लिग–२ : पपुवा न्युगिनीसँग यूएई ५६ रनले पराजित

पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछाएको यूएई ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमै समेटियो।

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गरेको हो।

पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछाएको यूएई ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमै समेटियो।

यूएईका आर्यन लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि कप्तान तथा ओपनर वासिम मोहम्मद ५१ रनमा क्याच आउट भए। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

सिपी रिजवन र जवार फरिदले १९/१९ रन बनाए। कार्तिक मयप्पनले १४ र रोहन मुस्तफाले ११ रन बनाए। पपुवा न्युगिनीका रिले हेकुरे, असद भाला र काबुआ मोरेले २/२ विकेट लिए।

सेमो कामेआ र नोर्मन भानुआको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनायो।

उसका सेसे बाउले अविजित रहँदै सर्वाधिक ८१ रन बनाए। उनले १०६ बलमा १० चौका प्रहार गरे। ओपनर हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ रन बनाए। किप्लिन र हिरी हिरीबीच पहिलो विकेटको लागि ७७ रनको साझेदारी भएको थियो।

१० ओभरको पहिलो बलमा किप्लिङ एलबील्ब्यू आउट भएपछि क्रिजमा आएका बाउले हिरी हिरीसँग ११२ रनको शतकीय साझेदारी गरेका थिए।

हिरी ३१ ओभरको तेस्रो बलमा आयन खानबाट बोल्ड भएपछि पपुवा न्युगिनी समस्यामा परेको थियो। बाउबाहेक क्रिजमा आएका कुनै पनि ब्याटरले जमेर खेल्न सकेनन्।

चार्ड सोपरले १०, नोर्मन भानुआले १०, कार्लस अमिनीले ४, हिला भारेले ४, रिले हेकुरेले १ र  काबुआ मोरेले १ रन बनाए। कप्तान असद भाला भने खाता नखोली आउट भएका थिए।

यूएईका आयन खानले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित ३४ रन खर्चिए।

जाहूर खानले २ विकेट लिँदा रोहन मुस्तफा र कार्तिक मयप्पनको नाममा १/१ विकेट रह्यो।

जितसँगै पपुवा न्यू गिनीले ३४ खेलबाट ५ जित र १ बराबरीसहित ११ अंक जोडेको छ। पपुवा न्युगिनी अंक तालिकाको पुछारमा छ।

पराजित यूएईको ३३ खेलबाट १४ जित र ३ बराबरीसहित ३१ अंक छ। यूएई अंक तालिकाको छैटौँ स्थानमा छ।