दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारले भारतलाई पठायो कूटनीतिक नोट

भारतले निर्माण गरिरहेको तटबन्धका कारण उत्पन्न विवादप्रति ध्यानाकर्षण र समस्या समाधानको पहल गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

काठमाडौँ– महाकालीमा भारतीय पक्षले एकतर्फी रूपमा अनधिकृत तटबन्ध निर्माण गरिरहेको विषयलाई लिएर उत्पन्न विवादबारे नेपाल सरकारले भारतलाई ध्यानाकर्षण गराउँदै कूटनीतिक नोट पठाएको छ। गत आइतबार भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्किने गरी तटबन्ध बनाएको विषयमा विवाद हुँदा महाकालीपारिबाट भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर चार जना घाइते भएका थिए।

उक्त घटनामा मंगलबार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारतलाई ध्यानाकर्षण गराउँदै कूटनीतिक नोट पठाएको हो। भारतले निर्माण गरिरहेको तटबन्धका कारण उत्पन्न विवादप्रति ध्यानाकर्षण र समस्या समाधानको पहल गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

उनका अनुसार नेपाल–भारतको सीमामा रहेको महाकाली नदीको धार्चुलातर्फ भारतले १ किलोमिटरको तटबन्ध बनाइरहेको छ। तर, केही स्थानमा नदीको बहाव नेपालतर्फ आउने गरी महाकाली नदी मिचेर तटबन्ध बनिरहेकाले विवाद भएको हो।

भारतले महाकाली नदी तटमा सामग्री राख्न तथा सवारी पार्किङ गर्न अस्थायी संरचना बनाएको र पानी डाइभर्ट गर्न ग्याविन जाली हालेर तटबन्ध लगाएकाले त्यसले नेपालतर्फ क्षति पुग्ने भन्दै दार्चुलाका स्थानीय प्रतिकारमा उत्रिएका थिए।

नेपालतर्फ क्षति पुग्ने गरी अन्तर्राष्ट्रिय सीमामा सहमतिबिना संरचना बनाएको भन्दै आइतबार दार्चुलावासीले प्रतिकार गरेका थिए। त्यसपछि नेपाली र भारतीय पक्षबीच ढुङ्गा हानाहान भएको थियो।

सो घटनाबारे गृह मन्त्रालयले सोमबार पठाएको पत्रका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको हो।

दुवै देशका अधिकारीबीच सोमबार भएको छलफलपछि विवादास्पद क्षेत्रमा तटबन्ध निर्माणको काम तत्कालका लागि रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

“भारतले १ किलोमिटर लामो तटबन्ध निर्माण गर्न लागेको छ, तर केही स्थान नेपाली भूमिमा असर पुग्ने गरी पानीको बहाव यता फर्काइएको छ। यसले विवाद त आउने नै भयो। त्यसैले नेपालीले विरोध गरेका हुन्। तर, हामीले भारतीय पक्षसँग धेरै पटक वार्ता गरिसक्यौँ। उहाँहरू विवादित क्षेत्रमा तटबन्ध निर्माण तत्कालका लागि रोक्न सहमत हुनुभएको छ। अन्यत्र भने निर्माण कार्य जारी नै छ।”

साथै, विरोधमा उत्रिएका स्थानीयको विवाद साम्य भइसकेको र सीमा क्षेत्रमा अवरुद्ध पुल र सडकहरू पनि खुलिसकेको उनले बताए।