पछिल्लो समय भएका फुटबल प्रतियोगितामा नयाँ खेलाडीको बाहुल्य छ। राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु प्रतियोगितामा छाप छाडेका करिब ४० फुटबल खेलाडी अष्ट्रेलिया पुगेपछि क्लबहरू नयाँ खेलाडीको भरमा छन्।
काठमाडौँ– भर्खरै सम्पन्न भद्रपुर झापा गोल्डकपमा ‘बेस्ट प्लेयर अफ दि फाइनल’ र ‘बेस्ट किपर’ आर्मीका सुमित श्रेष्ठ घोषित भए। ‘राइजिङ प्लेयर अफ दि टुर्नामेन्ट’ मछिन्द्रका सौरभ लिम्बु घोषित भए। सर्वाधिक गोलकर्ता थिए, आशिष चौधरी।
शहीद स्मृति मकवानपुर गोल्डकपमा पनि नयाँ खेलाडीकै बाहुल्यता रह्यो। सर्वोत्कृष्ट डिफेन्डर मनाङका अमृत श्रेष्ठ र सर्वोत्कृष्ट मिडफिल्डर मनाङकै कमल थापा घोषित भए। केपी ओली कपमा सातदोबाटोका दीपेनराज सिंह सर्वाधिक गोलकर्ता भए। सातदोबाटोकै निरज चौधरी उदयमान खेलाडी घोषित भए।
पछिल्लो समय भएका फुटबल प्रतियोगिताहरूमा नयाँ खेलाडीको बाहुल्य छ। राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु प्रतियोगितामा प्रभावशाली छाप छाडेका करिब ४० फुटबल खेलाडी अष्ट्रेलिया पुगेपछि क्लबहरू नयाँ खेलाडीको भरमा छन्। विशाल राई, तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नितिन थापा मगर, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापा मगर, अभिषेक रिजाल, पुजन उपरकोटी जस्ता ‘स्टार’ खेलाडी बाहिरिएका छन्।
यही कारण शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने १४ मध्ये एकाध क्लबसँग मात्र पुराना र स्टार खेलाडी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार लिग शुरू गर्दा धेरै क्लब युवा खेलाडीको भरमा छन्।
तीन विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्बलसँग मात्रै केही नाम चलेका खेलाडी छन्। “नेपालको अवस्था सबैलाई थाहा नै छ। धेरै खेलाडी विदेश पलायन भइसकेका छन्। उपलब्ध भएजतिबाट केही अनुभवी र युवा खेलाडी समेटेर नयाँ टोली बनाएका छौँ,” कुपन्डोलस्थित फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह भन्छन्।

गत सिजन फ्रेन्ड्स क्लब मुस्किलले मात्र रेलिगेसनबाट जोगिएको थियो। ११औँ स्थानमा लिग सकाएको फ्रेन्ड्सले १३ खेलमा तीन जित, पाँच बराबर र ६ हारसहित १७ अंक जोडेको थियो। यस सिजन उत्कृष्ट ६ मा रहने लक्ष्य बोकेको फ्रेन्ड्सले यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको एफसी खुमलटारसँग खेल्दै प्रतियोगिताको शुरूआत गरेको छ।
पछिल्लो समय आर्थिक संकट बेहोर्दै आएको फ्रेन्ड्समा गत वर्ष कप्तान प्रकाश बुढाथोकीबाहेक नाम चलेका खेलाडी थिएनन्। यसपटक पनि फ्रेन्ड्सले अनुबन्ध गरेका फरवार्ड लक्ष्मण रूचाल, मिडफिल्डर रूपेश केसीलगायत अधिकांश अनुभवी भनिएका खेलाडी २८ वर्षमाथिका छन्। बाँकी सबै २०/२२ वर्ष आसपासका छन्।
राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू अनुबन्ध गर्न ठूलो रकम खर्चिनुपर्ने हुँदा मुस्किल भएको प्रशिक्षक शाह बताउँछन्। यसअघि पनि मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका फरवार्ड अन्जन विष्ट र थ्रीस्टारबाट खेल्दै आएका ‘सेन्टर ब्याक’ अनन्त तामाङलाई फ्रेन्ड्सले भित्र्याउने कोशिश गरेको थियो। तर उच्च रकम तिर्नुपर्ने भएपछि फ्रेन्ड्सले त्यो प्रयास छाडेको थियो।
उनीहरू दुवै जनालाई खुमलटारले अनुबन्ध गरेको छ। “फुटबलमा भविष्य नदेखेको भन्दै कतिपय खेलाडीहरू तितरबितर भइसके। भएका खेलाडीहरूलाई लिन तँछाडमछाड चलेको थियो। नाम चलेका सीमित खेलाडी अनुबन्ध गर्न दुई लाखभन्दा माथि खर्च गर्नुपर्ने अवस्था छ,” शाह भन्छन्, “विदेशी खेलाडीका लागि पनि महँगो रकम खर्चनुपर्छ। त्यसैले नयाँ खेलाडी भित्र्याउनुबाहेक विकल्प छैन।”
एन्फा लिग कमिटीका अनुसार क्लबले कम्तीमा १८ र बढीमा ३५ खेलाडी राख्न पाउने प्रावधान छ। तर धेरै फुटबलर विदेशिएपछि लिगमा खेलाडी अभाव हुने भन्दै क्लबहरूले असन्तुष्टि जनाएपछि एन्फाले पाँच विदेशी खेलाडी राख्न दिने निर्णय गरेको थियो।

एन्फा लिग कमिटीको नियमअनुसार हरेक टोलीले २३ जनाको दरले खेलाडी राख्दा पनि लिगका लागि ३२२ खेलाडी आवश्यक देखिन्छ। विभागीय क्लब एपीएफमा रहेका चार विदेशीसमेत अन्य १२ टोलीले पाँच जनाको दरले विदेशी खेलाडी राख्दा पनि ५९ जना आवश्यक हुन्छ।
गत वैशाख जेठमै हुने भनिएको दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) नहुनु र ‘ए’ डिभिजन लिग पनि विभिन्न बहानामा सरिराख्दा धेरै खेलाडी अन्य बाटो रोज्न बाध्य भएको एन्फाकै एक सदस्यले बताए। अहिले नेपालमा नाम चलेका अन्जन विष्ट र अनन्त तामाङबाहेक राष्ट्रिय टोलीबाट खेलिरहेका सुनिल बल, विमल घर्तीमगर, आयुष घलान, मनीष डाँगी, दीप कार्की, अभिषेक बराललगायत छन्। अन्य खेलाडी भने अस्ट्रेलिया, यूएई र न्युजिल्यान्ड पुगेका छन्।
अष्ट्रेलिया गएका मिडफिल्डर जगजित श्रेष्ठ र फरवार्ड रेजिन सुब्बा मात्रै लिग खेल्न नेपाल फर्किएका छन्। रेजिन पनि नेपालमा भविष्य नदेखे पुनः अस्ट्रेलिया फर्किने मनस्थितिमा छन्।
“सुन लगाउन परेन, कार चढ्न परेन। नेपालमा फुटबल खेलेर सामान्य घर धान्न पनि नसक्ने अवस्था छ। यहाँ केही समय बिताएर अवस्था हेरौँ,” खुमलटारमा आबद्ध रेजिन भन्छन्, “त्यसपछि अस्ट्रेलिया फर्किने या नफर्किने भन्ने डिसाइड गर्छु। अस्ट्रेलिया फर्किएँ भने व्यावसायिक फुटबल खेल्ने प्रयास गर्छु।”
अनुभवी खेलाडी पलायनको फाइदा युवालाई!
गत सिजन डेब्यू लिगमै चौथो भएको सातदोबाटोलाई यस सिजन आफ्नो पुरानै साख जोगाउने चुनौती छ। पहिलो सिजन नै चौथो स्थानमा पुर्याएका प्रशिक्षक मेघराज केसी यसपटक पुरानै क्लब थ्रीस्टार फर्किएका छन्। अनुभव बटुलिसकेका भन्दा पनि नयाँ खेलाडी खेलाएर जित्न सकिने सोचका केसीको बहिर्गमनसँगै सातदोबाटोले नयाँ रणनीति बनाउने महासचिव सुनील विष्ट बताउँछन्।

कम्तीमा गत सिजन पाएको स्थानमा सुधार गर्ने लक्ष्य लिएको सातदोबाटोले केही राष्ट्रिय खेलाडी भित्र्याउन खोजे पनि चरम गुटबन्दीका कारण असफल भएको महासचिव विष्टको दाबी छ। “राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी पनि हामीले प्राथमिकतामा राखेका थियौँ। तर, एक खेलाडी ल्याउन उनीहरूले भनेका अन्य खेलाडीको समूह नै ल्याउनु पर्ने भएका कारण युवा खेलाडीलाई मौका दियौँ,” उनी भन्छन्, “गत सिजन युवा खेलाडीले पनि राम्रै गरेका थिए। उनीहरूलाई स्टार खेलाडी बनाउन ५/६ वर्ष लाग्छ।”
जावलाखेलले पनि उस्तै समस्या भोग्दै आएको छ। अघिल्ला सिजन तीन जित, पाँच बराबरी, पाँच हारसहित १४ अंक जोडेर नवौँ स्थानमा लिग सकाएको जावलाखेलले केही खेलाडी भित्र्याउने कोशिश गरे पनि गुटबन्दीका कारण युवालाई मौका दिएको अध्यक्ष महेन्द्र क्षेत्री बताउँछन्।
“क्लबको बजेट सानो हुन्छ। समूह नै ल्याउँदा खर्च धेरै बढ्छ। क्लबले स्टार खेलाडी जन्माउन नसक्ने होइन,” उनी भन्छन्, “हामीले पोहोर पनि लक्ष्यअनुसार प्रदर्शन गरेका थियौँ। यसमा युवा खेलाडीको मिहिनेत धेरै थियो। यसपटक पनि यही आशा राखेका छौँ।”
लिगमा नयाँ स्टारको खोजी
राष्ट्रिय जर्सी पहिरिसकेका अन्य खेलाडी पनि पूरा सिजन लिग खेल्छन् या खेल्दैनन् अनुमान लगाउन गाह्रो छ। यस्तो अवस्थामा यो लिगमार्फत् युवा खेलाडीमाथि लगानी गरेर राष्ट्रिय टोलीमा हुने घाटालाई केही भरपाई गर्ने कोशिश हुने थ्रीस्टारका मुख्य प्रशिक्षक केसी बताउँछन्।
“हामीसँग अनुभवी भनेको तीन खेलाडी हुन्। अन्य २०/२२ वर्षका युवा खेलाडीमाथि लगानी गरेका छौँ। विदेशिएका खेलाडीमाथि हामीले १३/१४ वर्ष लगानी गरेका थियौँ। तत्कालै उनीहरूलाई प्रतिस्थापन गर्न सकिँदैन, तर यही लिगदेखि कोशिश गर्नेछौँ,” उनी भन्छन्।
यसपटक क्लबसँग स्टार खेलाडी नहुँदा केही युवा खेलाडी बेन्चबाट मैदान उत्रिएर आफ्नो क्षमता देखाउने मौका पाएका छन्। त्यसको उदाहरण हो ‘ए’ डिभिजन लिगअगाडि आयोजना भएको विभिन्न गोल्डकपको प्रदर्शन। क्लबहरूले केही गोल्डकपमा नाम चलेका युवा खेलाडीलाई नै टिकाए।
मनाङका प्रशिक्षक किरण श्रेष्ठ विगतमा राष्ट्रिय टोलीलाई १४/१५ जना स्टार खेलाडी जन्माएर दिएको सुनाउँदै यसपटक त्यो संस्कारलाई दोहोर्याउने लक्ष्य लिएको बताउँछन्। “अन्जन गयो, पूजन गयो त्यो व्यवस्थापनको कुरा होला। तर, हामीले विगतमा पनि स्टार खेलाडी जन्माएर दिएका हौँ। यसपटक पनि हामीले त्यही लक्ष्य राखेका छौँ। मनाङबाट को स्टार निस्किन्छ लिगले देखाउँछ,” उनी भन्छन्।
न्यूरोड टिम (एनआरटी)का मुख्य प्रशिक्षक राजुकाजी शाक्य स्टार खेलाडीको प्रदर्शन सधैँ एकनास नहुने सुनाउँछ। क्लबले स्टार खेलाडी भित्र्याउनेभन्दा नयाँ स्टार जन्माएको इतिहास भएको भन्दै यसपटकको लिगमा पनि यस्तै खेलाडीको खोजी रहने बताउँछन्।
“हाम्रो क्लब २०/२२ वर्षका युवाहरूले नै भरिएको छ। हामी स्टार खेलाडी राख्दैनौँ। हामीले राष्ट्रिय टोलीलाई स्टार खेलाडी दिने हो। यसपटक पनि हामी यस्तै स्टार खेलाडी खोजेर दिने लक्ष्यमा छौँ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
