्तु नै हो। त्यसैले विश्वविद्यालयलाई सही तरिकाले बुझौँ, बुझाऊँ र हुर्काऊँ, लहडमा होइन।
विश्वासको खडेरी!
विश्वविद्यालय सुसंस्कारको निर्माण र सुसंस्कृत सिर्जनशील जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ भन्ने कुरामा सायदै कसैको विमति होला। जुन देशका विश्वविद्यालयले सुसंस्कारको निर्माण र सुसंस्कृत सिर्जनशील जनशक्ति उत्पादन गर्न सके तिनै विश्वविद्यालय विश्वभरका विद्यार्थीका लागि आकर्षणका केन्द्र बनेका छन्। जुन देशका विश्वविद्यालयले आफूलाई विश्वको शैक्षिक आकर्षणका केन्द्र बनाउन सफल भएका छन्, तिनै देशले विकास र समृद्धिमा फड्को मारेका छन्।
विश्वविद्यालयलाई सुसंस्कारको निर्माण र सिर्जनशील जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित गर्न कसैले पनि ठूलै त्याग गर्नुपर्ने, भएको गुमाउनुपर्ने केही छैन। ठूलै सोच र संरचनाको प्रादुर्भाव गर्नुपर्ने पनि छैन। विश्वविद्यालय पनि समाजकै अवयव हुन्। समाजबाट विश्वविद्यालय नितान्त अलग रहेर हुर्कन सक्दैनन्। सम्बन्धित समाजको यथार्थमा आधारित भई विश्वपरिवेशअनुरूप विश्वविद्यालयलाई विकसित गर्न केबल चाहिएको छ, जिम्मेवारीपूर्ण लगन र इमानदारी।
राम्रो लागेको नाममा समाजको धरातलीय यथार्थ नबुझी अन्यत्रको प्रयोग र कल्पनाका आधारमा नीति, विधि, विचार, पद्धति, प्रक्रिया तथा संरचनाको नक्कल गर्दा हाम्रा विश्वविद्यालय गुणस्तरीय एवं सुसंस्कृत बन्न सक्दैनन्। कसैको एकल प्रयासले मात्रै सुधार सम्भव हुन्न। विश्वविद्यालयसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने सबैको सामूहिक प्रयासले सुसंस्कृत विश्वविद्यालयको निर्माण हुनसक्छ। विश्वविद्यालयलाई सुसंस्कृत संस्थाका रूपमा विकास गर्ने प्रमुख जिम्मा विश्वविद्यालय स्थापना तथा सञ्चालनमा प्रत्यक्ष संलग्न हुने सरकार, विश्वविद्यालय नेतृत्व, कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीको हो।
विश्वविद्यालयको स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत, कानूनी तथा आर्थिक पक्षमा सबैभन्दा बढी जिम्मेवार र इमानदार हुनुपर्ने सरकारले हो। तर नेपाली शासकले शुरूआतदेखि नै शिक्षा र विश्वविद्यालय शिक्षाको अपनत्व लिन चाहेनन् र सधैँ गलत व्यवहार गर्दै आए। परिणामतः नेपालमा विश्वविद्यालय शिक्षा शुरूआत भएको छ दशक बितिसक्दा पनि सरकारले न त नीतिगत स्पष्टता र स्थिरता प्रदान गर्न सकेको छ, न त आर्थिक सुनिश्चितता नै।
केही अपवाद छोड्ने हो भने हाम्रा विश्वविद्यालयका नेतृत्व भक्ति, शक्ति र मस्तीमा चुर्लुमै डुब्दै गर्दा विश्वविद्यालयको हित र अहितबारे त्यसले सोच्ने फुर्सद नै पाउने गरेको छैन। विश्वविद्यालयको विकासमा यसमा कार्यरत शिक्षकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। दुःखसाथ भन्नुपर्छ, नेपालका विश्वविद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षक ‘गुरु’को दर्जामा त पुग्नै सकेनन्, औसत शिक्षक पनि हुन सकेका छैनन्। कारण हो, शिक्षकले शिक्षणलाई जागिरका रूपमा बुझे कहिल्यै प्रोफेसनका रूपमा बुझेनन् र बुझ्न पनि चाहेनन्।
आफूलाई केबल एक जागिरेका रूपमा बुझ्ने शिक्षकले आफ्नो धर्म र कर्म पनि बिर्सन्छ। यी सबै बिर्सेको शिक्षकबाट सोधखोज, अध्ययन, अध्यापन, अनुसन्धान, सिर्जनाप्रतिको इमानदारी कसरी अपेक्षा गर्न सकिन्छ? सरकार, विश्वविद्यालयको नेतृत्व र शिक्षकका कारण विश्वविद्यालयले दिने शिक्षाप्रति विद्यार्थीलगायत समुदाय विश्वस्त हुन सकेका छैनन्। यस्तो विश्वासको खडेरीबीच विश्वविद्यालय सुधार सम्भव छैन।
यसका प्रमुख सरोकारवाला पक्षले आ–आफ्नो जिम्मेवारी र दायित्व इमानदारीसाथ पालना गर्न सके मात्र विश्वविद्यालयप्रतिको विश्वास बढ्न सक्छ। विश्वविद्यालयप्रति विश्वास बढेको दिन यसलाई मानवतावाद, सहिष्णुता, तर्क, विचार र सत्यको खोज गर्ने सुसंस्कृत एवं उत्कृष्टताको केन्द्र बन्नेछ। विश्वविद्यालय सुसंस्कृत एवं उत्कृष्टताको केन्द्र बनेको दिन विकसित र समृद्ध देशको कल्पना यथार्थमा रूपान्तरण हुनेछ।
(अएडी सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापनरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
